पुस्तक चर्चा : सामाजिक घटनाको नवीन विश्लेषण दृष्टिपथ

1.2k
Shares

लाखौँ वर्षको सङ्घर्षबाट मानवजीवन अहिले आधुनिक र सुविधासम्पन्न बन्न सफल भएको छ । मानव पिँढी दिन–प्रतिदिन आफैँमा अभ्यस्त बनिरहेको छ। आजभन्दा ५० वर्ष मात्र पछाडि फर्केर हेर्ने हो भने मानवजीवन शान्त र सौम्य मात्र नभई त्यत्तिकै सामाजिक र सिर्जनशील थियो। ५० वर्षको अन्तरालमा मानव समुदायमा जुन किसिमको परिवर्तन देखा परेको छ, यो अविश्वनीय छ । तथापि, यसलाई हामीले स्वीकार गर्नुपर्ने बाध्यता छ।

दृष्टि एउटा यस्तो दिव्य शस्त्र हो, जसको वर्णन गर्ने सामथ्र्य शब्दहरूसँग हुँदैन । जस्तो दृष्टि उस्तै सृष्टि– यो उखान नेपाली समाजमा लामो समयदेखि चरितार्थ बनेको छ। जीवनको एउटा लक्ष्य यो हुनुपर्छ कि दृष्टिविहीनलाई बाटो देखाउन सक्नुपर्छ भने जीवनको अर्को लक्ष्यमा दृष्टि भएर खुल्न नसकेका नयनहरूलाई खुलाउने आँट राख्नुपर्दछ। गोपिराम भण्डारीकृत ’दृष्टिपथ’ एक सामाजिक यथार्थवादी धारमा लेखिएको मौलिक उपन्यास हो। यसले प्रत्येक दिन नवीन एवम् व्यस्त बन्दै गएको मानव समुदाय र मानिसको सामाजिक जीवनलाई सम्बोधन गरेको छ । यो आख्यानको शीर्षकले दुईवटा कुरालाई सम्बोधन गर्दछ । साधारण भाषामा दृष्टिपथले दृष्टिको फैलावट तथा आँखाअगाडि देखिएको ठाउँ भन्ने बुझाउँछ भने गहनरूपमा एवम् साहित्यिक भाषामा भन्नुपर्दा नदेखेको बाटो देखाउनु वा आफ्नै हृदय अन्तरमा दृष्टि पुर्‍याउनु भन्ने बुझाउँछ । यसर्थ यो उपन्यासले दृष्टि दिन्छ या त कुनै मार्ग देखाउँछ ।

उपन्यास कथासार :

एउटा दृष्टिविहीन बालक जो पशुपतिको छेउछाउतिर जीवन बिताइरहेको थियो । उसको जीवन बाह्य दृष्टिका हिसाबले मात्र होइन, भित्रीरूपमा समेत अन्धकारमय छ । यस्तो अन्धकारमय जीवन बिताइरहेको बालकले यो संसार देख्न सक्छु भन्ने अपेक्षा कहिल्यै राखेन । अनाथमय जीवन बिताइरहेको बालकले जीवनका सबै आयामहरूलाई अन्धकारमय देखेको छ तर एकदिन नगर प्रहरीसहित तिलगंगा अस्पतालको टोलीले बालकलाई पशुपतिबाट उठाए । पशुपतिबाट उठाइएको बालकलाई जब तिलगंगा अस्पतालमा पु¥याइयो। त्यसको केही दिनपछि बालकका निमित्त दान गरिएका आँखाले उसले यो उज्यालो संसार देख्न सक्यो । यति बेलासम्मको बेनामे बालकको नाम अब उप्रान्त त्रिनेत्र रहन गयो ।

