फेसन डिजाइन कोर्स सम्पन्न



ललितपुर ।

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको आयोजना र गर्जियस इन्स्टिच्यूसन अफ फेसन टेक्नोलोजी (गिफ्ट) को संयोजनमा सञ्चालित फेसन डिजाइन बुटिक कोर्स ललितपुरमा सोमबार समापन गरिएको छ।

दुई महिनासम्म सञ्चालन गरिएको तालिम बजारको चाहना र मागअनुसार नयाँनयाँ डिजाइनका पहिरन तयारीमा महिलालाई दक्ष बनाउने उद्देश्यले सो सञ्चालन गरिएको १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए।

फिल्म निर्माता एवं गीतकारसमेत रहेका वडाअध्यक्ष शाक्यले सञ्चार प्रविधिको विकाससँगै म्युजिक भिडियो, सर्ट फिल्म बन्ने क्रम बढेको उल्लेख गर्दै त्यसका लागि नयाँ नयाँ डिजाइनका लुगाको खोज र माग बढेको अवस्थामा तालिमलाई प्राथमिकता दिइएको बताए।

तालिममा सिलाईसम्बन्धी आधारभूत ज्ञान र सीप भएका ३० महिला सहभागी थिए। तालिममा विभिन्न म्युजिक भिडियो र फिल्ममा अभिनय गर्ने महिला कलाकारको पनि सहभागिता रहेको थियो। सहभागीलाई बजारमा चलनचल्तीमा रहेका फेसन डिजाईनसँगै नेपालको सांस्कृतिक पहिचान झल्काउने पहिरन पनि विभिन्न डिजाइनअनुरुप सिलाउनसक्ने ज्ञान र सीप सिकाइएको टेक्नोलोजीका निर्देशक शोभा महर्जनले बताइन्।

सिकेका तालिमलाई व्यवहारमा समेत प्रयोग गर्न ललितपुर महानगरपालिकाको कार्यपालिकाका सदस्यसमेत रहेकी महिला सदस्य बबिता श्रेष्ठले जोड दिइन्। सो अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्