प्रधानमन्त्री प्रचण्ड र पाकिस्तानी राजदूतबीच भेट



काठमाडौं । 

नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ सँग बिहीबार सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई फर्कनुभएका प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूत हाश्मीले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) लाई अघि बढाउने विषयमा छलफल गर्नुभएको बताइएको छ ।

भारत र पाकिस्तानबीचको तिक्तताका कारण गत १० वर्षदेखि सार्कको शिखर सम्मेलन हुन सकेको छैन । सन् २०१६ को नोभेम्बरमा काश्मीरस्थित भारतीय सेनाको क्याम्पमा भएको आतंककारी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भन्दै भारतले विरोध जनाएपछि त्यो वर्ष पाकिस्तानमा हुन लागेको सार्क शिखर सम्मेलन अन्तिम अवस्थामा स्थगित भएको थियो । जसको कारण नेपालले सार्कको अध्यक्षता अहिलेसम्म पनि पाकिस्तानलाई हस्तान्तरण गर्न सकेको छैन ।

दूताबासका अनुसार भेटमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक तथा सामाजिक सहयोगका साथै यस क्षेत्रको विकास र शान्तिबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्