बालबालिकामा दमको रोग बढ्दै छ



पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभर वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण र जलवायु परिवर्तनका कारण मौसमसमेत राम्रो हुन सकेको छैन । धुवाँ, धूलो, वायु प्रदूषण, वंशाणुगत गुण, घरमा धूमपान, मोटोपना, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्यधिक बढेको पाइन्छ ।

ग्रान्डी अस्पतालमा आउने १०० जना बिरामीमध्ये ५ देखि १० जना बिरामी दमका हुने गरेका छन् । बालबालिकामा मौसम परिवर्तन, चिसो, रुघाखोकी, भाइरल ज्वरो हुँदा अनि श्वासप्रश्वास नली साँघुरिँदा पनि दमको समस्या हुने गरेको छ । श्वासप्रश्वास नली साँघुरिँदा खोकी बढी मात्रामा लाग्नेसमेत गर्दछ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा बढी लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा, बोल्दा पनि बढी खोकी लाग्ने, एन्टिबायोटिक खाँदा एक–दुई हप्तामा ठीक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने आदि भएमा दम भएको हुन सक्छ ।

यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ । दमलाई औैषधिले ठीक गर्ने होइन, ठीक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ । अन्यथा, दम दीर्घरोग भएर जान सक्छ । दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ । इन्हेलर विभिन्न खालका हुन्छन्, जसलाई डाक्टरको सल्लाहबमोजिम प्रयोग गर्नुपर्ने हुन्छ । बच्चाहरूमा मुख्यतः दम एलर्जीबाट हुने हुँदा ठीकसँग औषधि लिएमा पछि गएर आफैँ हराउन सक्छ र लामो समय इन्हेलर लिइरहनुपर्ने आवश्यकता रहँदैन ।

दमका बिरामीबाहेक अस्पताल आउने अन्य बिरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका बिरामी बढी आउने गरेका छन् । रुघाखोकीका बिरामी अत्यधिकरुपमा बढेको छ । बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चासमेत बिरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका बिरामी अत्यधिक बढेका छन् ।

(लेखक डा. थापा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका बाल, एलर्जी तथा दमरोग विशेषज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्