एक्सन अवतारबाट पूजाको आशा



काठमाडौं ।

लोकप्रिय नायिका पूजा शर्माले जति पनि फिल्ममा अभिनय गरिन्, प्रेमकथाको फिल्ममा काम गरिन्। प्रेमिका बनेर पर्दामा धेरै देखिइन्। तर, आगामी असार ७ गते रिलिजमा हुने फिल्म दान्भीमा उनी एक्सन अवतारमा आउँदैछिन्।

उनी आफ्नो लोभलाग्दो फिल्मी करियरमा पहिलोपटक एक्सन चरित्रमा देखिन लागेकी हुन्। ‘वास्तवमा दान्भी मेरो लागि रिस्क फ्याक्टर हो। किनभने मैले यो जनरामा कामनै गरेको थिइनं। सधैं प्रेमकथाको फिल्ममा काम गरेँ। त्यसैले सधैं प्रेमिका बनेर काम गर्नुभन्दा एउटा फरक काम गरौं भनेर मैले दान्भीमा काम गरेकी हुँ,’ यही फिल्मका लागि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग झन्डै एक महिना एक्सनको प्रशिक्षण लिएकी उनले भनिन्, ‘यो फिल्म गर्दा मैले विशेषतः एक्सन सिक्न पाएँ। ममा एक्सनको ज्ञान शून्य नै थियो। तर, दान्भीको कामले धेरै कुरा सिकायो।’

आफूले एक्सन फिल्ममा काम गर्न सोचेभन्दा धेरै कठिन भएको अनुभव यो फिल्मबाट गरेकी रहेछिन्। उनको अनुभवमा अहिलेसम्म सबैभन्दा कठिन र मिहिनेत गरेको फिल्म उनका लागि दान्भी नै हो।

‘यो एक्सन फिल्म नै हो। फिल्म हेरेपछि दर्शकले ओ हो भन्नुहुन्छ। हामीले अहिलेसम्म हेरिरहेको भन्दा फरक एक्सन यो फिल्ममा हेर्न पाइनेछ। एक्सन भन्नेबित्तिकै उडिहाल्ने भन्ने हुन्छ। तर, यसमा प्राक्टिकल एक्सन छ,’ पूजाले प्रष्ट्याइन्।

पूजा अभिनेत्री रेखा थापाको एक्सनबाट प्रभावित रहिछन्। उनको बुझाइमा रेखापछि कुनै अभिनेत्रीले एक्सनमा आफूलाई प्रमाणित गरेका छैनन्। ‘यो फिल्मले केटी मान्छेले कस्तो एक्सन गर्छे भनेर दर्शकलाई फ्रेसनेस दिन्छ। मैले आफ्नो फिल्म बनाउँदा त्यति धेरै प्रतिक्रिया आएको थिएन, जति दान्भीबाट पाएकी छु। किनभने यसमा एउटा केटीले एक्सन गरेकी छ, यो कुरालाई मान्छेले नोटिस गरेको रहेछ,’ पूजाको अनुभव छ। दान्भीको एक्सन पाटोले नै उनलाई यसमा काम गर्न प्रेरित गरेको रहेछ।

‘यो फिल्म लभस्टोरी फ्लेभरको भए मैले यसमा काम गर्दिनँ थिएँ। शुरूमा ठूला कलाकार ल्याएर गेस्ट अपेरियन्समा एक्सन गराउने भन्ने थियो। तर, म आफैँले गर्ने निर्णय लिएँ’ पूजाले फेरि प्रष्ट्याइन् ‘किनभने दर्शकले विराज भट्ट दाइदेखि अन्य अभिनेताको एक्सन हेरिसकेका छन्। त्यसकारण विराज दाइभन्दा पनि केटीले नै एक्सन गरौं न भन्ने भयो र मैले गर्ने निर्णय लिएँ। निर्देशकले पनि केटीले नै एक्सन गर्नुपर्छ भन्ने भएपछि कुरा मिल्यो।’ पूजाका अनुसार उनले फिल्मका लागि सुटिङस्थलमा १५ दिनसम्म निरन्तर एक्सन गरिरहिन्।

फिल्मको टिजर र ट्रेलर रिलिज भएपछि उनको एक्सन अवतारको जति तारिफ भयो, आलोचना र खिसिट्युरी पनि उत्तिकै भयो। आफ्नो कामको आलोचना पाउँदा उनी केही दुःखी पनि भइन्। ‘मैले दान्भीमा बोकेको गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो होला। नेपालमा यस्तो गर्यो भन्ने हुन्थ्यो। तर ,एउटा केटीले बोक्दा गन बोक्न पनि आएन, गन बोकेको एक्सप्रेसन भएन भनेको मैले सुनें,’ पूजा भन्छिन् ‘खासमा मैले गन बोकेको छु, गन बोकेको मान्छे डराउने होइन नि त। मैले अरूलाई गन हानेको छु। त्यसैले म गनसँग इजी हुने हो नि। तर, मान्छेले बुझ्दा गन बोकेको छ एक्सप्रेसन नै छैन भनिदिए।’

भविष्यमा एक्सन फिल्ममा काम गर्ने वा नगर्ने भन्ने विषय दान्भी रिलिजपछिको प्रतिक्रियाले टुंगो लगाउने पूजाको भनाइ छ। ‘मलाई दर्शकले एक्सनमा रुचाए भने फेरि अवश्य एक्सन गर्छु। अहिले मलाई एक्सन मुभीकै अफर आइरहेका छन्। तर, दान्भीको प्रतिक्रिया नआई अरू एक्सन फिल्मको कुरै गर्दिनँ,’ उनी भन्छिन्, ‘तर दर्शकले मेरो एक्सन अवतार मन पराउनुहुनेछ भन्ने विश्वास छ।’

जूना फिल्म्स्को ब्यानरमा रुपेश तामाङद्वारा निर्देशित फिल्ममा पूजाका साथमा कुङशान बोमजन, मोनालिशा खतिवडा, राजाराम पौडेल, कालु राना, किरण श्रेष्ठ, सीता तामाङ, अनील राई, विनिता प्रधान, भक्ति राई, प्रन्सन क्षत्री, विशाल पहाडी, राम परिवार, नागे डंगोल, सत्यनारायण थारू, दीपक थापा, अनिता गिरीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रभवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कथा रविना थापामगर, पटकथा र संवाद संजोग कुमार राना, संगीत अर्जुन पोखरेल, कोरियोग्राफी कविराज गहतराज र बाहुल बराइली, नरेश जोगी, छायांकन निर्देशन हरिबहादुर घले र सम्पादन बन्दे प्रसादको रहेको छ।

प्रतिक्रिया दिनुहोस्