कमजोरीको आत्मालोचना गरेर अघि बढ्नुस् : महासचिव पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी जीवनमा आत्मसमीक्षा गर्दै कमजोरीको आत्मालोचना गरेर अघि बढ्नु पर्ने बताउनुभएको छ ।

   नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रिय राजनीतिलाई अघि बढाउन कहिलेकाहीँ पार्टी नेतृत्वले फरक ढङ्गले पनि सोच्नु पर्ने बताउनुभयो । गएको निर्वाचनमा एमालेले जुन विश्वास र भरोसाका साथ मकवानपुरमा राप्रपा नेपालका कमला थापालाई समर्थन गरेको थियो त्यसमा धोका भएको उहाँले टिप्पणी गर्नुभयो ।

हामीले कमल थापाजीलाई जुन विश्वासका साथ, भरोसाका साथ मकवानपुरमा उम्मेदवार बनायौँ त्यो गलत साबित भयो’, उहाँले भन्नुभयो । कमल थापा आफैँले दाबी गरेजस्तो निर्वाचनमा भोट पनि ल्याउन नसकेको र एमालेसँग गरेको प्रतिबद्धता जस्तो गणतन्त्रको पक्षमा पनि कमल थापा नआएका पोखरेलले बताउनुभयो । ‘राजावादीलाई गणतन्त्रमा ल्याउन कमल थापा माध्य बन्छन् भन्ने ठानियो, तर उनको प्रतिबद्धता कृत्रिम रहेछ, बनावटी रहेछ’, पोखरेलले भन्नुभयो । कमल थापा पुन राजावादी नै बन्न पुगेको उहाँले बताउनुभयो ।

यस अर्थमा नेकपा एमालेले गर्न खोजेको प्रयास असफल भएको उहाँले स्पष्ट पार्नुभयो । कमल थापाले हारे पनि खाँटी राजावादी भनेर चिनिएका राप्रपाका उम्मेदवारले चुनाव जितेर जानु मकवानपुरको ऐतिहासिकता माथिकै उपहास भएको उहाँले बताउनुभयो । ‘यो विगतको ऐतिहासिकता माथि एक प्रकारको लज्जाबाेध हो’, पोखरेलले भन्नुभयो । नेपालको राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने कुरामा हरेक नेता र कार्यकर्ता जिम्मेवार हुनुपर्ने पोखरेलले बताउनुभयो । ‘आज राष्ट्रिय राजनीति अत्यन्त तरल छ, अस्थिर छ’, उहाँले भन्नुभयो ।

नेकपा एमाले सत्तामा जाँदा जनतामा आशा र भरोसा जगाउने काम गरेको उहाँले स्मरण गराउनुभयो । एमाले सरकारमा जाँदा राष्ट्रियता, विकास र राष्ट्रिय स्वाभिमानको विषयमा असाधारण भूमिका निर्वाह गरेको पोखरेलले बताउनुभयो । नेकपा एमालेले भारतीय नाकाबन्दीलाई जनताको साथमा सामना गरेको र भारतलाई घुँडा टेकाएको उहाँले स्मरण गराउनुभयो । देशमा कहिल्यै नाकाबन्दी नहुने स्थिति नेकपा एमालेले निर्माण गरेको उहाँले दाबी गर्नुभयो । नेकपा एमाले सत्ताबाट बाहिरियो भने देशको स्वतन्त्रता, स्वाभिमान र विकास सबै पछाडि पर्ने कुरा प्रमाणित भइसकेको पोखरेलले दाबी गर्नुभयो ।

एमालेले नेपालमा नयाँ विकासको आधारशिला निर्माण गर्ने काम गरेको उहाँले प्रष्ट पार्नुभयो । समाजलाई सही बाटोमा हिँडाउने भूमिका नेकपा एमाले निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । तर अहिले एमाले कार्यकर्ताले त्यो भूमिका निर्वाह गर्न नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेकपा एमालेका नेता, कार्यकर्ताको सामूहिक अठोटले मात्र समाजलाई सही बाटोमा लैजान सकिने पोखरेलको भनाइ छ ।

कुनै पनि व्यक्ति विगतमा क्रान्तिकारी थियो भन्दैमा अहिले पनि त्यो क्रान्तिकारी छ भन्न नसकिने उहाँले बताउनुभयो । इतिहासको गौरवलाई कायम राख्न नसक्नेलाई क्रान्तिकारी भन्न नसकिने पोखरेलले प्रष्ट पार्नुभयो । त्यस्ता नेता, कार्यकर्ताहरू हेर्दा हेर्दै प्रतिगमनकारी हुने उहाँले दाबी गर्नुभयो । विगतमा गरेको कामको लाभ खोज्नेहरू अवसरवादी भएका पोखरेलले बताउनुभयो ।

कम्युनिष्ट नेताहरूको क्रान्तिमा खिया लागेको बताउँदै पोखरेलले अब त्यसमा धार लगाउनै पर्ने टिप्पणी गर्नुभयो । देशलाई विकास र समृद्धिको लागि सङ्कल्प गर्नुपर्ने र त्यो सामर्थ्य नेकपा एमालेसँग मात्र भएको उहाँले बताउनुभयो । समृद्धिको काम एमाले बाहेक अरू कसैले गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

अधिकार र कर्तव्यसँगै जोडिएको नागरिकले मात्र राष्ट्रलाई अघि बढाउन सक्ने र बलियो राज्यले मात्र यो काम गर्न सक्ने पोखरेलले दाबी गर्नुभयो । बलियो राज्य हुनको लागि बलियो राष्ट्रिय शक्ति बन्नु पर्ने पोखरेलको धारणा छ । मरिसकेको राजतन्त्र फर्काउँछु भन्नेलाई इलामको उपचुनावले फेरि मसानघाटमा नै पुर्याइदिएकाे पोखरेलले बताउनुभयो । इलामको उपनिर्वाचनमा राजावादीले दुई सय भोट पनि कटाउन नसकेको उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्