‘मेनपावरको ठगी धन्दा अन्त्य गर्न विशेष योजना लिएर आउँदैछौँ’

308
Shares

रोजगारदाता र रोजगार खोज्नेको दूरी हटाउने भन्दै सरकारले जेठ १७ देखि ३० गतेसम्म श्रमाधान रोजगार मेला सञ्चालन गरेको छ। नेपालमा बेरोजगारको दर झनझन् बढ्दै छ । भएका उद्योग बन्द हुने क्रम छ । स्वदेशमै कसरी जनशक्तिलाई टिकाउने, रोजगारका नयाँ गन्तव्य कहिले चयन हुन्छ, मन्त्रीका आउँदा योजना कस्ता छन् जस्ता विषयमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग नेपाल समाचारका भवनाथ प्याकुरेलले गरेको कुराकानी ।

तपाईंले श्रम मन्त्रालय सम्हालेपछि गरेका नयाँ काम के कस्ता छन् ?

म आउनुभन्दा अगाडि नै कल सेन्टर सञ्चालनमा रहेको थियो । त्यो कल सेन्टर नाम मात्रको थियो। त्यसलाई स्तरीय बनाउनुपर्‍यो भनेर ‘श्रमाधान’ कल सेन्टर भनेर नामाकरण गरी श्रमसँग सम्बन्धित सबै समस्याको समाधान गर्ने उद्देश्यले व्यवस्थितरूपले सञ्चालन गरिएको छ। ‘श्रमाधान’ कल सेन्टरले एकदमै प्रभावकारी तरिकाले काम गरिहेको छ । कल सेन्टरमा भाइबर, ह्वाटस्याप, इमो, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत विदेशमा रहेका नेपालीले आफ्ना सूचना रेकर्ड गराउन सक्नुहुनेछ । नेपालभित्र भने एनसेल र एनटिसी ११४१ नम्बरमा कल गर्नसक्ने व्यवस्था मिलाएका छौँ । यस नम्बरमा कल गर्दा पैसा लाग्दैन । अझ यसलाई व्यवस्थित गर्न जनशक्ति र सूचना प्रविधिलाई व्यवस्थित बनाइ काम गर्नुपर्नेछ । सबै सूचना एकैठाउँमा आएपछि सम्बन्धित निकायमा पठाउने व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गरिएको छ । अर्को विषय भनेको नेपालीहरूको विदेश जानुपर्ने बाध्यात्मक अवस्था छ । यसलाई अन्त्य गर्ने हाम्रो लक्ष्य हो । अन्त्य नहुनजेलका त्यसलाई त व्यवस्थापन, नियमन, सुरक्षित गर्न लागेका छौँ । विदेश जानुअगाडि श्रम स्विकृति लिनुपर्दछ । त्यो श्रम स्विकृति वैदेशिक रोजगार कार्यालय ताहाचलबाट लिनुपर्दछ । त्यो लिँदा ७ देखि १४ दिनसम्म लाग्ने गर्दथ्यो। कतिपयले आर्थिक चलखेल भएको भन्ने गुनासो गर्नुभयो । त्यसमा हामीले १० दिनजति अध्ययन गरेका थियौं । अध्ययनपछि समाधान गर्न सकिन्छ भन्ने लागेपछि आफ्नो सम्पूर्ण कागजात पेस गरेको १ घण्टामा श्रम स्विकृति पाउने गरी काम गरेका छौँ । अहिले सूचना प्रविधिमा नै स्नातकोत्तर गरेका सहसचिव पठाएर काम भइरहेको छ । कामलाई प्रविधिमैत्री बनाएर काम गर्न लागेका छौँ । त्यसैगरी अन्य थुप्रै काम गरेका छौँ । श्रम बजारमा सकारात्मक प्रभाव परोस् भन्ने उद्देश्यले दूरगामी प्रभाव पार्ने कानुन परिमार्जन गरेका छौँ । हामीले राम्रा कानुनलाई चलाएका छैनौं । परिवर्तन गर्नुपर्ने कानुनलाई मात्र परिवर्तन गरेका छौं । त्यसैगरी जेठ १७ गतेबाट श्रमाधान रोजगार मेला शुरू गराएका छौँ । यो मन्त्रालयका लागि पहिलो र नयाँ कार्यक्रम हो । संघीय र प्रदेशका मन्त्रालय, स्थानीय सरकार, निजी क्षेत्रले सहयोग गर्नुभएको छ । सबैको सहयोगबाट विराटनगरबाट कार्यक्रम शुरू गरेका छाँै । जेठको ३० गते ललितपुरको पाटन बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम गरेर समापन गर्ने कार्यक्रम रहेको छ ।

श्रमाधान मेलाको उद्देश्य के कस्ता छन् ?

