गोपीकृष्ण अवार्डमा नीर शाहलाई दीर्घसम्मान

विपिन, स्वस्तिमा र मिरुना सर्वोत्कृष्ट

1.5k
Shares

काठमाडौं ।

एनएफडीसी राष्ट्रिय पुरस्कारका नाममा हुँदै आएको अवार्ड कार्यक्रम यस वर्ष गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कारको रूपमा सम्पन्न भएको छ।

शनिबार राजधानीको लाजिम्पाटस्थित दूषित प्रिसेन्समा सम्पन्न अवार्ड समारोहमा ख्यातिप्राप्त अभिनेता, निर्माता, निर्देशक, लेखक तथा गीतकार नीर शाहलाई ५१ हजार रुपियाँसहित ख्यातिप्राप्त फिल्म व्यवसायी तथा राजनीतिज्ञ उद्धव पौडेलको नाममा स्थापित उद्धव दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ।

गोपीकृष्ण मुभिज्को आयोजनामा सम्पन्न समारोहमा अवार्डको नाम फिल्म क्षेत्रका विभिन्न विधामा ख्यातिप्राप्त कलाकार, पत्रकार, निर्माता, निर्देशक र प्राविधिकको नाममा नामांकरण गरिएको थियो ।

समारोहमा नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसनस्का संस्थापक स्व. पुष्करलाल श्रेष्ठको नाममा स्थापित पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार नगद २१ हजार श्याम स्मृतलाई प्रदान गरियो। त्यसैगरी, मह जुरी पुरस्कार द रेड सुटकेस र कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र अवार्ड वर्ष २०८० मा सर्वाधिक व्यापार गर्न सफल फिल्म जारीलाई प्रदान गरिएको छ।

वर्ष २०८० मा प्रदर्शन भई अवार्डमा सहभागी फिल्ममध्येबाट छनोटमा परेका २१ प्रतिस्पर्धात्मक विधाअन्तर्गत फिल्म माहाजात्रा हिरा सर्वाेत्कृष्ट फिल्म साबित भएको छ । महाजात्राबाटै प्रदीप भट्टराई प्रकाश सर्वोत्कृष्ट निर्देशक र विपिन कार्की शिव सर्वाेत्कृष्ट अभिनेता तथा जारीबाट मिरुना मगर र दिमाग खराबबाट स्वस्तिमा खड्का भुवन सर्वाेत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भए।

अभिनेताको विधामा नांगो गाउँ र जारी दुई फिल्मबाट दयाहाङ राई तथा महाजात्रा, पशुपति प्रसाद २ भष्मे डन र एक भगवत एक गीता गरी ३ फिल्मबाट विपिन कार्कीबीच प्रतिस्पर्धा थियो।

त्यसैगरी, फिल्म दिमाग खराबबाट अर्पण थापा नीर सर्वोत्कृष्ट सहअभिनेता, पशुपतिप्राद २ बाट वर्षा शिवाकोटी वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्री, परदेशी २ बाट प्रकाश सपुत विश्व सर्वोत्कृष्ट नवअभिनेता, जारीबाट परीक्षा लिम्बू चैत्य सर्वोत्कृष्ट नवअभिनेत्री, महाजात्राबाट रवीन्द्र झा गोपालराज सर्वोत्कृष्ट हास्य कलाकार, जारीबाट उपेन्द्र सुब्बा लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद लेखन, महाजात्राबाट प्रदीप भट्टराई चेतन सर्वोत्कृष्ट पटकथा लेखन, बुलाकीबाट शिव ढकाल मञ्जु सर्वोत्कृष्ट छायांकार, पशुपतिप्रसाद २ बाट बनिश शाह तुलसी सर्वोत्कृष्ट सम्पादक, ऐचोपैँचोको काले केटालेबाट आशिष अविरल शम्भुजीत सर्वोत्कृष्ट संगीतकार, नांगो गाउँको सुन सुन सुन्दरीबाट एसडी योगी र अञ्जु पन्त उद्दित सर्वोत्कृष्ट गायन, नांगो गाउँको सुन सुन सुन्दरीबाट सुष्मा सिग्देल किरण सर्वोत्कृष्ट गीतकारको अवार्ड विजेता भएका छन्।

सन्ध्या थापा र पूर्वनेपाल सुन्दरी सुगरिका केसीद्वारा सञ्चालित कार्यक्रममा फिल्म एक भगवत एक गीताको झिझियाबाट कविराज गहतराज वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक, एक भागवत गीताबाटै हिमाल केसी भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, नांगो गाउँबाट मुकेश शाह प्रदीप सर्वोत्कृष्ट पुनःध्वनि मुद्रण, बुलाकीबाट किरण तुलाधर शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत, महानगरबाट अरुण रेग्मी नारायण सर्वोत्कृष्ट निर्माण नियन्त्रकको अवार्ड चुम्न सफल भएका छन् ।

नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, पहिलो रंगिन फिल्मकी नायिका चैत्यदेवी र हास्य साम्रगी वसुन्धरा भुसालद्वारा शुभारम्भ गरिएको अवार्ड समारोहमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्यय, अभिनेत्री चैत्यदेवी, छायांकार मञ्जुकुमार श्रेष्ठ, फिल्म निर्देशक प्रकाश सायमी र संगीतकार दिनेश सुनाम निर्णायक रहेका थिए।

फिल्म लेखक, गीतकार तथा निर्देशक स्व.चेतन कार्की, संगीतकार स्व. शुभबहादुर सुनाम, कामना न्यूज पब्लिकेसनका संस्थापक स्व. पुष्करलाल श्रेष्ठ, अभिनेता स्व. सिपी लोहनी र भजन शिरोमणि स्व.भक्तराज आचार्यलाई समर्पित गर्दै सांगीतिक धुन प्रस्तुत गर्दै आरम्भ भएको समारोहमा विभिन्न गायक गायिकाले गोपीकृष्ण मुभिज्द्वारा निर्मित फिल्मका लोकप्रिय गीत प्रस्तुत गरेका थिए।