आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला



धनुषा ।
यहाँको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको बताउनुभयो । रुबीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो ।
गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको थियो । रुबी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरी निरिक्षक साहले बताउनुभयो ।
प्रहरीका अनुसार रुबी बेपत्ता भएको उजुरी पर्ने बित्तिकै रुबीका श्रीमान् राजनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरी निरिक्षक साहका अनुसार राजनारायणले गत शनिबार घुम्न जाने भनेर औरही सामुदायिक वनमा श्रीमतिलाई लिएर गएको र त्यहीँ हत्या गरेर जङ्गलमा लास फालेको बयान दिएका छन् ।
प्रहरीले शवपरीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्दै अभियुक्तलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरिक्षक साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्