धुलिखेल नगरपालिकाको १५ औँ सभा

१ अर्ब ५ करोड ९५ लाख २५ हजार विनियोजन



काभ्रे। 

धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८१-२०८२ सालको वार्षिक बजेट, नीति तथा कार्यक्रम तथा विधेयकहरु पास गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रस्तुत गरिएको बजेटमा १० करोड कम बजेट प्रस्तुत गरिएको छ ।

नगर प्रमुख अशोक ब्याञ्जुले आर्थिक वर्ष २०८१-२०८२ को बािर्षक नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख नीराजन जंगमले आर्थिक वर्ष २०८०-२०८१ को यथार्थ स्थिति समीक्षा सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपप्रमुख जंगमले आर्थिक वर्ष २०८१-२०८२ को आर्थिक विधेयक, विनियोजन विधेयक समेत प्रस्तुत गरेका थिए । धुलिखेल नगरपालिकाको तथ्यांक तथा अभिलेख व्यवस्थापन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष रोमीप्रसाद श्रेष्ठले प्रस्तुत गरे भने स्थानीय भाषा कला संरक्षण विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष गणेश आचार्यले प्रस्तुत गरे ।

त्यस्तै विज्ञापन कर (व्यवस्थापन तथा नियमन) विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष नारायणप्रसाद बडालले प्रस्तुत गरे । मध्यकालिन खर्च संरचना २०८१-२०८२–२०८३-२०८४ सभा सदस्य तथा वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरे । प्रस्तुत गरिएका सबै विधेयकहरु, बजेट, नीति तथा कार्यक्रमहरु सर्वसम्मत पास भएका छन्।

सभाका सदस्यहरुले सार्वजनिक सरोकारका विषयहरुमा धारणा राखेका थिए । उठेका विषयहरुलाई सम्बोधन गर्दै निर्णयार्थ प्रस्तुत गरिएका सबै विषय सर्वसम्वतबाट पास भए । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले नगर सभामा स्वागत गर्दै नगर सभा सञ्चालनका विषय बस्तुका बारेमा जानकारी गराएका थिए ।

नगर प्रमुख अशोक ब्याञ्जुले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेटको बाँडफाँट र स्रोत व्यवस्थापनको अनुमान सभा समक्ष पेस गरेका थिए । आगामी वर्षको क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्ब ५ करोड ९५ लाख २५ हजार विनियोजन गरेका थिए । कुल विनियोजन मध्ये चालु खर्च तर्फ ६७ करोड ४८ लाख ५३ हजार अर्थात् ६३.६९ प्रतिशत, पुँजीगत खर्च तर्फ ३७ करोड ७६ लाख ७२ हजार अर्थात् ३५.६५ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७० लाख अर्थात् ०.६६ प्रतिशत रहेको जानकारी गराएका थिए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएका खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व (मौज्दात समेत) बाट १४ करोड ५५ लाख ८ हजार अर्थात् १३.७३ प्रतिशत, राजश्व बाँडफाँटबाट २२ करोड ५८ लाख अर्थात् २१.३१ प्रतिशत, संघ सरकार अन्तरसरकारी हस्तान्तरणबाट ४५ करोड ८७ लाख ९६ हजार अर्थात् ४३.३० प्रतिशत, प्रदेश सरकार अन्तरसरकारी हस्तान्तरणबाट ६ करोड ९१ लाख २१ हजार अर्थात् ६.५२ प्रतिशत, अन्य कार्यक्रम तथा परियोजनाबाट १५ करोड ३ लाख अर्थात् १४.१९ प्रतिशत र जनसहभागिताबाट १ करोड अर्थात् ०.९४ प्रतिशत प्राप्त हुने अनुमान गरिएको छ । नगरको समग्र बजेट र कार्यक्रम नागरिकहरुलाई स्वावलम्बन र आत्मनिर्भर बन्ने तर्फ केन्द्रित गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।

आर्थिक बर्ष २०७९-२०८० को यथार्थ आय तर्फ ८५ करोड ६१ लाख २३ हजार ५ सय ५ रुपियाँ आम्दानी भएकोमा चालू खर्च ४६ करोड ७६ लाख ८२ हजार ३ सय ८१ रुपैयाँ,  पुँजीगत खर्च ३५ करोड ३५ लाख २७ हजार ४ सय रुपियाँ  र वित्तीय व्यवस्थापन खर्च ९७ लाख ३६ हजार समेत गरी जम्मा ८३ करोड ९ लाख ४५ हजार ७ सय ८१ रुपियाँ खर्च भई ९६.१४ प्रतिशत प्रगति भएको बताइएको छ ।

