राजधानीमा शास्त्रीय र परम्परागत नृत्य



काठमाडौं ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नृत्य विभागले राजधानीमा एक कार्यक्रम आयोजना गरी शास्त्रीय एवं परम्परागत नृत्य प्रस्तुति–२०८१ सम्पन्न गरेको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा विभिन्न शास्त्रीय एवं परम्पारगत नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रममा पिस कल्चर गु्रपबाट सनब खड्गी र संगीता खड्गीले नेपालको परम्परागत भैरवकाली नृत्य प्रस्तुत गरेका थिए भने एस्थेटिक डान्स स्टुडियोबाट नृत्यांगना नम्रता केसीले कथक नृत्यमा आधारित तीन नृत्य प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा सौजन रघुवंशी र प्रमिला श्रेष्ठले बंगामुखी, ऋतु रंगलगायत भरतनाट्यममा आधारित पाँच नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्ताम्छलीले कार्यक्रम सार्थक र उपलब्धिमूलक भएकोे बताए। उनले दुई प्रतिष्ठान कला र संस्कृतिको संरक्षणका लागि संयुक्त रूपमा अघि बढ्नु पर्नेमा जोड दिए।

आयोजक प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका सभाध्यक्ष शम्भु राईले लोप हुने अवस्थामा पुगेका कला र संस्कृतिलाई प्रतिष्ठानले विविध प्रदर्शनमूलक कार्यक्रम तथा अध्ययन अनुसन्धानका माध्यमबाट सङ्ग्रहित गरिरहेको दाबी गर्दै नेपाली कला र संस्कृतिको क्षेत्रमा भएका विकृति र विसंगतिलाई नियमन गर्ने निकाय नरहेको अवस्थामा प्रतिष्ठानमार्फत् नियमन र नियन्त्रण गर्न सकिने बताए।

नृत्य विभाग प्रमुख एवं कार्यक्रम संयोजक बखतबहादुर हमालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रदर्शनमूलक तथा अध्ययन र अनुसन्धानात्मक कार्यलाई सँगसँगै लिएर अगाडि बढिरहेको दाबी गरे। कार्यक्रम सञ्चारकर्मी हरि पुनद्वारा सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्