स्यानिटरी प्याडसम्बन्धी निर्देशिका संशोधनबारे किशोरीसँग छलफल



काठमाडौं ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन भइरहेको सन्दर्भमा लक्षित समूहकै किशोरी विद्यार्थीहरूसँग मन्त्रालय छलफल गरी सुझाव लिइएको छ ।

कुनै पनि नीति बनाउँदा त्यसबाट प्रत्यक्ष प्रभावित हुने लक्षित समूहकै सहभागिता र सुझावमा बनाउने मन्त्रालयको नीति अनुरूप सामुदायिक विद्यालयका छात्राहरूसँगै अन्तरक्रिया गरिएको हो।

काठमाडौँका विभिन्न ७ वटा सामुदायिक विद्यालयमा विभिन्न तहमा अध्ययनरत २१ जना प्रतिनिधि किशोरीहरूसँग छलफल गरी सुझाव लिइएको हो। अर्को चरणमा काठमाडौँ बाहिरका विभिन्न स्थानहरूबाट र अनलाइन माध्यमबाट समेत सुझाव लिइनेछ। यसअघि अघिल्लो हप्ता मन्त्रालयमा विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरिएको थियो।

सरकारले छात्राहरूलाई वितरण गर्दै आएको प्याड सरकारी मापदण्ड अनुसार खरिद वितरण र गुणस्तर नभएको भनी विभिन्न सरोकारवाला, सङ्घसंस्था, प्रयोगकर्ताहरू र सञ्चार माध्यमबाट गुनासो आएपछि मन्त्रालयले कार्यविधि संशोधनका लागि सुझाव लिन थालेको हो।

छात्राहरूलाई वितरण हुने प्याडको गुणस्तर र मापदण्ड सुधार गर्ने तथा प्रयोग गरेका प्याडको वातावरणमैत्री व्यवस्थापन गर्न छलफलबाट प्राप्त सुझावले कार्यविधिको व्यवहारिक परिमार्जनमा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्