ग्रेस अनुग्रह सहकारी पीडित आन्दोलित



उदयपुर ।

सर्वसाधारणको बचत अपचलन गरेर सम्पर्क बिहीन भएको ग्रेस अनुग्रह सहकारी संस्थाका पीडितहरूले संघर्ष समिति गठन गरेर आन्दोलनको तयारी गरेका छन्।

उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार बजारमा संचालन हुँदै आएको ग्रेस अनुग्रह सहकारी संस्थाले बचतकर्ताहरुको करोडौं रुपैया अपचलन गरेर सम्पर्क बिहीन भएपछि आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन गर्ने घोषणा गरेका हुन ।

उदयपुर जिल्लाको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा आफ्नो कारोबार संचालन गर्दै आएको ग्रेस अनुग्रह सहकारी संस्थाले बिगत २ बर्ष देखी बचत कर्ताको बचत रकम फिर्ता गरेको छैन । ५० हजार देखी लाखौँ सम्म रकम बचत गरेका संस्थाका बचत कर्ताले समयमा पैसा फिर्ता नपाएपछि आन्दोलनको बिकल्प नरहेको बताए ।

आफुहरुले साना साना बालबालिकाको भविश्य राम्रो होस् भन्दै मजदुरी गरेर कमाएको रकम बचत गरेको तर समयमा पैसा फिर्ता नभए पछि आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको पिडित मध्य कि राधा राईले बताइन । उनले पैसा अब पनि संस्थाले फिर्ता नगर्ने हो भने आफुहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको समेत बताइन ।

स्थानीय एक पीडित महिलाले त आफु एकल महिला भएको भन्दै आफ्ना एक छोरा र एक छोरीको पढाई पुरा गर्न चटपटे बेचेर बचत गरेको पैसा ग्रेस अनुग्रह सहकारीले खाइदिएको भन्दै भक्कानिएर सहकारीलाई कारबाहीको माग राखिन ।आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरुले दुई बर्ष देखी आफ्नो बचत फिर्ता नगरेकोले आन्दोलनको बिकल्प नरहेको बताए ।

उनीहरुले अब पनि सहकारीले आफुहरुको बचत फिर्ता नगर्ने हो भने प्रशासन घेराउ देखी सडक जाम गरेर आन्दोलन गर्ने सम्मका कार्यक्रम आफुहरु अघि सार्न बाध्य हुने संघर्ष समितिका संयोजक डि.वी. लामिछानेको भनाई छ । ग्रेस अनुग्रह सहकारी संस्थाले बचत कर्तालाई अल्मल्याउन व्यक्तिगत खाताको चेक दिने गरेको पीडितहरुले बताए । उनीहरुले ग्रेसमा काम गर्ने कर्मचारीले दिएको चेक देखाउँदै भने,“हामीलाई झुक्याउन पैसा नभएको आफ्नो व्यक्तिगत नामको चेक दिएर ठगि गरिएको छ“ ।

पीडितहरुले आफुहरुलाई चेक दिएर पैसा फिर्ता गर्ने बाहना बनाउदै आफिस छोडेर भागेकोले सहकारी संचालक नफर्कने हो कि भन्ने शंका उब्जिएको समेत बताए । उनीहरुले पत्रकार सम्मेलन मार्फत सम्पूर्ण राजनीतिक दल, प्रहरी प्रशासन लगायत सरोकारवालाहरु संग सहयोगको याचना समेत गरे ।

ग्रेस अनुग्रह सहकारी संस्थाबाटमै लाखौँ रकम मुद्दती खातामा बचत गरेका स्थानीय ब्यबसायी रमेश प्रसाद गुप्ताले आफुले आफ्नो नातिनातिनाको भबिस्य सोचेर पैसा बचत गरेर तर सहकारीले आफ्नो पैसा अपचलन गरेको बताए । उनले सहकारीका संचालकले आफ्नो व्यक्तिगत खाताको चेक आफुलाइ पनि दिएको तर उक्त चेकमा पैसा नरहेको भन्दै प्रहरीमा उजुरी गर्दा समेत केही नभएको ले आफु निकै पिडित भएको गुनासो गरे ।

ग्रेस अनुग्रह सहकारी संस्थाले उदयपुर जिल्लाको चौदण्डीगढी र बेलका नगरपालिकाका सयौं बचत कर्ताको करोडौं रकम उठाएर सम्पर्क बिहीन बनेपछि अहिले पीडितहरु आफुहरुको पैसा कहिले फिर्ता हुन्छ भन्ने चिन्तामा रहेका छन । उनीहरुले सहकारी संचालक सम्पर्कमा आएर नियमित अफिस खोल्न र सबै बचत कर्ताको रकम समयमा फिर्ता गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्