परम आनन्दको तपाईंको गन्तव्य तपाईंभित्रै छ

798
Shares

तपाईँलाई आफ्नो जिन्दगी कस्तो लाग्छ ? अरूको होइन । यो अहिलेको विषय नभएर परापूर्वकालदेखि चल्दै आएको कुरा हो। कुनै नायिकाले नयाँ कपडा लगाइन् भने सबैलाई त्यस्तै चाहिन्छ। हजामले आफ्नो पसलमा फरक–फरक तरिकाले दाह्री मिलाउने, कपाल मिलाउने नमुना राख्छन्, किनभने आजकल त दाह्रीको पनि फेसन भएको छ। घरमा चार–चारवटा दाह्री काट्ने मेसिन भए पनि दाह्री पाल्ने फेसन चलेको छ। कसैले दाह्री पालेको देखेपछि सबैले त्यही कुराको सिको गरे। तर मेरो प्रश्न के हो भने, ‘तपाईँलाई आफ्नो जिन्दगी कस्तो लाग्छ ?’ तपाईँ त ‘कहिले राम्रो लाग्छ, कहिले खराबजस्तो पनि लाग्छ, कहिले ठीकठाक भइदिन्छ, कहिले तालमेल नमिलेजस्तो भइदिन्छ’ भनेर सोचिरहनुभएको हुन सक्छ ।

म तपाईँलाई तपाईँसँग भेटाइदिन सक्छु । त्यसपछि तपाईँले जिउन पाउनुभएको अवसरका बारेमा बुझ्नुहुनेछ । अरू कुराको अवसरको विषय होइन, केवल जिउन पाउनुभएको मौकाको कुरा हो । तपाईँ जीवित रहेसम्म कुन कुरालाई सार्थक तुल्याउन सक्नुहुन्छ ? यदि तपाईँले आफ्नो जीवनमा शान्तिलाई अपनाउनुभयो भने तपाईँको जीवन हराभरा हुनेछ । तपाईँले यो सम्भावनालाई स्वीकार गर्नुपर्छ । ‘मलाई यो जीवन प्राप्त भएको छ र म यो मौकालाई अपनाउन चाहन्छु । म जीवनमा हलचल नहुने सुखलाई प्राप्त गर्न चाहन्छु ।’ यसको अर्थ म यो जीवनलाई यो संसारबाट अलग्याउँछु भन्ने होइन र मेरो जीवनमा समस्याहरू आउँदैनन् भन्ने पनि होइन । समस्याहरू त आउँछन् नै तर मेरो डोरो कहाँ बाँधिएको छ भन्ने कुरा हो ।

केही मानिसहरूको बुझाइमा चङ्गाका लागि धागो चाहिन्छ भन्ने हुन्छ । मसँग तपाईँका लागि एउटा खबर छ । चङ्गामा धागो बाँधिएको छ र धागोलाई छोडिदिनुभयो भने पनि चङ्गामा धागो बाँधिइरहनेछ । तर, के त्यो चङ्गा उडिरहन्छ त ? यो कुरा धागोको होइन तर धागो कसको हातमा छ ? अर्को एउटा समाचार पनि छ । मानिसहरूले त ‘कसैले मेरो धागोलाई पक्रिऊन् अनि मैले मेरो जिम्मेवारीबाट मुक्ति पाउँछु’ भनेर बुझेका छन् । जिम्मेवारीबाट सबैलाई डर लाग्छ । कसैले पनि जिम्मेवारीलाई अपनाउन चाहँदैनन् । मेरो भनाइ त के हो भने, तपाईँको चङ्गा पनि तपाईँ नै हुनुहुन्छ, धागो पनि तपाईँ नै हुनुहुन्छ अनि धागोलाई समात्नेवाला पनि तपाईँ नै हुनुहुन्छ ।

