‘क्याप्सुलमा पाइने माछाको तेलले मुटुलाई हानि गर्छ’



डा. अवनिभूषण उपाध्याय
  • मुटु रोगको सम्भावना १३ प्रतिशतले बढी
  • मस्तिष्कघातको सम्भावना पाँच प्रतिशतले बढी
लक्ष्मण अधिकारी

आजभोलि विदेशबाट छोराछोरीले पठाइदिएको माछाको तेलको क्याप्सुल खाने प्रवृत्ति फेसनजस्तै बनेको छ। पढ्न वा काम गर्न विदेश गएकाहरूले घरमा पठाउने कोशेलीमा विभिन्न मल्टि भिटामिनहरू, फुड सप्लिमेन्ट एवं माछाको तेलको क्याप्सुलले महत्वका साथ स्थान पाउने गर्छ । माछाको तेलको क्याप्सुलले ‘मुटु रोग हुन दिँदैन, र भएकालाई पनि ठीक पार्छ’ भन्ने उनीहरूको विश्वास रहेको पाइन्छ । तर, के माछाको तेलको क्याप्सुलले साच्चिकै मुटुको रोग हुन दिँदैन त ?

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अवनिभूषण उपाध्याय भन्नुहुन्छ– ‘पछिल्लो अध्ययनले के देखाएको छ भने क्याप्सुलका रूपमा तयार गरिएको माछाको तेलले मुटुलाई फाइदा होइन हानी गरेको पाइएको छ। तयारी माछाको तेल नियमित खानेहरूमा मुटुको रोग नै वृद्धि भएको पाइएको छ । माछाको तेल नियमित खाने र नखानेहरूबीच भएको विस्तृत अध्ययनमा माछाको तेल खानेहरूमा मुटुको रोग बढी भएको पाइएको हो।’

डा. उपाध्यायका अनुसार माछाको बोसोमा मुटुलाई फाइदा गर्ने ओमेगा ३ फ्याट्टी एसिड पाइन्छ । सबै माछामा अलिअलि ओमेगा ३ पाइए पनि चिसो पानीमा हुने साल्मोन माछामा धेरै पाइन्छ। तर, बोसोयुक्त माछा खाँदा बढी फाइदा भए पनि त्यसबाट तेल निकालेर क्याप्सुल बनाएपछि त्यसले मुटुलाई फाइदाभन्दा बढी हानि गरेको पाइएको छ। नेपालमा साल्मोन माछा पाइन्न। बाहिरबाट धेरै दिनअघि मारेर फर्मालिन हालेर ल्याइएका माछामा ओमेगा ३ को गुणस्तर नष्ट भइसकेको हुन्छ । युरोप अमेरिकातिर पनि माछा मारेको निश्चित घण्टासम्म मात्र बेच्न पाइन्छ भनेर समय तोकिनुको कारण त्यही हो । अस्ट्रेलियामा झन् कडा छ । माछा मारिसकेपछि कस्तो तापक्रममा कति समयसम्म राख्न मिल्छ भनेर तोकिएको नै छ ।

बृटिस मेडिकल जर्नलमा हालै प्रकाशित अध्ययन प्रतिवेदनअनुसार नियमित रूपमा माछाको तेल सेवन गर्नाले मुटु रोग हुने सम्भावना वृद्धि गर्छ साथै मस्तिष्कघात हुने सम्भावना पनि बढाउँछ । अनुसन्धानले मुटुको समस्या नभएका मानिसले नियमित रूपमा माछाको तेल प्रयोग गरेमा मुटुसम्बन्धी समस्या हुने सम्भावना १३ प्रतिशतले वृद्धि हुन्छ भने मस्तिष्कघात हुने सम्भावना पाँच प्रतिशतले वृद्धि हुने देखाएको छ ।

अनुसन्धान प्रतिवेदनअनुसार खानामा बोसोयुक्त माछा हप्तामा दुई पटकसम्म खानेलाई मुटु रोग लाग्ने सम्भावना कम हुन्छ तर फुड सप्लिमेन्टका रूपमा माछाको तेलको क्याप्सुल खानेहरूमा मुटु रोगको सम्भावना बढी हुन्छ।

विभिन्न क्लिनिकल परीक्षणहरूका अनुसार बढी मात्रामा (दैनिक ४ ग्राम) ओमेगा ३ फ्याट्टी एसिड फुड सप्लिमेन्टका रूपमा खाएमा मुटुको चालमा गडबढी आई मस्तिष्क घातसमेत हुने पाइएको छ। तर, ओमेगा ३ फ्याट्टी एसिड हुने माछा खाएमा भने मुटु स्वास्थ्यलाई लाभ पुग्ने बताइएको छ।

