तिलोत्तमाले सुरु गर्‍यो अटिजमका बिमारी खोज्न अभियान



बुटवल। 

रुपन्देहीका तिलोत्तमा नगरपालिकाले सामाजिक विकासलाई पनि भौतिक विकासंगै अगाडी बढाउनु पर्छ भनी सामाजिक कार्यलाई प्राथमिकता प्रदान गर्न थालेको छ । सोही अनुसार   सामाजिक विकास समितिले अटिजम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र नगरभित्रका स्वास्थ्य संस्थाका कर्मचारी र अटिजम देखिएका अभिभावकलाई अटिजमबारे जानकारी गराउन कार्यक्रम गरिएको हो । स्नायुमा हुने गम्भीर खराबीका कारण बालबालिकामा अटिजमको समस्या देखिने र यो जन्मजात समस्या   हो । सो अवसरमा बोल्दै नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले अटिजमको समस्या भएका बालबालिकाको क्षमता विकास, सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पहिलो पटक बजेटमै उल्लेख गरेर यो कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा अटिजम रोग विशेषज्ञ डा. जस्मिनले  स्नायुमा हुने गम्भीर खराबीका कारण बालबालिकामा अटिजमको समस्या देखिने र यो जन्मजात समस्या भएको बताइन् । हरेक ५० जना बालबालिकामा एक जनालाई कुनै न कुनै प्रकारको अटिजमको समस्या हुने भन्दै डा. जस्मिनले माया,सद्भाव र प्रेमपूर्वक व्यवहारबाट उनीहरुलाई खुसी बनाउन सकिने बताइन् । अटिजम भएका बालबालिकामा पनि कुनै एक विशेष क्षमता हुने भएकाले त्यसलाई पहिचान गरी उनीहरुलाई प्रशिक्षण दिएमा आत्मनिर्भर बन्न सक्ने सम्भावना समेत हुने बताइन् ।

 नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख  ज्ञानप्रसाद पौडेलले नगरभित्रका अटिजमको समस्या भएका बालबालिकाहरु भएका घर पत्ता लगाएर उनीहरुका पक्षमा काम गर्ने र उनीहरुलाई अपहेलित हुन नदिन शिक्षक र स्वास्थ्यकर्मीलाई यस्ता कार्यक्रम निरन्तरता दिइने बताए ।

 कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले सीपच थेरापी, फिजियो थेरापी आदि उपचार विधिबाट अटिजमको समस्या कम गर्न सकिने र उनीहरुलाई परिवारका अभिभावक र समाजको माया र सद्भाव महत्त्वपूर्ण हुने बताए।

प्रतिक्रिया दिनुहोस्