६३ कुकुरको बन्ध्याकरण



कास्की ।

 भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ ।
घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरणसहित रेबिजविरुद्धको खोप लगाइएको विज्ञ केन्द्रका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिए । बन्ध्याकरणको लागि दैनिक आउने चापलाई व्यवस्थापन गर्न क्रमशः शिविर सञ्चालन गरिरहेको पौडेलले बताए ।

बन्ध्याकरण गरिएको मध्ये १७ वटा भाले र ४६ पोथी कुकुर रहेको शिविरमा स्याङ्जा, तनहुँ र कास्कीबाट ल्याईएका कुकुर रहेका थिए ।
२०३० सम्ममा रेबिज रोग नियन्त्रण गर्ने सरकारको नीति अनुरुप छाडा तथा घरपालुवा कुकुरमा सो अभियान सुरु गरिएको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए । असारको अन्त्यमा अर्को शिविर समेत सञ्चालन गरिने पाण्डेले जानकारी दिए ।

सहरी क्षेत्रमा कुकुर पाल्ने चलन बढ्दै जानु र पछि गएर छाडा छोड्ने प्रवृत्तिले गर्दा कुकरको संख्या वृद्धि हुँदै जाने गरेको छ । त्यस्ता कुकुरले सर्वसाधारणलाई टोक्दै जाँदा रेबिजको जोखिम बढेको हुँदा कुकुरको बन्ध्याकरणलाई तीव्र पारिएको पशु चिकित्सक डा. किरण पाण्डेले बताए । बन्ध्याकरणबाट पोथी कुकुरमा आउने पाठेघरको समस्याको न्यूनीकरण भएर जाने डा. पाण्डले भनाई छ  ।

गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको शिविरबाट प्रत्यक्ष लाभ पाएको भन्दै कुकुर पालक पोखरा–१४ का विशाल गुरुङले खुसी व्यक्त गरे ।
डा.पाण्डेको नेतृत्वमा रहेको सो टोलीमा डा.अनन्त कोइराला, डा.आशिष गौतम, डा.आशेष बि.क, डा.पवन पाण्डे, डा.प्रियङ्का कोइराला लगायतका विभिन्न पशु विज्ञहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्