डा. रिजाल राष्ट्रिय सम्मानबाट सम्मानित

56
Shares

काठमाडौं ।

लोककप्रिय गीतकार तथा गायक डा. भोला रिजाललाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८० बाट सम्मानित गरिएको छ। गीतकार संघ नेपालको १५औं स्थापना दिवसको अवसरमा हालै राजधानीमा आयोजित राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम– २०८० मा डा. रिजाललाई प्रमुख अतिथि संस्कृति, तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८० बाट सम्मान गरेका हुन्।

डा. रिजाललाई नगद एक लाख ५१ हजार रुपैयाँसहित माला र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा मैथिली गीतकार अशोक दत्तलाई २५ हजार दुई सय ५२ रुपियाँसहित विष्णु मनसरा मातृभाषा २०८० प्रदान गरियो भने पद्मा लिंखा मगरलाई १५ हजारसहित वर्ष डायस्पोरा गीतकार सम्मान प्रदान गरियो।

त्यसैगरी भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार पुरस्कार–२०८० मा छनोटमा परेका १० गीतमध्येबाट दुई गीत पुरस्कृत भए। मदनमाबो लिखित आमा र विष्णु भण्डारी लिखित चाहना हो तिमी मेरो जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत भएका हुन्।

छनोटमा मदन माबोको आमा, विष्णु भण्डारीको चाहना हो, डा.ओमकृष्ण प्रसाईंको पिता, ध्रुव खनालको रानी तालको, ज्ञानप्रसाद भट्टराईको माटोको माया, सियरा आचार्यको तिमीलाई, किसन सुवेदीको मुटु रेटियो, सबिता पोखरेलको एक चिम्टी सिन्दूर, डा. विष्णुमूर्ति भट्टराईको मुटुमै घाउ र शान्तिराम भट्टराईको नजरको वाण गीत रहेका थिए।

त्यसैगरी यस वर्षको जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०८० बाट दुई गीति पुस्तक गीतकार पूर्णबहादुर साउद शिरिष लिखित आधाआधी र जनक वाग्ले लिखित मैना चरी कहाँ गई पुरस्कृत भए। साउद र वाग्लेलाई जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा प्रमुख मन्त्री तामाङले गीतकार संघ र कलाकारिता क्षेत्रमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सम्मानित गीतकार डा. भोला रिजालले गीतकार संघले आफूलाई दिएको सम्मानले अझ ऊर्जाशील बनाएको बताए।

उनले दराजमा राखिएका पाण्डुलिपीलाई अब चाँडै मूर्तरुप दिने पनि बताए। आयोजक संघका अध्यक्ष वसन्त वित्यासी थापाले गीतकारहरूलाई राज्यबाट नीतिगत रूपमै सम्बोधन हुनुपर्नेमा जोड दिए।