सरिताको स्वरमा बजाइदेउ न बाजा



काठमाडौं ।

लोकप्रिय संगीतकार शम्भुजीत बासकोटाको संगीत र गायिका सरिता भारतीको स्वरमा नयाँ गीत बजाइदेऊ न बाजा रिलिज भएको छ। डब्बु क्षत्रीले लेअ‍ेको गीत जति मिठो छ, भिडियो त्यत्तिकै आकर्षक बनेको संगीतकार बासकोटाले बताएका छन्।

गीतमा युवा युवतीको प्रेम सम्बन्ध दर्शाइएको छ। उनीहरूबीच अथाह प्रेम भए पनि त्यो प्रेम सम्बन्धलाई परिवारले नरुचाएपछिको समस्या गीतमा प्रस्तुत गरिएको गायिका सरिता भारतीले बताइन्। गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ।

आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत केही वर्षअघि गीतिसंग्रह पहिलो भेटमैमा संग्रहित छ। ‘त्यतिबेला कोरोना महमारीका कारण हामीले सामाजिक दूरी कायम गरेर गीतिसंग्रह पहिलो भेटमै विमोचन गरेका थियौं। भिडियो चाहिँ भर्खर छायांकन गरेर दर्शकमाझ ल्याइएको हो,’ गायिका भारतीले भनिन्।

ओएसआर डिजिटल युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडियो डब्बु क्षत्रीले निर्देशन गरेका छन्। सर्लाहीको भरतताल, नुनथरलगायत स्थानमा छायांकन गरिएको भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको क्षत्रीले बताए।

भिडियोमा गायिका सरितासँगै अभिनेता यसराज गराचले अभिनय गरेका छन्। भिडियोमा गीतको कोरियोग्राफी कृष्ण रसालले गरेका छन् भने प्रवीण सुवेदीको छायांकन तथा वीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्