नेपालको बाँधमा लियोनार्दोको चासो



काठमाडौं ।

हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियाले नेपालको हिमाली भेगमा निर्माण हुन लागेको बाँध निर्माणप्रति चासो देखाएका छन्। हिमचितुवा र लोपोन्मुख रेड पाण्डाको घरसमेत रहेको लुङ्वा साम्बा जैविक सांस्कृतिक सम्पदा विशेष संरक्षण क्षेत्रस्थित नदीमा निर्माणाधीन बाँध परियोजना निर्माण योजना रोक्न स्थानीय समुदायले सर्वोच्च अदालतमा आग्रह गरिरहेको विषयमा उनले आफ्नो सामाजिक सञ्जालमार्फत ध्यानाआकर्षणसमेत गराएका छन्।

सो बाँध निर्माणले पृथ्वीको एक प्राचीन ठाउ“मा जोखिम निम्त्याउने भन्दै उनले उक्त बाँधको निर्माण रोक्न आग्रह गरेका छन्। वातावरण र वन्यजन्तु संरक्षण क्षेत्रका अभियन्तासमेत रहेका टाइटानिक स्टारको डिक्याप्रियो फाउन्डेसनले नेपालसहित विभिन्न मुलुकमा बाघ संरक्षणको क्षेत्रमा कार्य गर्दै आएको छ।

लियोनार्दोले नेपालको वातावरणीय मुद्दामा पनि चासो राख्दै आइरहेका हुन्छन्। उनले छुजुङ, छुन्जाम र बखाङ नदी तथा नेपालका अतिसीमान्तकृत आदिवासी जनजातिमध्ये ल्होमी सिङ्सा र भोटे जातिका लागि सो स्थान निकै महत्वपूर्ण रहेको र यी समूहले जमिनको सम्मान गर्दै खेतीपाति र औषधीय जडीबुटीका साथै अन्य गैरकाष्ठ वनजन्य उत्पादन संकलन गरेर आफ्नो जीविका चलाउनेसमेत बताएका छन्।

बाँध निर्माण गरिएमा लुङ्बा साम्बा जैविक सांस्कृतिक सम्पदा विशेष संरक्षण क्षेत्र ऐन र २०२० मा पहिलो निर्वाचित स्थानीय सरकारले लागू गरेको प्रक्रियाको स्पष्ट उल्लंघन हुनेसमेत उनले बताएका छन्।

त्यसकारण विनाशकारी जलविद्युत्, सडक निर्माण र खानी प्रथालाई रोक्नुपर्ने उनको भनाइ छ। ल्होमी, सिङ्सा र भोटे समुदायका मानिसलाई पुस्तौंदेखि यस महत्वपूर्ण परिदृश्यको संरक्षक बन्न मद्दत गर्न उनले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्