मलाइका र अर्जुन अलग



एजेन्सी

बलिउड फिल्म नगरी प्रायः दिनहुँजसो नयाँ नयाँ खबरले तातिरहेको हुन्छ। विश्वको दोस्रो ठूलो फिल्म नगरीमा चर्चा भने फिल्मभन्दा बढी अभिनेता अभिनेत्रीको व्यक्तिगत जीवन, फेसन, माया प्रेम र ब्रेकअपका खबरको हुने गर्छ। पछिल्लो समय बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएको खबरले बलिउड तातेको छ।

भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार उनीहरूले आफ्नो सात वर्षसम्मको प्रेम टुंग्याएका छन्। हालैमात्र मलाइकाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छन्, जसमा उनले विश्वको सबैभन्दा ठूलो धन आफूलाई माया र सहयोग गर्ने मानिस भएको उल्लेख गरेकी छन्।

साथै उनले यस्ता मानिसलाई किन्न वा विस्थापित गर्न नसकिने र हरेक मानिससँग केही मात्रामा यस्ता खालका मानिस हुनेसमेत लेखेकी थिइन्। अभिनेता अर्जुनले पनि हामीसँग जीवनमा दुई विकल्प हुन्छन् : विगतको बन्दी भएर बस्ने कि भविष्यका सम्भाव्यता खोज्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनीहरूबीचको विछोडको आंकलन गर्न थालिएको छ।

हुन त यसअघि पनि अर्जुन र मलाइका अलग भएको खबर फैलिएको थियो। अर्जुनले सोसल मिडिया इन्फुलुएन्सर कुशा कपिलास“ग डेट गरिरहेको खबर सञ्चारमाध्यममा आए पनि कुशाले आफूहरूबीच त्यस्तो केही नरहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। त्यस्तै, अर्जुनले मलाइकाको जन्मदिनको शुभकामनासहित तस्वीर सेयर गरेपछि ब्रेकअपको हल्ला कम भएको थियो। तर, आफूहरूको सम्बन्धबारे मलाइका र अर्जुनले आधिकारिक बोलेका छैनन्।

उनीहरूले सन् २०१९ मा अर्जुन कपुरको जन्मदिनमा आफ्नो सम्बन्धबारे सार्वजनिक गरेका थिए। त्यतिबेला उनीहरूको उमेर अन्तरको पनि खुबै चर्चा भएको थियो। हाल मलाइका ५० वर्षकी भइन् भने अर्जुन ३८ का हुन्।

सोभन्दा अघि अभिनेता सलमान खानका भाइ अरवाज खानका साथ विवाह गरेकी मलाइकाले सन् २०१७ मा अरवाजका साथ १९ वर्षे वैवाहिक जीवन पूर्णविराम लगाएकी थिइन्। जुनबेला अर्जुनकै लागि मलाइकाले वैवाहिक सम्बन्ध बिगारेको भन्ने हल्ला बलिउडमा थियो। अरवाजबाट मलाइकाको एक छोरा अरहान रहेका छन्।

प्रतिक्रिया दिनुहोस्