अनुदान रकममा विभेद, तिनाउ गाउँपालिकामा किसानले बुझाए ज्ञापनपत्र



बुटवल   ।

पाल्पाको तिनाउ गाउँपालिकाका किसानहरुले गाउँपालिकाले प्रदान गर्ने अनुदान बापतको रकम किसानले नपाएको र अनुदान रकममा विभेदकारी नीति अवलम्बन गरिएको भन्दै पालिकामा धर्ना सहित ज्ञापन पत्रबुझाएका छन् ।

पालिकाको संयोजनमा बुटवलमा स्थापना भएको कृषि उपज संकलन केन्द्र भन्दा बाहिर विक्रि गर्ने किसान उत्पादनमा आधारित अनुदानमा नसमेटिएको, समयमा नै मल, विउ र कृषि प्राविधिक नपाएको भन्दै आईतबार तिनाउ गाउँपालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएका छन् । तिनाउ गाउँपालिका वडा नम्बर ६ का पुग्दी, कालीमाटी, कराङतुङ्ग, कारवानी, पाटन, डानीगैडा लगायतका स्थानबाट आएका किसानले गाउँपालिका उपाध्यक्ष लालबहादुर थापालाई ज्ञापन पत्र बुझाएका हुन ।

तिनाउँ गाउँपालिका वडा नम्बर ६ पुग्दी का अगुवा किसान रेवन बहादुर कुँवरले पालिकाले बुटवलमा संकलन केन्द्रको संयोजन गरेपनि संकलन केन्द्रमा तरकारी विक्रि गर्दै आएका किसानबाट उल्टै सेवा शुल्क मार्फत प्रतिकिलो ४ रुपैयाँ लिदै आएको गुनासो गर्नु भयो । उहांले संकलन केन्द्रमा कृषि उपज विक्री नर्गर्नेलाई पनि अनुदानको व्यवस्थागर्न माग गर्नु भयो ।

पालिकाका उपाध्यक्ष लाल बहादुर थापाले अहिले पालिकाले बुटवलको हाटबजारमा रहेको दुइवटा सटर भाडामा लिएर त्यहाँ किसानहरुबाट नै समिति निर्माण गरी व्यवस्थापन हुँदै आएको बताउनु भयो । पालिकाको कार्यविधि अनुसार उत्पादनमा आधारित अनुदान दिनको लागि विक्रि वा खरिद विविरण आवश्यक पर्ने भएको कारण सोही अनुसार विवरण राख्ने काम गरेको बताउनु भयो। किसानको मागको सम्बन्धमा कार्यपालिकाको वैठकमा राखेर छलफल गरी निष्र्कषमा पुग्ने बताउनु भयो ।

किसानहरुले पालिकाले हालै मात्र सार्वजनिक गरेको उत्पादनमा आधारित अनुदानको विवरणमा आफ्नो सामान उल्लेख नगरेको कारण संकलन केन्द्रले लापरवाही गरेको गुनासो गरेका छन् । पालिकाका प्रमुख प्रसासकीय अधिकृत लेख बहादुर बस्नेतले किसानले उत्पादन गरेको तरकारीको उत्पादनमा आधारित अनुदानको लागि विक्रि गरेको विवरण राख्नको लागि सफ्टवेर नै जडान गरेर यो विषयमा काम भैरहेको जानकारी दिर्नु भयो ।

पालिकामा हाल ३ सय १८ जना किसानहरुको विवरण संकलन भएको जानकारी दिदै छुट भएका किसानको आवश्यक निवेदनको आधारमा ढड्डाबाट विवरण संकलन गरी अनुदान दिने बताउनु भयो । विगत २ बर्ष देखि यो अभ्यास भएको भएपनि हाल सम्म किसानले अनुदानको रकम प्राप्त गरेका छैनन ।

गत वर्षका २ सय ७२ जना र यस वर्षका ३ सय १८ जना किसानलाई अनुदान दिने तयारी पालिकाले गरेको छ । गत वर्षका लागि किसानको कुल विक्री मुल्यको १० प्रतिशत र यस वर्ष कुल विक्रीको ५ प्रतिशतका दरले अनुदानबापतको रकम किसानलाई दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्