छापा माध्यमहरूको सञ्जालले छापा माध्यमको संरक्षणका लागि अभियान चलाउने



काठमाडौं ।

साप्ताहिक पाक्षिक पत्रिकाहरूको राष्ट्रिय सञ्जालले छापा माध्यमहरू संकटमा पर्दै गइरहेकाले यसको रक्षाका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ।

सो सञ्जालले बिहीबार ललितपुरमा एक छलफल कार्यक्रमको आयोजना गरी नेपालमा हाल सिंगो पत्रकारिता जगत्ले समस्या भोग्नुपरिरहेको र छापा पत्रिकाले झनै ठूलो संकट व्यहोर्नुपरेको भन्दै छापा पत्रिकालाई जोगाउन सरकारी स्तरबाट विशेष नीति र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ।

सञ्जालका तर्फबाट वरिष्ठ पत्रकारद्वय देवप्रकाश त्रिपाठी र किशोर श्रेष्ठले छापा माध्यमको संरक्षणको लागि सबै पत्रकारहरू एकजुट भएर सरकारलाई आवश्यक दबाब दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार त्रिपाठीले अहिले मुलुकमा चौथो अंगका रूपमा रहेको पत्रकारिताको विश्वसनीयता नै ध्वस्त बनाइएकाले पनि पत्रकारिता थप संकटमा परेको बताउनुभयो।

उहाँले पत्रकारिता जोगाउन पत्रकारहरूले पनि आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । त्रिपाठीले सरकारले पनि मिडियामैत्री नीति ल्याउन नसकेकाले त्यस्तो नीति ल्याउन सशक्त दबाब दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै अर्का वरिष्ठ पत्रकार किशोर श्रेष्ठले राज्य र सरकारले हिजो लोकतन्त्र ल्याउन नेपाली छापा माध्यमले पु¥याएको अभूतपूर्व योगदानलाई बिर्सनु दुःखद् भएको बताउनुभयो । उहाँले छापा माध्यमहरू अत्यन्तै संकटमा पर्दै गएकाले यसको संरक्षण गर्नु लोकतान्त्रिक सरकारको प्रमुख दायित्व भएको स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले नेपालमा छापा पत्रकारिताको अवस्था, चुनौती, समस्या, समस्या समाधानका उपाय तथा सम्भावनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसै गरी कार्यक्रममा पत्रकार सीताराम भट्टराईले नेपाल चीन दिगो विकासमा मिडियाको विकासका बारेमा प्रकाश पार्नुभएको थियो। सो कार्यक्रममा सहभागी भएका विभिन्न सञ्चारमाध्यमका सम्पादक, सञ्चालक तथा अन्य वरिष्ठ पत्रकाहरूले छापा क्षेत्र र पत्रकारिताको संरक्षणका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए। सो साप्ताहिक पाक्षिक पत्रिकाहरूको राष्ट्रिय सञ्जालले कार्यक्रममा आएका सुझावहरूलाई समेटेर पत्रकारिता र छापा माध्यमको संरक्षणका लागि प्रधानमन्त्री, अर्थमन्त्री, सञ्चारमन्त्री तथा प्रदेश सरकारसमक्ष विभिन्न मागसहित साझा सरोकार पेस गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्