खुशीको कुरा त तपाईँ जुन समस्याबाट उम्कन खोज्दै हुनुहुन्छ त्यो समस्यालाई सृष्टिकर्ताले बनाएका होइनन् । त्यो सबै मानिसले बनाएको समस्या हो । यो खुशीको खबर हो ! किन ? यदि सृष्टिकर्ताले बनाएका भए यसलाई बदल्न एकदमै गाह्रो हुन्थ्यो । मानिसले बनाएको हुनाले ती समस्यालाई समाधान गर्न सम्भव हुन्छ ।

सफलताको सिँढीमा तीनवटा कुरा हुन्छन् । एउटा बाँस एकातिर, अर्को बाँस अर्कोतिर अनि बीचमा भर्‍याङको खुड्किलो । आज दुनियाँको हालत त कस्तो छ भने त्यो बीचको भाग नै गायब भएको छ ! शुरुमा भर्‍याङमा माथि उक्लने मान्छेले नै बीचको भागलाई आफूसँगै लिएर गएको छ । अनि, दुईवटा बाँस मात्र बाँकी छ । एउटा बायाँतिर र अर्को दायाँतिर छ। अब त्यसमा कसरी चढ्ने भन्ने कुरा नै मूल समस्या हो । यसमा पनि खुशीको खबरचाहिँ के हो भने, त्यो भर्‍याङलाई दोहोर्‍याएर बनाउन सकिन्छ। तर, यसका लागि म मात्रै होइन हामी सबै पृथ्वीवासीहरू एकसाथ जुटेपछि मात्रै हामीले त्यो नयाँ सिँढीको निर्माण गर्न सक्छौँ । त्यो सिँढी नै साँचो सफलताको सिँढी हुनेछ र यो सम्भव छ ।

दोस्रो खुशीको खबर पनि छ । ती शान्तिका स्रोतका रूपमा रहेका अलख पुरुष अविनाशी, ती सृष्टिकर्ता कहाँ छन् ? यदि तपाईँ गरिब हुनुहुन्छ। तपाईँसँग पैसा नहोला । रेलमा यात्रा गर्नका लागि पैसा नहोला । हवाईजहाजका लागि पैसा नहोला, साइकल किन्ने पैसा नहोला तर पनि खुशीको खबर के हो भने, तपाईँले कतै पनि जानु आवश्यक पर्दैन । ती सृष्टिकर्ता तपाईँको हृदयभित्र छन् । स्वयम् नै तपाईँभित्र विराजमान छन् । तपाईँ पुगेका स्थानमा उनी पनि तपाईँसँगै जान्छन्। तपाईँ उनीबाट विमुख हुनै सक्नुहुन्न । यदि तपाईँ उनीबाट विमुख हुनुभयो भने तपाईँ यो जीवनरूपी रेलगाडीमा रहनुहुनेछैन।

कुनै पनि कार्य गर्नुभन्दा पहिला मानिसले कहिल्यै सोच्दैन। कहिल्यै विचारै गर्दैन । प्रविधिका पछि लागिरहन्छ। किन लाग्छ ? किनभने उसको बुझाइअनुसार उसको समस्याको हल भएमा उसको जीवनमा सुधार आउनेछ। प्रविधिको विज्ञापन गर्नेहरूको चाहना पनि यस्तै हुन्छ । यदि यो चीज तपाईँका सामुमा आएदेखि तपाईँका समस्याहरूको समाधान हुनेछ भन्ने हुन्छ। कति मानिसहरू त सेल्फी लिँदालिँदै मृत्युवरण गर्न पुगेका होलान् । उनीहरूलाई सेल्फी लिनु छ । किन लिनु छ ? किनभने, उसले आफ्ना साथीहरूलाई आपूm कति सुन्दर छु भनेर देखाउनुपरेको छ ।

यदि तपाईँले आफूले आफूलाई चिन्नुभयो भने तपाईँ कति सुन्दर हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ । तपाईँले सेल्फी लिने आवश्यकतै पर्दैन । यो श्वासको आवागमन नै ती सृष्टिकर्ताले तपाईँका लागि गरेको कृपा हो भन्ने कुरालाई बुझ्नुहोस् । तपाईँले यही एउटा चीजलाई जान्नु आवश्यक छ ।

