दुधको गुणस्तर सुधारको लागि बुटवलमा ल्याव स्थापना गर्नुपर्नेमा जोड



बुटवल ।

बजारमा बिक्रि वितरण गरिने दुधको गुणस्तर सुधारको लागि डेरी व्यवसायीहरुले बुटवलमा ल्याव स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रत्यक्ष रुपमा मानव स्वास्थ्यसंग जोडिएको दुध शुद्ध, स्वच्छ, स्वस्थ्यकर र उपभोग मापदण्ड समेत अवलम्बन गर्नुपर्ने भएकाले ल्याव परिक्षण गरेर मात्रै बजारमा लैजाने वातावरण बनाउन उनीहरुले स्थानीय सरकारसंग आग्रह गरेका हुन् ।
उनीहरुले विशेष गरेर नगरभित्र आउने र विक्रि वितरण हुने दुधको पालिकामा सूचिकरण गर्ने र ल्याव परिक्षण गरेमा मात्रै विक्रि वितरणको प्रवन्ध मिलाउने हो भने त्यसले शुद्ध र स्वच्छ तथा मापदण्ड अनुसारको दुध मात्रै बजारमा जाने भएकाले सबै उपभोक्ताले गुणस्तर दुध उपभोग गर्न पाउने उनीहरुको भनाई छ ।

२४ औं विश्व दुग्ध दिवस तथा १४ औं राष्ट्रिय दुग्ध दिवसको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश पशुपंछी तथा मत्स्य विकास निर्देशनालयको संयुक्त आयोजनामा बुटवलमा गरिएको दुधको महत्व, वर्तमान अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा दुग्ध व्यवसायीहरुले ल्याव परीक्षणको व्यवस्था मिलाउन सकियो भने दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर सुधार हुने भनाई राखेका थिए ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानलाई आत्मसात गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ तारिखमा विश्व दूध दिवस मनाउन सुरु गरेको थियो । त्यस्तै नेपालले पनि सन् २०११ देखि जुन १ मै यो दिवस मनाउन थालेको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले जनस्वास्थ्यसंग जोडिएको दुग्ध व्यवसाय गर्दा मापदण्डको पालना गरेर व्यवसाय गर्न आग्रह गर्नुभयो । उहाँले दर्ता नभई सञ्चालन भएका दुग्ध व्यवसायलाई दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गर्दै अनुगमनका क्रममा दर्ता नभई सञ्चालन गरेको भेटिएमा कानुनी कारवाही गरिने पनि चेतावनी दिनुभयो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख योगेन्द्र शाह, पशुपन्छी तथा मत्य विकास निर्देशनालयका पशुचिकित्सक लोकराज भुसाल, बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्याय लगायतले भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्