वीर अस्पतालका निर्देशक डा.पौडेलकाे नाममा अख्तियारमा उजुरी



काठमाडौं  । 

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले नियमविपरीत औषधि पसल दर्ता गरि सन्चालन गरेकाले छानबिन गरी कारवाही गरी पाउ भनी वीर अस्पतालका कर्मचारीले प्रधानमन्त्री,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्र लगायतका निकाय समक्ष निवेदन दिएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चि वि रा प्र) वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल (कर्मचारी संकेत न १९३४०१) सह– प्राध्यापक वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन अधिकृत दशौ तहका कर्मचारी हुनुहुन्छ । उंहाले नेपाल सरकारको कर्मचारी अर्थात वीर अस्पताल को निर्देशक जस्तो जिम्मेवार पदमा बसेर स्वास्थ्य सम्मन्धि व्यापार ब्यवासाय, कम्पनी दर्ता गरि सन्चालन गर्नु गैरकानूनी भएको निवेदनमा उल्लेख गरिएको छ ।

डा.पौडेलले नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९ विपरीत, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को विविध नियम ११२ विपरित , निजामती ऐन २०४९ दफा ४८ (क) मा कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्टेशन वा सञ्चालनको काममा भाग लिन नहुने भन्ने रहेको भएपनि सो विपरित फार्मेसी आफ्नै नाममा दर्ता गरिएकोले कानून विपरित भएको दाबी छ ।

निजामती सेवा नियमावली २०५० को नियम ११७ विपरीत, भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा गैरकानुनी व्यापार ब्यावसाय गर्ने राष्ट्र सेवकलाई आफ्नो वा अरुको नाममा कुनै फर्म वा कम्पनी वा संस्थाको हिस्सेदार भएमा कसुर अनुसार कैद वा जरिवाना हुने ब्यवस्था छ । उहाँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सह प्राध्यापक ( शिक्षक) पनि हुनुहुन्छ सो कारण प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०९ ले पनि उहाँले दर्ता गरेको फार्मेसी नियम विपरीत र गैरकानुनी भएको उजुरीमा उल्लेख गरिएको छ ।

डा. सन्तोष पौडेल अल्का हस्पिटल फार्मेसी प्रा लि को शेयर सदस्य/ सञ्चालक/अध्यक्ष रहेको छन् । ( प्रा .लि दर्ता . न २४८७८२/०७७/०७८) कम्पनी रजिस्ट्रार कार्यालयलाई २०७९-९-१ गते सञ्चालक -अध्यक्षको रुपमा बुझाएको प्रमाणित कागजपत्रमा कास्की जिल्ला अन्नपूर्ण गांउपालिका वडा न ३ का पुन्य प्रसाद पौडेलका छोरा सन्तोष पौडेल ( ना. प्र . न १०६६२८ जि . प्र . का. कास्की ) ले अल्का हस्पिटल फार्मेसीमा शेयर संख्या कित्ता न ३७००१ देखि ७४००० सम्म जम्मा ३७००० कित्ता शेयर रहेको उल्लेख गरेकोछ । जसको रकम ३७ लाख रहेको छ । पुन कम्पनी रजिस्ट्रार कार्यालयलाई मिति २०८०-०५-१४ गते अध्यक्षको रुपमा हस्ताक्षर सहित पेस गरेको शेयर लागतमा सन्तोष पौडेलको शेयर कित्ता नम्बर देखि ३७००१ -१७४००१ सम्म ७४०००-२४८००० जम्मा ३७ लाख (मिति २०७९-९-१मा ) र ७४००००० ( मिति २०८०-५-११) रहेको देखिन्छ ।

अल्का हस्पिटल फार्मेसी प्रा लि को २०७९ साल पौष ३ गते बसेको बैठकमा उहाँ सन्तोष पौडेल सञ्चालक-शेयरधनि भनेर उपस्थितिमा नाम छ । बैठकले विभिन निर्णयहरु गरेको छ । मिति २०७९-९-२८ गतेको बैठकमा पनि उहाको नाम रहेको छ सञ्चालक ÷ शेयरधनीको रुपमा छ ।

सोही बैठकले अल्का हस्पिटल फार्मेसी प्रा लि ले कम्पनि रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने कम्पनी ऐन २०६३ को दफा ५१.३ बमोजिमको बिवरण को( ञ) मा बहालवाला सञ्चालकको नाम ठेगाना को १ न . मा श्री सन्तोष पौडेल संञ्चालक – शेयरधनि , ठेगाना: कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा न ३ भनी प्रमाणित पत्र कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको छ । मिति २०७९-०८-२८ गते अल्का फार्मेसीले कम्पनी ऐन २०६३ को ९२(१) संग सम्बन्धित विवरणमा पेश गर्ने विवरणमा १ न मा श्री सन्तोष पौडेल नाम संञ्चालक-शेयरधनीको रुपमा र उनकै ठेगान उल्लेख छ ।

मिति २०८०-९-६ गते फार्मेसी प्रा लि को संचालक समितको बैठक प्रा लि का अध्यक्ष सन्तोष पौडेल को अध्यक्षतामा बसेको र विभित्र निर्णय भएको देखिन्छ । मिति २०८०-९-२६ गते अल्का हस्पिटल फार्मेसी प्रा लि को बार्षिक साधारण सभाको विवरण प्रा लि का अध्यक्ष श्री सन्तोष पौडेलको अध्यक्षतामा कम्पनी रजिस्ट्रार कार्यालयमा बसि विभिन्न निर्णय गरेको देखिन्छ । निर्णयमा सन्तोष पौडेलले प्रमाणित गरेका छन । सोही मितिमा ( २०८०-०९-२६ )कम्पनी ऐन २०६३ को दफा ५१.२ संग सम्बन्धित प्रतिवेदन, रजिस्ट्रार कार्यालयमा बुझाउदा विभिन्न विवरण पेश गरेका छ जसको ११ नम्बरमा वहालवाला सञ्चालकको नाम र ठेगाना उल्लेख छ ।

जसमा तीन जना सन्चालक रहेको देखिन्छ । जसको २ नम्बर मा सन्तोष पौडेलको नाम र ठेगाना छ सो पत्र प्रमाणित सन्तोष पौडेललेनै गरेको देखिन्छ । सोही मितिमा अल्का फार्मेसीको बार्षिक साधारणसभा अभिलेख अध्याबधिक गरि पाउ भनी आवश्यक कागजात राखि कम्पनी रजिस्ट्रार कार्यालयको रजिस्टारको नाममा कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वर काठमाडौमा निवेदन दिएको छ ।

जसमा अध्यक्ष सन्तोष पौडेलले हस्ताक्षर गरेको छ । यी यी सबै प्रमाणका आधारमा डा.पौडेलले गैरकानुनी रुपमा सरकारी कर्मचारी र अस्पताल प्रमुखले गर्ने नहुने काम गरेकाले तत्काल निलम्बन गरि छानबिन र कारवाहिको लागी अनुरोध गर्दछौ २०८१ जेठ २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय लगायतका सरोकारवाला निकायका नाममा वीर अस्पतालका कर्मचारीले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्