कंगनालाई ऋतिकको साथ



काठमाडौं ।

गतबिहीबार बलिउड अभिनेत्री कंगना रनावतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेपछि बलिउडमा कंगनामाथि भएको घटनाको धेरैले निन्दा गर्दै गरेका छन्।

हालै मण्डीबाट लोकसभा चुनाव जितेर बीजेपीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्ने क्रममा कंगनामाथि कुलविन्दर कौरनामक महिलाले झापड हानेकी थिइन्। सबाना आजमी, अनुपम खेर, रामगोपाल वर्मा, बलिउडका हस्तीले कंगनाको पक्ष लिइरहेका छन्। उनको पक्षमा अभिनेता ऋतिक रोशन पनि थपिएका छ्न।

भारतीय टेलिभिजन पत्रकार फाय डिसुजाले सामाजिक सञ्जालमा कंगनामाथि भएको घटनाको विरोध गर्दै हिंसा कुनै पनि कुराको जवाफ हुन नसक्ने जनाएकी थिइन्।

सो पोस्टमा धेरैले लाइक र कमेन्ट गरेका थिए। तर, अधिकांशको ध्यान भने अभिनेता ऋतिक रोशनको लाइकमा पुगेको छ। कंगनाले आफू र ऋतिक विगतम प्रेममा रहेको र आफूबाट छुटिएपछि बेलाबेलामा आफूलाई दुःख दिएको आरोप लगाँउदै आएकी थिइन्।

सोही कारण पनि बेलाबेलामा ऋतिक र कंगनाको शितयुद्ध चलिरहन्थ्यो।तर, कंगनाको पक्षमा लेखिएको पोस्टमा ऋतिकको लाइक देखेपछि ऋतिक पनि कंगनाको समर्थनमा रहेको प्रस्ट भएको छ। यसपश्चात् एकपटक फेरि उनीहरूको पुरानो प्रेम प्रसंगको चर्चा हुन थालेको छ।

किसान आन्दोलनका क्रममा कंगनाले आन्दोलनमा जानेहरूले एक सय रुपियाँ भारु पाउने गरेको अभिव्यक्ति दिएको र सो आन्दोलनमा आफ्नी आमा पनि सहभागी भएकाले ती महिलाले थप्पड हानेको बताइएको छ। कंगनाले सो विषयमा गुनासो दर्ता गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेपछि उनलाई निलम्वन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्