गोरखाकी सियोना लिटल मिस एन्जल २०२४



काठमाडौं ।

राजधानीमा हालै आयोजित लिटल मिस एन्जल २०२४ को उपाधि गोरखाकी १२ वर्षीया सियोना श्रेष्ठले जितेकी छन्। कलस इभेन्ट्सद्वारा गत शनिबार राजधानीको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित अन्तिम स्पर्धामा मेरिडियन इन्टरनेसनल स्कुल कक्षा ७ मा अध्ययनरत सियोनाले उपाधि चुमेकी हुन्।

प्रतियोगिताका प्रमुख निर्णायक रामेश्वर श्रेष्ठले अन्तिम स्पर्धाका उत्कृष्ट सातलाई गरेको अन्तिम प्रश्न ‘ग्लोबल वार्मिङ कम गर्न तपाईंको भूमिका कस्तो रहनेछ?’ भन्ने प्रश्नमा ‘ग्लोबल वार्मिङ कम गर्न घरमै उर्जा बचत गर्नु, हानिकारक तथा नकुहिने बस्तुको कम प्रयोग, पुनः प्रयोग र मर्मतमा मेरो भूमिका रहनेछ’ भन्ने उत्तरले सबैको ध्यान खिचेको थियो। विजेता बनेसँगै सियोनाले नगद १० हजार रुपियाँका साथमा आकर्षक पुरस्कार प्राप्त गरेकी छन्।

प्रतियोगितामा अन्नपूर्ण माध्यमिक विद्यालय ज्याठा कान्तिपथकी न्हुजला मानन्धर फस्ट र विसडम एकेडेमीकी सौन्दर्या अधिकारी सेकेन्ड रनर्सअप भए। उनीहरूले पुरस्कारपावत क्रमशः आठ हजार र हजार रुपियाँ नगदका साथमा विभिन्न आकर्षक पुरस्कार प्राप्त गरेका छन्।

नाटककार अषेश मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न स्पर्धामा सायरा महर्जन मिस क्रिएटिभ, वर्षा गुरुङ मिस कल्चर, कृतिका राजभण्डारी मिस ट्यालेन्ट, ग्रेसी गुरुङ मिस मल्टिमिडिया, सहारा कार्की मिस फोटोजेनिक, मेजना महर्जन मिस डिसिप्लेन, रियांसी शाह मिस इन्टेलिजेन्ट, प्रतीक्षा बल मिस एकेडेमिक, सूर्यान्सी विष्ट मिस पर्सनालिटी, प्रशान्ति चन्द ठकुरी बेस्ट स्माइल, ब्रिसा श्रेष्ठ मिस फ्रेन्डसिप, आर्जबी श्रेष्ठ मिस लिडरसिप र आर्या महर्जन मिस येथ्लिट उपाधि विजेता भए।

कुल ३९ प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगीतामा शिक्षाविद् राजेश्वरमान श्रेष्ठ, गायिका अन्जिला श्रेष्ठ र मिस युनिभर्स स्टार,मोडेल तथा नायिका सृष्टि महर्जन निर्णायक रहेका थिए।

कार्यक्रमका सहभागीहरू युवा उद्यमी दिलमाया मगरद्वारा सञ्चालित एमकेएम फेसन हाउसका २१ उत्कृष्ट सिर्जनात्मक डिजाइनरले तयार पारेको आकर्षक पहिरनसहित र्‍याम्पमा उत्रिएका थिए। रोहिया मर्हजनको कोरियाग्राफी रहेको समारोहमा सितु महर्जनको नृत्य निर्देशनमा प्रतियोगीले स्वागत नृत्य प्रस्तुत गरेका थिए। आयोजक कलश इभेन्ट्सकी प्रबन्ध निर्देशक वर्षा महर्जनले प्रतियोगीहरूको व्यक्तित्व र आत्मविश्वास वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्