त्रिनेत्रलाई बिस्तारै–बिस्तारै उत्सुकता लाग्यो कि जन्मदिने आमाले त मलाई पशुपतितिर छाडिन् भने म बेवारिसेलाई संसारमा सुन्दर र चहकिला आफ्ना आँखा दिने मान्छे को हो ? यही उत्सुकताले त्रिनेत्र आफूलाई आँखा दान गर्ने मान्छेको खोजीमा हिँड्यो । त्यस बखतमा त्रिनेत्रले हिमाल, पहाड, तराई नेपालको सबै किसिमको भूगोलको समेत यात्रा गर्ने अवसर पायो । विभिन्न कठिनाइका बाबजुद करिब आधा दर्जनभन्दा बढी मानिसको सहयोगमा ऊ आफूलाई आँखा दान गर्ने मान्छेको बारेमा बुझ्न सफल भयो । त्यसपछि त्रिनेत्र आफूलाई आँखा दान गर्ने टेकप्रसाद सरको घरमा पुग्यो तर उसले सरलाई भेट्न सकेन । घरमा विवश जीवन बिताइरहेकी टेकप्रसाद सरकी अर्धाङ्गिनीसँग त्रिनेत्रको भेट भयो । त्रिनेत्रले टेकप्रसाद सरकी अर्धाङ्गिनीसँग उहाँको परिवारिक जीवनका बारेमा विस्तृत जानकारी लियो । त्यसपछि सरकै खोजीमा ऊ काठमाडौँ फर्कियो ।

काठमाडौँमा टेकप्रसाद सरको खोजीका लागि धेरै कोशिश ग¥यो तर दुर्भाग्य टेकप्रसाद सरको दुःखद निधन भइसकेको रहेछ । टेकप्रसाद सरको निधन कसरी भयो र उहाँको शव कहाँ छ भनी खोज्ने क्रममा उहाँले मरणोपरान्त आफ्नो शरीर अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई सुम्पेको जानकारी पायो । टेकप्रसाद सर पेसाले शिक्षक हुनुहुन्थ्यो । शिक्षक हुँदा टेकप्रसाद सरले पहाड र तराईका केही विद्यालयमा पढाउनुभएको थियो । यसपछि टेकप्रसाद सरको शव चिरफार गर्ने चिकित्सकको खोजी कार्य शुरु गरियो । प्रकारान्तमा सरको शव परीक्षण एवम् चिरफार गर्ने व्यक्ति उहाँकै छोरा डा. बिजेन्द्र भएको पत्ता लाग्यो ।

बिजेन्द्र लामो समयदेखि घर फर्किएको थिएन र विविध कारणले उसको आफ्ना बुबासँग कुरा पनि भएको थिएन । उसले शव परीक्षण एवम् चिरफार गर्दा आँखा नभएको कक्रक्क परेको आफ्नै बुबाको अनुहार चिन्न सकेन । एउटा शिक्षक जसले जीवन अरुकै लागि व्यतीत ग¥यो र जीवनको अन्तिम घडीमा संसार हेर्ने आफ्ना चहकिला तारासँगै शरीर नै अरुलाई सुम्पियो । जसले आफ्ना सन्ततिको पढाइ र समुन्नत जीवनका लागि जीवनका हजारौँ दुःखहरूलाई सुख सम्झियो, उसैका सन्ततिले बेवास्ता गरेका छन् अनि समाजले बेवास्ता गरेको छ ।

दृष्टिपथले दिन खोजेको सन्देश :

यो पूर्णरूपमा मौलिक एवम् सामाजिक उपन्यास हो । यसले आधुनिक समाजको पारिवारिक, सामाजिक, आर्थिक अवस्था र सङ्घर्षलाई पृष्ठपोषण गरेको छ । समाजका विविध विषयवस्तुलाई सम्बोधन गरी हाम्रा वरपर छरिएर रहेका घटनाहरूलाई टपाटप टिपेर कमै पात्रका माध्यमबाट धेरै कुराहरू ओकलेको छ । यस उपन्यासले हरेक सन्ततिहरूलाई आफ्ना आमाबुबाप्रति जिम्मवार बन्न र सामाजिक व्यक्तित्वहरूको सम्मानका लागि समाज अगाडि बढ्नुपर्छ भन्ने सन्देशलाई प्रवाहीकरण गरेको छ । सन्ततिको प्रगति र खुशीका लागि आमाबुबाले आफ्नो जीवनलाई कर्कलाको पातमा राखेर नचाएको कुरा उपन्यासमा झल्किएको छ ।