 चालू आर्थिक वर्ष २०८०-२०८१ मा विनियोजित १ अर्ब १५ करोड १५ लाख अनुमान गरिएकोमा २०८० माघ मसान्तसम्म ५३ करोड ६१ लाख २२ हजार ६ सय १० रुपैयाँ खुद आम्दानी भएकोमा सोही अवधिमा चालू खर्च २८ करोड ६९ लाख १ सय ४९ रुपैयाँ र पुँजीगत खर्च ४ करोड ८९ लाख ४५ हजार ५ सय र वित्तीय व्यवस्थापन खर्च २० लाख गरी ३३ करोड ७८ लाख ४५ हजार ६ सय ४९ रुपैयाँ अर्थात् ६३.०१ प्रतिशत प्रगति भएको जानकारी गराइएको छ ।

एक वडा एक डिजिटल विद्यालय विकास गरिने, परियोजना र प्रयोगात्मक मूल्याङ्कनका लागि एक विद्यालय एक सार्वजनिक स्थल संरक्षण कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यस्तै चालु आर्थिक वर्षमा धुलिखेल नगरपालिकामा ७ हजार ३ सय ४२ घरधुरीमा ब्यवस्थित खानेपानी सुविधा पुगेको नगर प्रमुख ब्याञ्जुले बताए । सुचिकृत बेरोजगारहरुलाई रोजगारी प्रदान गरिएको, लम्पी राहत कार्यक्रम अन्तर्गत मृत्यु भएका ३९१ पशु मध्ये बिमा गरेका पशु बाहेक २ सय ४३ वटालाइ १० हजारका दरले २४ लाख ३९ हजार रुपैयाँ किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

धुलिखेलमा वडा स्तरीय योजना प्रगतिमा वडा नम्बर २ मा सबैभन्दा बढी ९४.९४ प्रतिशत र सबैभन्दा कम वडा नम्बर ६ मा ४३.२४ प्रतिशत मात्रै प्रगति भएको उप प्रमुख नीराजन जंगमले बताए । धुलिखेल नगरपालिकाको गौरवको नमुना कार्यक्रम ‘स्वास्थ्य शहर धुलिखेल नगर अभियान’ कार्यक्रमलाई साकार तुल्याउन यस अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिन संघ तथा प्रदेश सरकारसँग सहकार्य प्रवद्र्धन गर्ने, ल्याउ, टिकाउ र सिकाउको नीति अनुरुप विद्यालय उमेर समूहका सबै बालबालिका अनिवार्य रुपमा विद्यालयमा भर्ना गराइ आधारभूत तहका सबै बालबालिकालाई विद्यालयमा ल्याइने, टिकाउने र सिकाइने प्रतिवद्धता ब्यक्त गरेको छ । महिला उद्यमशिलता विकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरी व्यवसायीकरणको माध्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै ‘एक घर एक धारा’ नीति अनुरुप खानेपानीको पहुँच पुग्न नसकेका बाँकी घरधुरीहरुमा आर्थिक वर्ष २०८१÷२०८२ भित्र खानेपानीको विस्तार गरिने उल्लेख छ । जडान गरिएका धाराहरुलाई पक्की धाराको रुपमा विकसित गरिनेछ ।

धुलिखेलको पर्यटन प्रवद्र्धनका लागि विद्यालय पर्यटन सचेतना कार्यक्रम तथा टुरिजम क्लब गठन गरी पर्यटन प्रवर्द्धनलाई टेवा दिइने उल्लेख गरिएको छ । साथै पर्यटनलाई थप व्यवस्थित गर्न नेपाल सरकारसँग पर्यटन प्रहरी माग गर्ने उल्लेख गरिएको छ । कृषकहरुलाई कृषि कार्यमा अभिप्रेरित गर्न साथै कृषि पेसालाई आधुनिक, सहज तथा प्रविधि मैत्री बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, स्प्रेयर, धान काट्ने मेसिन, आलुको ड्याङ उठाउने, कुटानी पिसानी मेसिन वितरण गरिने उल्लेख गरिएको छ । प्रविधिमा अनुदानका सामाग्री उपलब्ध गराउँदै नगरपालिकालाई अण्डा र मासुमा आत्मनिर्भर बनाइने, दूधमा आत्मनिर्भरतालाई निरन्तरता दिनका लागि २,३, ९र ११ वडाहरुमा गाई, वडा नम्वर १ र ८ मा भैँसी पकेट क्षेत्रको रुपमा विस्तार गरिनेछ । सहकारीहरुको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्