नेपालमा आन्तरिक रोजगारी र स्वरोजगारको बहस गर्न थालेका छौँ । तर, त्यो सम्भावना छ भन्ने विषयमा काम गरेका छैनौँ । श्रम मेलाले नेपालमा रेहका रोजगारदाता कम्पनी र रोजगारीको खोजीमा रहेका नागरिकलाई मिलन गर्ने काम गर्नेछ । नेपालमा कस्ता कम्पनी छन् र कस्ता काम दिन्छन्, कस्तो तालिम दियो भने काम पाइन्छ, हाम्रो तयारी के गर्नुपर्ने हो भन्ने रोजगारदाता र बेरोजगार रहेका नागरिकको सूचना लिने माध्यम मेलाले गर्नेछ । हामीले ७ प्रदेशमा गरेको कार्यक्रमबाट नागरिकले रोजगार पाउनु हुनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ । हामीले बेरोजगारीहरूको तथ्यांक संकलन गर्ने कार्य गरिरहेका छौँ । https://shramadhan.moless.gov.np/rojgarmela/ ठेगानामा गएर आफ्नो फारम भर्न सक्नुहुनेछ ।

मन्त्रालयले बेरोजगारी र रोजगारदाता कम्पनीबीच मिलन गराइदिन लागेको हो ?

अहिले रोजगार मेलाका लागि वेवसाइड बनाएका छौँ । एक साइडमा रोजगारदाताले इन्ट्री गर्नुहुन्छ भने अर्कोमा रोजगारको खोजीमा रहेकाले गर्नुहुन्छ । त्यो अहिले पनि चलिरहेको छ । यसपालीको बजेटमा पनि रोजगार बैंक स्थापना गर्ने लक्ष्य छ । हरेक दिन नेपाली श्रम बजारबाट दैनिक ७० जना निस्कने तथ्यांक, विदेशबाट काम गरेर आउनु भएकाहरूको तथ्यांक र रोजगारदाताको तथ्यांक राख्ने रोजगार बैंक बनाउन लागिरहेका छौँ ।

विगतका मन्त्रीभन्दा नयाँ गर्न खोज्नुभएका काम के कस्ता छन् ?

मलाई त्यस्तो नयाँ गरेको छु जस्तो लाग्दैन । सबैले नयाँ गर्न लाग्नु हुन्छ । नियम, कानुन, नीति सबै यही देशमै बसेर गर्ने भएको हुनाले नयाँ केही हुँदैन । सबैलाई मन्त्रालयले के गर्ने भन्ने रहेकै छ । अरूले भन्दा फरक मैले गरेको छैन । श्रम मन्त्रालयले गर्नुपर्ने काम अत्यन्तै ध्यान र लगनका साथ गर्नेछु ।

विदेश जाने कामदार मेनपावरबाट बारम्बार ठगिनबाट रोक्न के कस्ता काम गर्नुभएको छ ?

हामीले यस विषयमा काम गरिरहेका छौँ । यो सानो काम नभएको हुनाले तथ्यांकलाई आधार बनाएर काम गरिरहेका छाँै । यस विषयमा कुन तहको ठगी रहेको भन्ने विषयमा काम गरिरहेका छौं। अहिलेको प्रमुखता भनेको विदेश जानेलाई व्यवस्थित र सुरक्षित गर्ने काम गरिरहेका छौँ । तर, ठगीलाई नियन्त्रण र अन्त्य नै गर्ने विषयमा विशेष योजना लिएर आउँदैछौँ । त्यसका लागि केही समय लाग्ला ।

