क्यान्सर पीडितलाई सघाउन भोज



काठमाडौं ।

मिस नेवाः, लिटिल मिस नेवाःजस्ता नेवार समुदायका युवती र बालिकाका लागि सौन्दर्य र प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेसन होमको इभेन्ट म्यानेजमेन्टमा क्यान्सर पीडितलाई सहयोग गर्न राजधानीमा नेवारी भोज कार्यक्रम आयोजना गरिएको छ।

नेपाल अर्बुदरोग निवारण संस्था र फाइट फर लाइफ नेपालको संयुक्त आयोजनामा क्यान्सर पीडितलाई सघाउन नेवारी भोज कार्यक्रम आयोजना गरिएको हो। क्यान्सरसम्बन्धी जनचेतना फैलाउन, आन्तरिक पर्यटनको विकास र क्यान्सर पीडितलाई सहयोग गर्न कार्यक्रम आयोजना गरिएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्व तथा बागमती प्रदेश सरकारका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेवार समुदायका विभिन्न सांस्कृतिक नृत्य तथा झाँकीसमेत प्रदर्शन गरिएको थियो।

फाइट फर लाइफ नेपालका अध्यक्ष दीलकुमार महर्जन, मिस नेवाः ११४३ सकिना महर्जन, मिस नेवाः ११४१ कृषा महर्जन, मिस नेवाः सोसल एम्बेस्डर तिमिला महर्जन, क्यान्सर सोसाइटीका प्रथम उपाध्यक्ष हरिगोपाल प्रधान, उपाध्यक्ष डा. विमला शाक्य , लायन्स क्लबकी अध्यक्ष सबिना श्रेष्ठलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमका सहभागीले क्यान्सर पीडितलाई सघाउन नौलो कार्यक्रम आयोजना गरिएको बताए।

इभेन्ट व्यवस्थापक हेमा मानन्धरले कार्यक्रममा संकलित रकमबाट २२ वर्षीय नील मानन्धरलाई आर्थिक सहयोग गरिने बताइन्।

प्रतिक्रिया दिनुहोस्