एथलेटिक्समा गण्डकी टिम च्याम्पियन



पोखरा ।

गण्डकी प्रदेश प्रथम यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेश दोस्रो भयो। लुम्बिनीले ३ स्वर्ण, २ रजत र ६ कांस्य जितेको थियो। तेश्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण, २ रजत र १ कांस्य हासिल गरेको थियो।

पोखरा रंगशालामा भएको छात्र ४ गुणा १ सय मिटर रिलेमा लुम्बिनी पहिलो, गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो भए। छात्रामा भने गण्डकीले स्वर्ण जित्दा कोशीले रजत र कर्णालीले कांस्य जिते। छात्रको ८ सय मिटर दौडमा बागमतीका सुनिल विक पहिलो बने।

उनले निर्धारित दूरी २ मिनेट ०९.६३ सेकेन्डमा पूरा गरे । कर्णालीका अनिल शाही दोश्रो तथा लुम्बिनीका विशाल थारु तेश्रो भए । छात्रामा कर्णालीकी पुर्णिमा बुढाले निर्धारित दूरी २ मिनेट ३६.२६ सेकेन्डमा तय गर्दै स्वर्ण चुमिन् । गण्डकीकी कञ्चन भण्डारी दोश्रो तथा मधेशकी आशा साह तेश्रो भए।

छात्रको २ सय मिटर दौडमा गण्डकीका सुशान्त बोटेले स्वर्ण जिते। उनले निर्धारित दूरी २४.३३ सेकेन्डमा पूरा गरे। लुम्बिनीका अभय राना दोश्रो तथा बागमतीका अजित ठाकुर तेश्रो स्थानमा रहे। त्यसै स्पर्धाको छात्रामा गण्डकीकी अनुष्का अधिकारी पहिलो भइन्। अनुष्काले निर्धारित दूरी २७.६२ सेकेन्डमा पूरा गरिन् । सुदूरपश्चिमकी रितु जोशी दोश्रो तथा लुम्बिनीकी जमुना लोध तेश्रो भए।

जयस्नुलाई तीन स्वर्ण

बागमती प्रदेशका जयस्नु महर्जनले प्रतियोगिताअन्तर्गत टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन्। उनले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते। टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ। ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले पाँचै स्वर्ण जित्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्