दान्भीका अभिनेतालाई एक्सनबाट अपेक्षा



काठमाडौं ।

४० भन्दा बढी म्युजिक भिडियो अभिनयसँगै विभिन्न ब्रान्डमा मोडलिङ गर्दै आएका मोडल कुन्साङ बोमजम र पर्खी बसें तिमीलाईबाट डेब्यु गरेका अभिनेता किरण श्रेष्ठ भोलि शुक्रबारबाट रिलिजमा आउने फिल्म दान्भीलाई लिएर उत्साहित छन्।

दान्भीबाटै फिल्ममा डेब्यु पाएका कुन्साङ दर्शकले आफ्नो काम मन पराउनेमा विश्वस्त रहेछन्। ‘दान्भीमा मेरो चाखलाग्दो चरित्र छ। मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको छ,’ कुन्साङ भन्छन्। विद्यालय जीवनदेखि नै नाटकका कलाकार र कराँतेका खेलाडी रहेका उनले यो फिल्मका लागि ६ महिना एक्सन अभ्यास गरेका रहेछन्।

‘एक्सन फिल्म नआएको धेरै भएको थियो। त्यसमाथि महिलालाई लिडमा लिएर एक्सन भएको त धेरै कमी नै छ। पहिला रेखा थापाले ठूलो छाप छोड्नुुभएको थियो, त्यसपछि कोही अभिनेत्री एक्सनमा देखिनुभएको थिएन। यसमा पूजा शर्माले निकै मेहनतका साथ एक्सन गर्नुभएको छ,’ उनी सुनाउँछन्, ‘म्युजिक भिडियोको मेरो रोमान्टिक छविलाई दान्भीले परिवर्तन गर्नेमा ढुक्क छु।’

अर्का अभिनेता किरण श्रेष्ठ पर्खी बसेंमा लभर ब्वाईका रूपमा प्रस्तुत भएका थिए भने यसमा प्रेमी कम एक्सन चरित्रमा बढी देखिँदैछन्। फिल्ममा उनी सिआइबी अफिसरको भूमिकामा छन्।

‘मैले आफ्नो चरित्रका लागि धेरै मेहनत पनि गर्न पाइनं। तर सकेको गरेको छु। यसमा विपिन कार्की, सौगात मल्ल दाईले गर्नेजस्तो तयारी गर्न पाइएन। मैले हल्का हाउभाउ र लुक्समा थोरै परिवर्तनमात्र गरेँ,’ उनी भन्छन्, ‘मैले तेक्वान्दोबाट राष्ट्रिय खेल पनि खेलें। सन् २००७ देखि २०१२ सम्म तेक्वान्दो खेल्थें। त्यसकारण पनि एक्सनमा गाह्रो भएन। त्यही पनि श्री द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक दुई दिनको क्लासचाहिँ लिएँ। त्यसपछि सुटिङ सेटमै एक्सन कोरियोग्राफी भयो।’

फिल्म एक्सनका लागि अब्बल रहेको दाबी उनको छ। ‘नेपालमा यतिको एक्सन प्याक्ड फिल्म सायदै कम बनेको होला। जुन हिसाबले पुजाजीले, हामीले एक्सन गरेका छौं, त्यो हिसाबले यस्तो एक्सन नेपाली फिल्ममा कमै होला’ किरणको दाबी छ।

जुना फिल्म्स्को ब्यानरमा रुपेश तामाङद्वारा निर्देशित फिल्ममा पूजाका साथमा कुङशान बोमजन, मोनालिशा खतिवडा, राजाराम पौडेल, कालु राना, किरण श्रेष्ठ, सीता तामाङ, अनील राई, विनिता प्रधान, भक्ति राई, प्रन्सन क्षत्री, विशाल पहाडी, राम परिवार, नागे डंगोल, सत्यनारायण थारू, दीपक थापा, अनिता गिरीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रभवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कथा रविना थापामगर, पटकथा र संवाद संजोग कुमार राना, संगीत अर्जुन पोखरेल, कोरियोग्राफी कविराज गहतराज र बाहुल बराइली, नरेश जोगी, छायांकन निर्देशन हरिबहादुर घले र सम्पादन बन्दे प्रसादको रहेको छ।

प्रतिक्रिया दिनुहोस्