लहडी युवाको विश्व साइकल यात्रा !



दोलखा। 

लहडले मानिसलाई कैलेकाही अपत्यारिलो सफलता दिलाउँछ । दोलखाको कालिञ्चोक गाँउपालिकाका एउटा लहडी युवा अभिनय कार्की त्यस्तै अपत्यारिलो सफलताको लागि शुक्रवार थाइल्याण्ड उड्दै छन् ।

सेभ द इन्भारोमेन्ट भन्ने मूल नारासहित विश्व साइकल यात्रामा निस्कन लागेका अभिनय नेपालबाट हवाई मार्गहुदै थाइल्याण्ड जाने र त्यहाँबाट साइकल मार्फत विश्वको यात्रा सुरु गर्ने बताउँछन् । नेपालबाटै साइकल यात्रा गर्दा समय र प्राविधिक समस्या भएपछि आफूले थाइल्याण्डसम्म हवाई जहाजबाट यात्रा तय गर्न लागेको अभिनयले बताए ।

थाइल्याण्ड पुगेपछि त्यहाँबाट मलेसिया, सिंगापुर, लाओस, कम्बोडिया, भियतनाम हुँदै यात्रा अनुकूलता हेरेर सकेसम्म विश्वका सबै राष्ट्रमा साइकलबाट सफर गर्ने लक्ष्य लिएको अभिनयले बताए ।

अहिले हामी जुन पृथ्वीमा छौं, हाम्रा पुस्ताले जोगाएर राखेका पृथ्वीमा हामी आश्रित छौं । अनि रमाइरहेका छौं । खुसी भएका छौं । जीवन चलाइरहेका छौं । एकैछिन सोच्नुस् त, यो पृथ्वी नै बचाउन सकेनौं भने हाम्रो अवस्था के होला ? अभिनयले भने– त्यसैले म साइकलबाट विश्वको जुनसुकै देशमा पुग्दा पनि सेभ द इन्भारोमेन्ट भन्ने नारालाई उठाउने छु र भेटेसम्म त्यहाँका बौद्धिक नागरिकसँग यस विषयमा बहस गर्ने छु ।

जलवायु परिवर्तनका कारण अहिले नेपालको सगरमाथा सहित सम्पूर्ण हिमालहरु काला हुँदै गएको र हिमतालहरु सुक्दै गएको यर्थाथतालाई विश्वसामु राख्ने र जलवायु अनुकुलनका कार्यक्रमहरु सबै मिलेर ल्याउन आग्रह गर्ने उनले बताए ।

विश्व साइकल यात्रामा निस्कन लागेका अभिनय कार्कीलाई दोलखा सदरमुकाम चरिकोटबाट प्रतिनिधि सभा सदस्य गंगा कार्की लगायतका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी– व्यवसायी, पत्रकार, राष्ट्रसेवक, किसान, मजदुरसहित ठूलो संख्यामा उपस्थित स्थानीय नागरिकले जेठ २४ गते बिदाइ गरेका थिए ।

विश्व साइकल यात्रामा निस्कन लागेका अभिनय कार्कीले यस अघि २०७८ सालमा फ्रष्टेसन, डिप्रेसन र लागू औषध दुव्र्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निमार्णका लागि युवाहरु एकजुट बनौं’ भन्ने नारा सहित एक सय ९९ दिन लगाएर साईकलबाटै देशको ७७ वटा जिल्लाको भ्रमण गरेका थिए । त्यसैगरी उनले मेची– महाकाली पैदल यात्रा र दोलखाको कालिञ्चोकबाट इलामको श्रीअन्तुुसम्मको पैदलयात्रा समेत पुरा गरिसकेका छन् ।

समय जतिसुकै लागे पनि प्राविधिक या कानुनी समस्या भएन भने साइकलबाट विश्वका सबै देशमा पुगेर जलवायु परिवर्तनले पारेको असर र त्यसको समाधानको लागि सन्देश प्रवाह गर्दै आफ्नो जन्मथलो दोलखा फर्किएर यात्रा उपलब्धिको बारे स– गौरव चर्चा गर्ने अभिनयले बताए ।

प्रतिक्रिया दिनुहोस्