तेमालका बासिन्दाको स्वास्थ्य र पोषणप्रति सिंगापुर रेडक्रस र प्रारम्भ नेपालको चिन्ता



तेमाल, काभ्रे

जनस्वास्थ्य नै मानव जातीको ठूलो धन हो भन्ने बुझेको सिंगापुर रेडक्रसका टोली नेपालमा आई स्वयंसेवी रुपमा तेमाल गाउँपालिका वडा नं ७ स्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी अभिभावकका माझ पोषण, व्यक्तिगत सरसफाइ, स्यानिटाइजरको प्रयोग, उच्च रक्तचापको परिक्षण, स्वच्छ पिउने पानीका लागि प्रयोगात्मक अभ्यास सिकाए ।

सिंगापुर रेडक्रसबाट स्वयंसेवकका रुपमा नेपाल आएका सिंगापुरका स्वयंसेवक र प्रारम्भ नामक सामाजिक संस्थाको संयुक्त आयोजनामा सोमबार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, शिक्षक, अभिभावकलाई दाँत माझ्ने सही तरिका, हात धुने तरिका, व्यक्तिगत सरसफाइ र समय समयमा उच्च रक्तचापको परीक्षण गरी समयमै उपचार गर्न सिकाएका थिए । तेमाल गाउँपालिका उच्च भूभागमा अवस्थित रहेकाले खानेपानी र सिँचाइमा समस्या भएका कारण यहाँका बासिन्दाले पर्याप्त मात्रामा पानीको प्रयोग गर्न कठिन भएको र सुनकोशीबाट लिफ्ट गरी पानी बस्ती भन्दा माथि  डाँडामा जम्मा गरी  हप्तामा एक वा दुई दिन वितरण गर्दै आएकोले विद्यालयमा पर्याप्त पानी नभएको विद्यालयका प्रधानाध्यापक प्रेम लामा बताउँछन्  । उनी भन्छन् –यहाँको समस्या बुझेर सिंगापुर रेडक्रसले सिंगापुरबाटै उच्च गुणस्तरको फिल्टर ल्याई विद्यालयमा जडान गरिदियो । अबका दिनमा यहाँका बालबालिकाले सुद्ध पानी पिउन पाउनेछन् ।

नेपालमा स्वयंसेवी रुपबाट सघाउन आएका टोली प्रमुख मुसिन म्याक ह्याण्डसमले सिंगापुर रेडक्रसलाई यो अवसर दिएकोमा  धन्यवाद दिंदै  हामीले दिएका सामग्री पक्कैपनि उपयोगी हुनेछ । हाम्रो सहयोग यो नै अन्तिम नभै आगामी दिनमा पनि निरन्तर रहनेछ भने  । उनको साथमा चेन केहिन, गेराल्डिन एगारेओ, सिवास्टेन (अनिता रोज), अनिशा विन्ता, टान किन्निथ, प्रिभिन सुरज सन्त कुमारसहित सात सदस्यीय सिंगापुर रेडक्रसका स्वंयमसेवकको टोलीको सहभागीता रहेको थियो । साथै अमेरिकामा मनोचिकित्सा बिषयमा अध्ययन गरी  नेपाल आएका  डा.प्रतिभा श्रेष्ठले अभिभावक र शिक्षक, कर्मचारीलाई समेत पोषण, उच्च रक्तचाप, मधुमेह लगायतका दिर्घरोग र यसका जोखिमबारे अभिमुखीकरण गराएको प्रारम्भका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी दिइन् ।

उक्त कार्यक्रममा सिंगापुरबाट आएको टोलीले साना साना बालबालिकाहरुलाई दाँतको महत्त्व र हरेक दिन खाना खाएपछि बिहान र बेलुका २ पटक २ मिनेट लगाएर माथिबाट तल र तलबाट माथि गरेर दाँतमा अड्किएको खानेकुरालाई दाँत माझेर सफा गरी  दाँतलाई सफा राख्न सिकाएका थिए ।

 उक्त सिकाइलाई मनोरोग विशेषज्ञ डा. प्रतिभा श्रेष्ठ र नर्स मनिषा श्रेष्ठले नेपाली भाषामा उल्था गरी  सहजीकरण गरेका थिए । साथै बालबालिकाहरुलाई दाँत माझ्ने ब्रस, मन्जन, हातधुने साबुन उपलब्ध गराइएको थियो । साथै अभिभावकहरुलाई भने स्वास्थ्य शिक्षा दिनुका साथै डा. प्रतिभा र नर्स मनीषाका साथ स्थानीय स्वास्थ्य केन्द्रका इन्चार्ज सिमा कुमारी मण्डललगायतले स्वास्थ्य परीक्षण गरी उच्च रक्तचाप, मधुमेह भएर आत्तिनु पर्दैन नियमित औषधि खाएर नियन्तण गरी अपांगता हुन बाट जोगिने कुरा सिकाएका थिए । उच्च रक्तचाप, मधुमेहको औषधि खाएका बिरामीले चिकित्सकको सल्लाह नलिई औषधि खान छोड्नु हुन्न त्यसो गर्दा अन्य जति समस्या हुन सक्ने जानकारी गराएका थिए ।

संस्थाले अभिभावकलाई सातु लगायतका पोषण सामाग्री र विद्यालयको पुस्तकालयको लागि पुस्तकहरु सहयोग गरेको छ । सो विद्यालय र वडा कार्यालयको लागि १-१ वटा र स्वास्थ्यचौकीको लागि १ वटा गरी ३ वटा झन्डै ८ लाख बराबरको फिल्टर र चापाखोरी स्वास्थ्य चौकीका लागि रक्तचाप नाप्ने ५ वटा डिजिटल मेशिन उपलब्ध गराई सहयोग गरेको कल्पना क्षेत्रीले जानकारी गराइन् ।

त्यसैगरी उक्त संस्थाले बुधवार पनौती १० स्थित श्रीराम माध्यमिक विद्यालय र नगर अस्पताललाई पनि यस्तै सामग्री सहित सहयोग गर्दैछ । प्रारम्भ नेपाले २०७२ साल देखि सिंगापुर रेडक्रससंगको सहकार्यमा नेपालमा आएका विपद् महाभुकम्प, कोभिड १९, २०८० को जाजरकोटको भूकम्प, हुम्लामा ५ हजार भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण, शल्यक्रिया, आवश्यक औषधि उपलब्ध गराउने जस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।

उक्त कार्यक्रममा तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष इन्द्रलाल तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संग्रामजित लामा, प्रधानाध्यापक प्रेम लामा लगायतले वडाका बासिन्दा र विद्यालयको लागि गरेको स्वास्थ्य सम्बन्धी उपकरण तथा सहयोग प्रति खुसी व्यक्त गरे । त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष ईश्वरी ओझा, समाजसेवी रमेश तामाङलगायतले प्रारम्भ र सिंगापुर रेडक्रसले नेपालमा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबारे मुक्तकण्ठले प्रशंसा  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्