स्वदेशमै रोजगार सिर्जना गर्ने विषयमा मन्त्रालयले के काम गर्दैछ ?
रोजगार सिर्जना गर्न अभियान नै चलाउनु पर्दछ । मन्त्रालय आफैंले रोजगार सिर्जना गर्न सक्दैन । निजी क्षेत्र र सरकारकै विभिन्न निकायसँग सहकार्य र अभियान चलाउने हो । हामीले दिने भनेको आइडिया हो । यस विषयमा हामीले एकदमै काम गरिरहेका छौँ । विदेशबाट फर्केका नागरिकको सीप पुगेन भनेर हामीले सीप सिकाउन खोजिरहेका छौँ । भैंसेपाटीमा हाम्रै प्रशिक्षण प्रतिष्ठान छ । यस प्रतिष्ठानलाई विशेषगरी अगाडि बढाउने भनेर काम भइरहेको छ । विदेश गएर आएकालाई कसरी देशमै टिकाउने भन्नेमा लागिरहेका छौं। विदेश जाने तालिम लिएर गएमा आम्दानी बढ्ने र दुर्घटना कम हुन्छ ।

मन्त्रालयलअन्तर्गतका कार्यालयले दिने सेवालाई अनलाइन प्रणालीमा लाने योजना रहेको छ ?

रोजगार बैंक नै होलिस्टिक कन्सेप्ट हो । त्यसका लागि बजेट पनि तयार गरिसकेका छौं । त्यसमा अर्को वर्ष शुरूबाटै काम गर्दछौँ । हाम्रो योजनामा अनुसार शतप्रतिशत वैदेशिक रोजगार ठगीका विषय समाधान हुनेछ ।

सीपयुक्त जनशक्ति तयार पार्न के कस्ता काम गर्दै हुनुहुन्छ ?

सरकारी निकायले सञ्चालन गरेको भैंसेपाटीस्थित प्रशिक्षण प्रतिष्ठानले हामीसँग भएको बजेट र विदेशले दिने फण्ड प्रयोग गरी सातै प्रदेशमा तालिम सञ्चालन गर्न लागिरहेका छौँ । सीप सिकेपछि स्वदेश र विदेश दुवै ठाउँमा फाइदा गर्दछ ।

सामाजिक सुरक्षाको विषयलाई अझ प्रभावकारी बनाउने विषयमा पनि कार्य भएका छन् ?

अहिले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र सञ्चय कोष गरेर तीनओटा कोष सञ्चालन भइरहेको छ । हामीले तीनओटा निकायमा प्रमुखलाई राखेर बैठक राखिसकेका छौँ । यस विषयमा प्रधानमन्त्रीज्यूलाई पनि जानकारी गराएको छु। सामाजिक सुरक्षा कोषलाई कसरी प्रभावकारी बनाउन सक्छौँ भनेर गृहकार्य भइसकेको छ। सामाजिक सुरक्षा कोषको विकल्प छैन जस्तो लाग्दछ। त्यसैले पनि यसलाई अझ प्रभावकारी बनाउन काम गरिरहेका छौँ । जसले सामाजिक सुरक्षा कोषको नेतृत्व गरिरहनुभएको छ। उहाँले एकदमै राम्रराम्रा आइडिया लिएर आउनुभएको छ । यस विषयमा कुरा गर्न सामाजिक सुरक्षा कोषका प्रमुख, प्रधानमन्त्री, अर्थमन्त्री र म बसेर छलफल पनि गरिसकेका छौँ । आस गरौँ केही समयमा राम्रो काम हुनेछ ।

नयाँ श्रम गन्तव्य खोज्ने काम मन्त्रालयको भएको हुनाले हाल कस्ता गन्तव्य खोजिएका छन् ?

म मन्त्री भएर आउनुभन्दा अगाडि श्रमको नयाँ गन्तव्य खोज्नका लागि समिति नै बनेको रहेछ । त्यो समितलाई पनि चलायमान गर्न खोजिरहेका छन् । उहाँहरूलाई कस्तो जनशक्ति चाहिन्छ र हामीसँग कस्ता जनशक्ति छन् भन्ने विषयमा विदेशी प्रनिनिधिसँग छलफल भइरहेको छ । आउने आर्थिक वर्षसम्ममा नयाँ गन्तव्यका धेरै आउनेछन् ।

भारतलगायत अन्य मुलुकबाट नेपाली जनशक्ति विदेशीने क्रमलाई रोक्ने पहल कस्तो भएको छ ?

