पूजार सार्कीले झस्कायो नेतालाई

308
Shares

काठमाडौं ।

करिब दुई दर्जन राजनीतिक नेताले पूजार सार्कीले आफूहरूलाई झस्क्याएको बताएका छन्।

राजधानीमा हालै सम्पन्न विशेष प्रदर्शनीमा प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, प्रतिनिधिसभा सदस्यहरू ठाकुर गैरे, निशा डाँगी, शान्ति परियार, हर्कमाया विक, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, राष्ट्रिय दलित आयोगका पूर्वकार्यवाहक अध्यक्ष मन्जित ताम्राकार, पूर्वखेलकुद मन्त्री तथा दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित सिर्पाइली, पूर्वराजदूत पदम सुन्दास, दलित नागरिक समाजका अध्यक्ष मोतीलाल नेपाली, प्राज्ञ तथा चलचित्रकर्मी महेश गोदार, दलित अधिकारकर्मी चक्रमान विश्वकर्मा, संविधानसभा सदस्य तथा दलित मुक्ति मोर्चाका इन्चार्ज परशुराम रम्तेललगायतले पूजार सार्कीले झस्काएको र यो फिल्म हेरेपछि राजनीतिले नै जातीय छुवाछूत अन्त्य हुन्छ भन्ने अझै विश्वस्त भएको बताए।

त्यसैगरी राष्ट्रिय दलित आयोगले पूजार सार्कीमा देखाइएजस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान रहेको तथा शिक्षित र सभ्य मानिसलाई यो गम्भीर प्रश्न भएको जनाएको छ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो फिल्म सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीले हेरेर शिक्षा लिनसक्ने जनाएको छ। ‘नेपालको संविधान र अन्य कानुनद्वारा वर्जित जातीय छुवाछूत, भेदभाव तथा वहिष्करणबाट सिर्जित परिस्थितिको अन्त्य गर्नु सबै सभ्य मानिसको कर्तव्य हो,’ पत्रमा भनिएको छ, ‘पूजार सार्कीमा देखाइएजस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ। शिक्षित र सभ्य मानिसलाई यो गम्भीर प्रश्न पनि हो।’

फिल्मका लेखक विकास सुवेदीले राज्यको कुनै निकायले नेपाली फिल्मलाई यसरी सम्बोधन गरेको पहिलोपटक भएको बताए। निर्देशक दिनेश राउतले फिल्म बनाउ“दा केवल व्यावसायिक उद्देश्यमात्रै नराखी दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि निर्माण गरिएको बताए।

‘यो फिल्म दलित मुक्तिको आन्दोलनको एक हिस्सा हो। यसलाई हामीले नेपालका हरेक बस्तीमा पुर्‍याउनेछौँ। संसारभरका नेपालीमाझ पनि पुर्‍याइरहेकाछौँ,’ निर्देशक राउतले भने।