वन जोगाउन ठूलो संघर्ष गर्दै आएका छौं : मन्त्री नारायण बुर्जा मगर



उदयपुर ।

कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बहादुर बुर्जा मगरले राष्ट्रिय वनमा रहेका काठ जोगाउन र राज्यको सम्पतिका रुपमा रहेको वन जोगाउन विगतमा ठूलो संघर्ष गर्नु परेको र अहिले पनि संघर्ष गर्दै आएको बताउनु भएको छ ।

मन्त्री बुर्जा मगरले शुक्रबार उदयपुरको गाईघाटमा आयोजित सामुदायिक वन उपभोक्ता समुहको २९ औँ स्थापना दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर शाखाद्धारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सो कुरा बताउनु भएको हो ।

मन्त्री बुर्जाले वनमा तस्करहरुको आँखा परेको समयमा २०५२ । ०५३ सालतिर उदयपुरको वनमा रहेका बहुमुल्य काठहरु चोरी तस्करी गरेर लैजाने गरेकोमा आफूहरुले निगरानी गरेर जोगाउन सफल भएको बताउनु भयो । सो कार्यक्रममा कोशी प्रदेश सभाकी उप सभामुख सिर्जना दनुवारले पर्यटन, वन तथा वातावरण जोगाउनु आजको आवश्यकता रहेको र वन क्षयीकरण हुनबाट जोगाउन हामी सबैको दायित्व भएकोले सामुदायिक वनका सम्पूर्ण उपभोक्ताहरु सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा उदयपुर जिलामा जम्मा ३ सय ९५ वटा सामुदायिक वन दर्ता भएको । यसबाट ५१ हजार ४ सय २६ घरपरिवार लाभान्वित भएको र करिब ६७ हजार ५सय ९५हेक्टर वन क्षेत्र रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । उदयपुरमा सामुदायिक वन उपभोक्ता महासंघको स्थापना २०५६ सालमा भएको हो ।

हाल संघीय वन एैन २०७६ संघीय वन नियमावली २०७९, कोशी प्रदेशको वन ऐन २०७७ र कोशी प्रदेशबाट जारी हुन लागेको वन नियमावलीमा समुदायको अधिकार कटौती गर्ने गरी गरिएको व्यवस्था हटाउन र समुहले स्थायी लेखा नम्बर लिने कार्य सहज बनाउँदै समुहलाई नाफा रहित संस्थाको रुपमा परिभाषित गरी आयकर एैन २०५८ बाट बचाउन महासंघले आन्दोलन र पैरबी गरिरहेको अध्यक्ष कुशलबाबु बस्नेतले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर जिल्ला शाखाका अध्यक्ष कुशल बाबु बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा डिभिजन वन कायाृलय गाईघाटका प्रमुख डा.इन्द्रप्रसाद सापकोटा, करदाता सेवा कार्यालयका प्रमुख कर अधिकृत राम बहादुर राई, सामुदायिक वन उवभोक्ता महासंघकी केन्द्रीय सदस्य यशोधरा पोखरेल महासंघ जिल्ल्ला शाखाकी सचिव जानकी चौधरी, उपाध्यक्ष नर बहादुर खड्का लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्