निजी, नियम, ऐन, कानुन देशको महत्त्वपूर्ण विषय हो । हामीले यसलाई टेकेर काम गर्नुपर्ने भएकाले रोक्ने नै भन्नु भन्दा पनि कसरी सुरक्षित तरिकाले जाने भन्ने हो । हामीले रोक्नेभन्दा नै कतिपय नागरिक गलत बाटो प्रयोग गरेर जानुभएको छ । यसले गर्दा उद्धार गर्ने विषय र विदेश नीतिमा पनि समस्या आइरहेको छ । त्यसैले रोक्ने भन्दा पनि नियमन गर्ने विषयमा छलफल गरिरहेका छौँ । यस विषयमा विभिन्न मन्त्रालयसँग पनि समन्वय पनि गर्नुपर्ने हुन्छ। नागरिकहरूको कुरा पनि बुझिरहेका छौं ।

जोर्डन, मलेसिया, इजरायलजस्ता मुलुकमा एमएयु गर्ने कुरा कहाँ पुगेको छ ?

केही देशको अहिले पनि रहेको छ भने केहीको पुनः गर्ने हो । नयाँ देशमा गर्ने विषयमा प्रयास भइरहेको छ । नेपाली नागरिककोबारे अत्यन्तै गहन तरिकाले सोच्नुपर्ने भएले हाम्रो कुरा र अन्य देशको कुरा मिल्यो भने गर्ने भन्ने छ । काम गर्ने प्रयास भइरहेको छ ।

सरकारको नीति तथा कार्यक्रममा श्रमका विषय केकसरी कार्यान्वयन गर्ने योजना रहेको छ ?

हामीले उच्च तहमा साउन १ गतेबाटै प्रभावकारी तरिकाले काम गरौँ भनेर भनिरहेको छु। अहिने नीति तथा बजेटमा परेका विषयलाई समयमै बोलकबोल गर्नेलगायत नीति नियम बनाउने कुरालाई समयमै बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। असार–साउनमै आइसकेको छ। अब भदौबाट सबै काम शुरू गर्ने योजना रहेको छ । अरू मन्त्रालयले पनि गरोस् भन्ने चाहना हो । यसबाट समयमै बजेट खर्च हुन्छ र नतिजा राम्रो आउँछ।

मन्त्रालयले द्वन्द्वग्रस्त मुलुमा श्रम स्विकृति दियो भन्ने आरोपबारे के भन्नुहुन्छ ?

हामीले कही पनि त्यस्ता मुलुकमा पठाएका छैनौँ । पछिल्लो समय इजरायलको कुरा आएको थियो। इजरायलमा नेपाली राजदूतावास छ। राजदूतावासले सबै ठिक छ भनेकाले नेपाली गएको देखिन्छ। रसियाको कुरामा केही समय रोकिएको छ। रसियामा बसिरहनुभएका परिवारले हामी सुरक्षित छौँ भनेर पठाएका छौं । यसमा श्रम मन्त्रालयमात्र हुँदैन शिक्षा, परराष्ट्र र गृह पनि जोडिएका छन्। हामीले द्वन्द्वग्रस्त मुलुकमा पठाउने कुरै आउँदैन । पठाएका छैनौँ।

किर्ते काजगात पेस गरेर जापान गएका १४ मेनपावर कम्पनीलाई कारबाही गर्नेबारे के भइरहेको छ ?

म आउनुभन्दा अगाडिकै मन्त्रीज्यूले फुकुवा गर्नुभएको हो। म आएपछि एक वर्षदेखि एक वर्षदेखि कारबाहीमा परेकाको अध्ययन भइरहेको छ। यस विषयमा अनुगमन गरेकै छैनौँ केही समय लाग्छ ।

जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

श्रम मन्त्रालयले गर्नुपर्ने काम नेपाल सरकारले तोकेको छ। तोकेकालाई व्यवहारमा उतार्न मेरो एकदमै प्रयास हुन्छ ?