गीत सुनाएर मोहित तुल्याउने अलकाले सुन्नै छोडिन्

चर्को संगीत र हेडफोनबाट सावधान रहन सुझाव



काठमाडौं ।

जीवनभर आफ्नो मीठो स्वरमार्फत कयौंलाई गीत सुनाएर मोहित बनाउँदै आएकी लोकप्रिय भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ।

जसका कारण उनले आफ्नो श्रवण क्षमता गुमाएकी छन्। अल्काले हालै इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको बताएकी छन्। अलकाले आफ्नो स्वास्थ्य समस्याकै कारण आफू केही समयदेखि सार्वजनिक नभएको खुलाएकी छन्।

‘एक्कासि ठूलो झट्काले मलाई स्तब्ध बनाएको छ र यसबाट मुक्ति पाउन अझै प्रयास गरिरहेको छु,’ उनले भनेकी छन्। केही समयअघि हवाई यात्रा गरेर विमानबाट ओर्लिने क्रममा आफूले केही पनि नसुनेपछि जचाउँदा आफूलाई सो समस्या भएको उनले थाहा पाएकी थिइन्। ‘डाक्टरहरूले मलाई भाइरल आक्रमणका कारण दुर्लभ सेन्सरी नर्भ श्रवणशक्तिको क्षति भएको पत्ता लगाएका छन्।

अचानक यस्तो ठूलो झट्काले मलाई निकै चकित बनाएको छ। म यस समस्याबाट निको हुन खोज्दैछु। तपाईंहरू सबैको माया र साथले मेरो जीवनलाई पुनः व्यवस्थित गर्न र छिट्टै दर्शकमाझ फर्किने विश्वास गर्दछु,’ उनले भनेकी छन्। अल्काले चर्को संगीत र हेडफोनको प्रयोगबाट सावधान रहनसमेत आफ्ना फ्यानलाई सुझाएकी छन्।

सेन्सरी न्युरल नर्भ हियरिङ लस स्वास्थ्यमा आउने एक प्रकारको दुर्लभ समस्या हो। मानिसले कान सुन्न नसक्नेमध्ये एक कारण रहेको यो समस्यामा कानको भित्री भागदेखि मस्तिष्कसम्म जोडिने नशामा हुने समस्याका कारण हुन्छ। जुन समस्यामा सामान्य आवाज सुन्न सकिँदैन भने चर्को आवाज पनि सुन्न मुस्लिक हुन्छ। चर्को स्वरमा गीत संगीत सुन्ने, दुर्घटना, कानमा हुने इन्फेक्सन र उमेरका कारण तथा कसैमा वंशाणुगत कारण पनि यो समस्या हुने गर्दछ। एक अध्ययन अनुसार १.४ अर्ब मानिस कुनै कुरा असाध्यै चर्को सुन्ने बानी परेका कारण श्रवणशक्ति गुमाउन सक्ने खतरामा छन्।

५८ वर्षीया अल्का करिब साँढे चार दशकदेखि पाश्र्व गायनमा सक्रिय छिन्। हालसम्म उनले २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत गाइसकेकी छन्। उनले दैया दैया दैया रे, दील लगा लिया, बितनी बेचैन हो के, आए हो मेरे जिन्दगीमे, दील ने ये कहा हे दिलसेजस्ता सयौं गीतबाट संगीतप्रेमीको दील जित्दै आएकी छन्।

उनले २ वटा राष्ट्रिय अवार्ड र सात फिल्मफेयर अवार्डसहित विभिन्न सम्मान तथा पुरस्कार चुमेकी छन्। उनलाई सन् २०२२ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वभर सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकार घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्