बढेको विद्युत् महसुल तत्काल फिर्ता लिन माग



स्याङ्जा। 

बुटवल पावर कम्पनी (बिपिसी) अन्तर्गत आँधीखोला वितरण केन्द्रकोे विद्युत् महसुलमा वृद्धि भएसँगै स्याङ्जामा ध्यानाकर्षण, धर्ना, विरोधका कार्यक्रमहरु भइरहेका छन् । यस विषयमा पालिकाहरुले सार्वजनिक बहस सुरु गरेका छन् भने सर्वसाधारणले बिपिसीको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । कम्पनीको प्रस्तावमा विद्युत् नियमन आयोगले विद्युत् महसुल बढाउने निर्णय गरेको भन्दै जिल्लाका राजनीतिक दल, नागरिक समाजलगायत आन्दोलित भएका हुन् । आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर विद्युत् महसुल बढाएको जानकारी गराएको हो । दलहरु, उद्योग वाणिज्य संघहरु र समाजका अगुवाहरुको सक्रियतामा काठमाडौँमा समेत दबाबका कार्यक्रम गरिरहेका छन् ।

बढाइएको महसुल तत्काल फिर्ता लिन माग गर्दै प्रधामन्त्री कार्यालय र विद्युत् नियमन आयोगमा ज्ञापन पत्र बुझाईएको छ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङ सहित पुगेको जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा आयोगका सदस्य गौतम डंगोल र सदस्य सचिव मनदेवी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।

 आयोगका प्रतिनिधिहरु र प्रभावित क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायीहरु, पत्रकारहरुबिच छलफल गरिएको भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । आयोगलाई यो निर्णयबाट पछि हट्न आग्रह गरिएको उनको भनाइ छ । छलफलमा वालिङ नगरपालिका, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा कालीगण्डकी गाउँपालिका एवं पाल्पाको रामपुर नगरपालिका र रम्भादेवी गाउँपालिकाका जनप्रतिनिधिसहित दलहरु र व्यवसायीहरुको सहभागिता थियो । छलफलमा बोल्दै संघीय सांसद धनराज गुरुङले आर्थिक समस्या झेलिरहेका नागरिकलाई झन समस्यामा पार्न नहुने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांगे्रस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले अस्वभाविक विद्युत् महशुलको मुल्य वृद्धि मान्य नहुँने चेतावनी दिए । कार्यक्रमको सहजीकरण नेपाली कांगे्रस भीरकोट नगरसभापति लक्ष्मण अधिकारीले गरेका थिए । कार्यक्रममा प्रभावित ६ वटै पालिकाका जनप्रतिनिधि, चेम्बर अफ कर्मस तथा उद्योग वाणिज्य संघ, पत्रकार, नागरिक समाज, नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमोर्चा, समाजवादीलगायतका दलहरुका प्रतिनिधिहरुको सहभागिता थियो ।

आयोगले कम्पनीलाई समग्रमा झन्डै ४५ प्रतिशत विद्युत् महसुल वृद्धि गर्ने अनुमति दिएको छ । सेवा शुल्कमा पनि उत्तिकै बढाउने अनुमति दिएको बताइएको छ । उपभोक्ताले पुरानो महसुलमा प्रतियुनिट झन्डै ३ रुपियाँका दरले वृद्धि गरिएको महसुल बुझाउनुपर्नेछ । बढीमा ७ रुपियाँ प्रति युनिट तिर्दै आएका उपभोक्ताले अब बढीमा १० रुपियाँ ३० पैसा महसुल लाग्ने गरी निर्धारण गरिएको छ । यता संयुक्त संघर्ष समितिले पनि बुटवल पावर कम्पनीको गल्याङमा रहेको कार्यालयमा धर्ना दिएको छ । गल्याङ बजारमा जम्मा भएका संघर्ष समितिका सदस्यहरु नाराबाजी गर्दै कम्पनीको गल्याङ शाखा कार्यालयमा पुगेर धर्ना दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्