सरकार पक्षकै दलबीच असमझदारी चुलिँदै



काठमाडौं ।

नयाँ सत्ता समीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी एमाले–माओवादीकेन्द्रसहित पाँच दलीय गठबन्धनभित्रको असमझदारी बजारमा पोखिन थालेको छ। गठबन्धनमा सामेल दलहरूको अस्थितरताका कारण तितरबितर हुने अवस्थामा पुगेका हुन्।

पछिल्लो समय सत्ताको मुख्य घटक नेकपा एमालेसमेत सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग सन्तुष्ट छैन। शनिबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै माओवादी केन्द्रप्रति ढल्किएको बजेट आएको टिप्पणी गर्नुभयो। ‘बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको छ । बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको पाइयो’ –उहाँले भन्नुभयो।

‘यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श, छलफल गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो’, ओलीले भन्नुभयो– ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ। हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रूपमा कस्तो दिशा समातेको छ ? यी विषयहरूमा केन्द्रित भएर छलफल गर्नेछौँ। अरू छलफल बाँकी रहन्छ। अघि नै मैले भनेँ, विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन–कुन मन्त्रालय कस्तो विनियोजन भयो र त्यसमा कुन–कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौती गरिएको छ ? कुन पूरा भयो, कुन अपुरैमा कटौती भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि ? कहाँ कस्ता कमी रहे, त्यसलाई पनि हेरिनेछ’ –ओलीले भन्नुभयो।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुरूदेखि नै सरकार पक्षको गतिविधिप्रति असन्तुष्ट हुनुहुन्छ। नेकपा एस सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने पक्षमा उभिएको थियो।

त्यस्तै, प्रदेश सरकार गठनमा भएको भागबण्डा र आफू प्रधानमन्त्री हुने कुरामा एमाले अध्यक्ष ओलीले गरेको निषेधपूर्ण कटाक्षको पार्टी अध्यक्ष नेपालले प्रतिवाद गर्दै आउनुभएको थियो। पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रम र मधेस प्रदेश सरकार निर्माणका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा माधव नेपालले गरेको भेटघाटले सत्ता गठबन्धनभित्र थप सशंकित बनाएको छ।

यस अघि नै कांग्रेससंगको सत्ता सहकार्यमा फर्कन सक्ने नेकपा एस र जसपाको प्रयासलाई असफल बनाउन एमाले अध्यक्ष ओलीको डिजाइनमा जसपामा फुट ल्याइएको थियो। उक्त पार्टी विभाजनपछि केही समय सत्ता फेरबदलको सम्भावना टरे पनि गठबन्धनभित्रकै दलहरूबीच फरकफरक राजनीतिक अभ्यासहरू भइरहेको छ।

यसले सत्ता भत्काउने प्रयासमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसललाई थप राहत मिलिरहेको छ भने सत्ता गठबन्धनभित्र आहातको आकार बढेको राजनीतिक वृत्तमा बहस भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्