लन्डन टु पेरिस सबैको कथा



काठमाडौं ।

ग्रामीण भेकका मौलिक कथालाई पर्दामा पस्किएर बेग्लै छवि स्थापित गरेका निर्देशक घनश्याम लामिछाने नयाँ जनराको फिल्मसहित आएका छन्।

उनले युवा पुस्ताको त्रिकोणात्मक प्रेम कथामा निर्माण गरेको फिल्म लन्डन टु पेरिस विदेश बस्ने नेपाली युवायुवतीको कथामा तयार पारेका छन्। ‘गाउँघरका मौलिक कथामात्र नेपाली कथा होइनन्। पछिल्लोसमय बिदेसिने नेपाली युवापुस्ताको संख्या बाक्लो छ उनीहरूको कथा झन् महत्वपूर्ण छ।

विदेशमा बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो त्यसकारण यस्तो कथालाई पनि माया गर्नुपर्छ भन्ने हिसाबले लन्डन टु पेरिस बनाएका हौँ। फिल्म हेर्ने जो कोहीलाई पनि यो आफ्नै कथाजस्तो लाग्छ,’ राजधानीमा आयोजित पत्रकार भेटघाटमा निर्देशक लामिछानेले भने।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा आफू सहरी युवतीको भूमिकामा रहेको खुलाइन्। ‘म छुच्ची, घमण्डी र ठाडो स्वभावको युवतीको भूमिकामा छु, तर त्योसँगै धेरै कुरा छन्,’ साम्राज्ञीले भनिन्। उनले आफूलाई विभिन्न जनराका फिल्ममा काम गर्न मन लाग्ने भए पनि प्रायः सहरीया युवतीको भूमिकामा मात्र प्रस्ताव आउने गरेको पनि बताइन्।

यही फिल्मबाट डेब्यू गरेका अभिनेता निश्चल खड्काले फिल्ममा काम गर्दा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबाट धेरै कुरा सिक्न पाएको बताए। ‘उमेरमा हामी उस्तै भए पनि अनुभवका हिसाबले साम्राज्ञी मभन्दा अग्रज हो। उसको कारण मैले धेरै कुरा सिक्न पाएँ,’ खड्काले भने। मोडलिङ हुँदै फिल्म लन्डन टु पेरिसबाट फिल्ममा डेब्यू गरेकी अभिनेत्री गरिमा शर्माले फिल्ममा काम गर्दा आफूले धेरै कुरा सिक्न र नयाँ अनुभव गर्न पाएको बताइन्।

अभिनेता कवीर खड्काले लन्डन टु पेरिस आफ्ना लागि महत्वपूर्ण रहेको बताए। केही वर्षअघि फिल्म लम्फूबाट अभिनय शुरू गरेका उनले सोपछि कुनै फिल्ममा पनि अवसर नपाउ“दा टुहुरो भएको महसुस गरे पनि अहिले आफ्नो भागमा उत्कृष्ट फिल्म परेको बताए।

प्रेम कथामा निर्मित फिल्ममा लेखन प्रदीप भारद्वाज, कोरियोग्रँफी लङगिनस फरनान्डिज, कला निर्देशन कला पालन, छायांकन निर्देशन अभेद परव र कुनाल कमद र सम्पादन सजु चन्द्रनको रहेको छ।

एबी इन्टरनेसनल, गौतम प्रोडक्सन र अर्चिड भास फिल्म्स् लिमिटेडको व्यानरमा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अङ्कित गौतम र सनिश खकुरेलद्वारा निर्मित फिल्ममा रुश्मा थापा, मनिष गान्धी, मनिष श्रेष्ठ, लाकविक्रम मल्ललगायत कलाकारले पनि अभिनय गरेका छन्। फिल्म आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्