मांसाहारी मानिसलाई अरू जीवको मासुभन्दा माछा खानुचाहिँ राम्रो हो भन्ने चिकित्सकहरूको सुझाव छ। तर, माछा बढी बोसो भएको हुनुपर्छ। बोसो धेरै भएको माछामा ओमेगा ३ धेरै हुन्छ भनिन्छ । साल्मोन माछामा सबैभन्दा बढी बोसो हुन्छ। नेपालमा साल्मोन माछा पाइँदैन। मारिसकेर विदेशबाट ल्याइएका माछामा ओमेगा ३ नष्ट भइसकेको हुन्छ। अन्य माछाहरूमा पनि बोसो अर्थात् ओमेगा ३ फ्याट्टी एसिड केही मात्रामा हुन्छ । तर, माछा पकाउने तरिका गलत भयो भने माछाबाट पाइने पौष्टिक तत्व नष्ट भइसकेको हुन्छ । तेलमा डिप फ्राइ गरेको माछामा पौष्टिक तत्व नष्ट भइसकेको हुन्छ । तावामा अलिअलि चिल्लो राखेर बिस्तारै तारेको माछा फाइदाजनक हुनसक्छ । एअर फ्रायरमा पकाएको पनि ठीकै हुन्छ । सकेसम्म माछालाई तेलमा नतारी पकाउनुचाहिँ लाभदायक हुन्छ ।

बजारमा पाइने माछा सकेसम्म जिउँदो वा मारेको केही घण्टाभित्र मात्र लाभदायक हुन्छ । मारेर फर्मालिन हाली लामो समय सुरक्षित गरिएको माछा स्वास्थ्यका लागि हानिकारक मानिन्छ । नेपालमा विदेशबाट आउने धेरै माछामा फर्मालिन हाल्ने गरेको भेटिएको छ। नेपालमा पाइने र धेरै बोसो भएको मंगुर माछामा स्वास्थ्यलाई हानि गर्ने पारो (मर्करी)को मात्रा हुने भएकोले अहिले धेरै ठाउँमा यसको बिक्रीमा रोक लगाइएको छ। पारोको मात्रा रहु माछामा पनि हुन्छ भनेर अमेरिकामा यो माछा खान डराउँछन्। रहु पनि धेरै प्रकारको हुने भएकाले भारतमा पाइने रहु माछामा पारो नभएको त्यहाँका वैज्ञानिकहरूको भनाइ छ । उनीहरूले भारतमा हजारौँ वर्षदेखि यसको उपभोग भइरहेको र यो सुरक्षित रहेको बताएका छन् ।

माछाबाट तेल निकालेर क्याप्सुल बनाउँदा त्यसको लाभदायक तत्व नष्ट हुने भएकोले आफूले धेरै अघिदेखि नै आफ्ना बिरामीहरूलाई क्याप्सुलको रूपमा पाइने माछाको तेल खानु ठीक छैन, यसले मुटुलाई फाइदा गर्दैन भन्दै आएको जिकिर गर्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायले भन्नुभयो– ‘तर अहिले पनि मेरो क्लिनिकमा आउने बिरामीहरू अमेरिका, अस्ट्रेलियाबाट छोराछोरीले पठाइदिएको माछाको तेल खाइरहेको छु भनेर बोकेरै देखाउन आउँछन्। उनीहरूलाई पनि अब नखानु भन्ने गरेको छु।’

उहाँका अनुसार वल्र्ड हार्ट फेडरेसनले नै माछाको तेल खाँदा मुटुको रोगमा वृद्धि भएको पाइएको, साल्मोन माछा नै खाएमा मात्र फाइदा हुन्छ, भनिसकेको छ।

उहाँका अनुसार मल्टि भिटामिन र भिटामिन डीले हानि गर्दैन किन भने मल्टि भिटामिन शरीरले अनावश्यक रूपमा लिँदैन, बढी भए फ्यालिदिन्छ। भिटामिन डीको कमी नभएको अवस्थामा भिटामिन डी खाएमा त्यो पनि पिसाबबाट बाहिर जाने भएकाले त्यसले हानि गर्न सक्तैन। तर, क्याप्सुलका रूपमा पाइने माछाको तेलको नियमित सेवनले मुटु रोग नभएकाहरूमा समेत मुटु रोग वृद्धि गरेको अध्ययनमा पाइएकोले यस्तो क्याप्सुल नखानु नै जाती हुन्छ।

प्रतिक्रिया दिनुहोस्