कांग्रेसले निर्वाचन अघि गठबन्धन गर्दैन : महामन्त्री शर्मा



भक्तपुर।

नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले निर्वाचन अघि कांग्रेसले गठबन्धन नगर्ने बताउनुभएको छ । आज भक्तपुरको सुर्यबिनायकमा आयोजित शहिद राधेश्याम जोन्छेको १२ औं बार्षिक पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले आगामी निर्वाचनमा कांग्रेस एक्लै उभिने बताउनुभयो ।

गठबन्धनको अनुभव गरिएको भन्दै जित हारलाई छाडेर एक्लै उभिने भन्ने मनोबिज्ञान महासमितिबाट पारित गरिसकेको बताउँदै उहाँले चुनाव अघिको गठबन्धनका पक्षमा कांग्रेस नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘चुनाबमा जाने बेला मरी मरी एकातिर माओवादी बोकिएको छ उता अर्कोलाई बोकेको छ, जितेर गैसकेपछि झगडा परेको छ ,त्यसकारण चुनाब अघिको गठबन्धनको पक्षमा हामी छैनौ ।’

महामन्त्री शर्माले कांग्रेस माओवादीसँग होईन आफैंमा तरोताजा भएर आफ्नै साथीसँग मिलेर र साथीको बिश्वास जितेर अरुसँग लड्ने बताउनुभयो । शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो । नेपाल कहिल्यै बन्दैन भन्ने मनोबिज्ञान छोडेर यहाँ केही भएको छ अझै धेरै गर्न बाँकी छ भनेर र यो सतीको सराप परेको होईन भगवान गौतम बुद्धको आशिर्वाद पाएको देश हो भन्ने दृढता राखेर अगि बढ्नुपर्ने उहाँको भनाई थियो ।

महामन्त्री शर्माले गिरीबन्धुु टी–इस्टेटको जग्गा सट्टापट्टा गर्ने गरी कानुन बनाउँदा कांग्रेसले संशोधन हालेको बताउनुभयो ।
गृहमन्त्री रवि लामिछाने सहकारी ठगिमा मुछिएको प्रमाणहरु निरन्तर सार्वजनिक भएपछि कांग्रेसले संसदमा यो बिषय टुंगोमा पुर्याउन र सर्वसाधारणको सहकारीमा डुबेको बचत फिर्ता होस् भनेर आवाज उठाएको बताउनुभयो ।

कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास रहेको बताउँदै महामन्त्री शर्माले एमालेमा भने अध्यक्ष केपी शर्मा ओलीप्रति कसैले प्रश्न गर्ने शाहस नराख्ने र बिपक्षीमा उभिए उसको राजनीतिक भबिष्य नै समाप्त हुने गरेको दृष्टान्त बताउनुभयो । कांग्रेसका कार्यकर्ता र शुभेच्छुकको मात्र नभएर अग्रज नेताको बलिदानीबाट जग बलियो भएकाले पार्टी अनेकौं हुण्डरीको बाबजुद दृढतापुर्वक उभिन सकेको बताउनुभयो ।

कांग्रेसमा रुपान्तरण जरुरी रहेको बताउँदै कांग्रेस केन्द्रमा मात्र नभई तल पनि बदलिनुपर्नेमा जोड दिनुभयो । मुलुकमा हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै उहाँले मुलुक कांग्रेसले बिश्वास गरेको पद्धतिमा चलिरहेको बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद तथा जिल्ला सभापति दुर्लभ थापा,केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ,चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री,शहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानका अध्यक्ष रजनी जोन्छें ,नेताहरु गणेशमान चक्रधर ,तिलकप्रकाश कायस्थ,बाबुराजा जोशी,जगन्नाथ कार्की लगायतले जोन्छेको योगदानको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्