सशस्त्र प्रहरिद्वारा २४सै घण्टा तैनाथ रहने गरी डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन 



काठमाडाैं । 
सशस्त्र प्रहरी बल नेपालले २४सैं घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ ।
मनसुनको समयमा बाढी, पहिरो, डुवान एवं विपद्मा परेकाहरुको तत्कालै उद्वारको लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरुमा सिनियर अफिसरको कमाण्डमा माईनस प्लाटुन तथा अन्य युनिटहरुमा १ सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको हो ।
प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७र७ प्लाटुन, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं.९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले ३ प्लाटुन जनशक्ति चौविसै घण्टा खटाउन सक्ने गरी तयारी हालतमा राखेका छन् । सबै बाहिनिका गरि ५० वटा टोलि अहिले बिपद प्रतिकार्य र बिपद् जोखिम न्युनिकरण सचेतनाका लागि फिल्डमा खटाइएको छ ।
डेडिकेटेड मनसुन प्रतिकार्य टोलीले प्रदेश, जिल्ला तथा स्थानीय तहहरुमा रहेका आपतकालिन कार्य संचालन केन्द्र, विपद् व्यवस्थापन समिति एवं अन्य विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यमा विपद् व्यवस्थापन प्रतिकार्य गर्नेछ ।
सो टोलीले आफ्नो जिम्मेवारी ईलाकामा पर्ने जोखिमयुक्त स्थान तथा वस्ती लगायत अन्य महत्वपूर्ण संरचना जस्तै पुल, कलभर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपद्को समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्था समेत मिलाईएको छ  । साथै बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्महरुमा सिनियर अधिकृतको कमाण्डमा र बिओपी तथा बेशहरुमा जुनियर अधिकृतको कमाण्डमा विपद् व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्था समेत मिलाईएको छ ।
यसका साथै सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेभि ईक्युमेन्टहरु, डिजास्टर रिलिफ सिष्टम कन्टेनर र मास क्याज्यूल्टी भेहिकल समेत तयारी हालतमा राखिएको छ । बाढी, पहिरो, डुवानका घटनाहरुलाई लक्षित गरी सबै बाहिनी मुख्यालयहरुले मातहतलाई समेटी मनसुनजन्य विपद् प्रतिकार्य पूर्व अभ्यास समेत संचालन गरेका थिए । यसका साथै जोखिमयुक्त ठाउंहरुमा बिपद् सचेतना कार्यक्रम समेत संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्