प्रमुखरूपमा आधुनिक समयमा जसरी सन्ततिहरू आफ्नो जीवन सम्पन्न बन्ने अवस्था पुगेपछि तथा सुविधा सम्पन्न बनिसकेपछि आफ्ना आमाबुबालाई बिर्सिरहेका छन् वा भनौँ आफ्नो युवावस्थासम्म उनीहरू आफ्ना आमाबुबालाई सबैथोक प्रदान गर्ने मेसिन सम्झिरहेका छन् । यस्तो किसमको सोचबाट मुक्त भई अगाडि बढ्नुपर्छ भन्ने सन्देश दृष्टिपथले दिएको छ । सहायकरूपमा समाजमा भएका सबै मानिसहरू यसै समाजका हिस्सा हुन्, उनीहरूप्रति समाजको अग्रपङ्क्ति सदैव जिम्मेवार बन्नुपर्दछ । घरपरिवार एवम् समाजमा उत्पन्न भएका सबै किसिमका समस्याहरू आम मानव समुदायबाट सिर्जित हुन् । यसर्थ ती समस्याहरूको निराकरण पनि मानव समुदायले नै गर्नुपर्छ भन्ने सन्देश उपन्यासले दिन खोजेको छ ।

पठनका हिसाबले कस्तो छ त दृष्टिपथ ?

पाठकीय मत राख्नुपर्दा दृष्टिपथ पठनीय पुस्तक छ । यसमा प्रयोग भएको भाषाशिल्प सरल र सरसयुक्त छ । सरल ढङ्गले लेखिएको यो उपन्यासमा पात्र चित्रण, परिवेश एवम् चिन्तनको संयोजन चाखलाग्दो हिसाबले गरिएको छ । थोरै पात्रका माध्यमबाट अथाह सन्देश व्यक्त गर्ने चेष्टा सर्जकले गरेका छन्। उपन्यासका हरेक पङ्क्तिहरू रोचक छन्। घटनाहरूलाई आवेग, गाम्भीर्यता, प्रेम र सौन्दर्यताको प्रयोग गरेर सुन्दर बनाएको छ। कथाको आवश्यकताअनुसारका पात्र र पात्रअनुसार चरित्र निर्माण गरी उपन्यास लेखिएको छ।

उपन्यास कत्ति पनि बनावटी छैन। बरु यो उपन्यास यही समाजका कोही न कोही वास्तविक पात्रको रचिएको हो भन्ने आभास हुन्छ। यो कृति पढ्दा कत्ति पनि द्विविधा उत्पन्न हुने अवस्था छैन। बरु पुस्तक पढ्न थालेपछि बीचमा छोड्न मन नलाग्ने किसिमको छ। यस कृतिलाई पढ्ने जोसुकै पाठकको मन यसले चुम्बकले झैँ टिप्ने देखिन्छ। सरल शब्दको प्रयोगबाट हृदयको झङ्कार ओकल्ने यो उपन्यास पढ्दा कुनै चलचित्र हेरेको आभास पाठकलाई हुन सक्छ । पढ्दै जाँदा यसले धेरै ठाउँमा चलचित्र हेरेको दृश्य पैदा गरिरहेको छ । यसर्थ पाठकीय हिसाबले यो एक सफल कृति हो ।

समग्रमा दृष्टिपथ नेपाली साहित्यमा अहिलेसम्म कतिपय लेखिएका त कतिपय नलेखिएका विषयवस्तु समेटेर लेखिएको उपन्यास हो । यो हाम्रै समाजको सामाजिक घटनाको नवीन तवरले विश्लेषण गरिएको सामाजिक एवम् मौलिक उपन्यास हो। पात्र चयन, परिवेश चित्रण, अभिव्यक्तिको माध्यमलगायतका महत्वपूर्ण पक्षहरू कोमल ढङ्गले महत्वका साथ लेखिएको भए तापनि पात्रको चरित्र चित्रण एवम् भाषिक सम्पादनमा सर्जक कहीा–कहीँ चुकेका देखिन्छन्। हाम्रो समाजका जीवन्त सामाजिक घटनाहरूलाई उत्तर आधुनिक एवम् नवीन तवरबाट विश्लेषण गरिएको सम्भवतः यो नै पहिलो कृति हो।