समस्या समाधानका बारेमा कुरा गर्दा हरेक समस्याको हल हुन सक्ला नै । समस्या समाधानको अर्को एउटा सन्दर्भ पनि छ । धैर्य ! धैर्य गर्नुहोस् ! समस्याहरू आउँछन् । यदि आउँछन् भने पक्कै जानेछन् पनि । यदि आउँदै आएको छैन भने त फेरि जाँदैन नै । सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईँले त्यस चीजलाई बुझेर आफ्नो जीवनलाई सफल पार्न सक्नुहुन्छ । किनभने, तपाईँसँग यो जीवन छ । यो तपाईँको कमजोरी होइन । अहिले त तपाईँले यसलाई कमजोरीका रूपमा बुझ्नुहुन्छ । यो गलत कुरा हो । यो तपाईँको कमजोरी होइन, यही चीज तपाईँको शक्ति हो ! तपाईँमा यो श्वासको आवागमन भइरहनु नै तपाईँको वास्तविक शक्ति हो । अतः सबै एक समान छौँ । हामी सबै मानिस नै हौँ ! हामीभित्र यो श्वासको आवागमन भएसम्म हामीमाथि सृष्टिकर्ताको कृपा भएको छ । यसर्थ उठ्नुहोस् अनि यो जिन्दगीलाई स्वीकार गर्नुहोस् !

तपाईँ आफ्नो जीवनमा कुशल हुनुहुन्छ या हुनुहुन्न भन्ने कुराले निकै ठूलो महत्त्व राख्छ, किनभने ‘तपाईँलाई यो मानिसको शरीर प्राप्त भएको छ’, यो सबैभन्दा ठूलो कुरा हो । दोस्रो कुरा त ‘तपाईँ जीवित हुनुहुन्छ’ । यसको अर्थ के हो भने, तपाईँभित्र यो श्वास आइरहेको छ र गइरहेको छ । चाहे जेसुकै भए पनि, तपाईँको जीवनमा जे–जस्तो दुःख भए पनि तपाईँ कति भाग्यशाली हुनुहुन्छ भन्ने कुरालाई तपाईँले सधैँ ध्यान दिनु आवश्यक छ ।
तपाईँ शिक्षित हुनुहोस् या नहुनुहोस् । यसको सम्बन्ध तपाईँले जागिर खाने कुरासँग गएर जोडिएला । तथापि, तपाईँ पढाइ–लेखाइमा सक्षम नहुनुभए पनि केही छैन, किनभने मैले कुरा गरिरहेको पुस्तकलाई पढ्नका लागि आँखाको आवश्यकता नै पर्दैन । त्यो पुस्तकलाई पढ्नका लागि हृदयको आवश्यकता पर्दछ अनि त्यो तपाईँसँगै छ ।

जबसम्म तपाईँले आफ्नो हृदयबाट ‘मलाई के प्राप्त भएको छ र वास्तवमा शान्ति नै मैले खोजेको चीज हो अनि त्यो बाहिर होइन, मभित्रै प्राप्त हुन्छ’ भन्ने दृष्टिकोणले हेर्नुहुन्न तबसम्म सबै कुरा प्राप्त भएर पनि केही छैन ।

एउटा सानो कथा छ । एकजना मानिस पहाडको माथिल्लो भेगमा एउटा सानो छाप्रो बनाएर बसेका थिए । बिहान चराचुरुङ्गीको चिरबिर आवाज सुनिन थालेपछि उनी उठ्ने गर्थे । उठेपछि उनी अँगेनामा आगो बालेर चियाको चुस्की लिने गर्थे । एकदिन उनी त्यसै गरी उठे तर उनले केही देख्न सकेनन् । उनलाई लाग्यो– आज सूर्य नै ढिलो उदाउने रहेछ क्यार ! निकै नै अँध्यारो थियो । त्यो रातमा जून पनि लागेको थिएन । अँध्यारैमा उनले सलाई खोजेर आगो बाल्ने काम गरे । त्यो आगो पनि उनले देखेनन् । उनलाई लाग्यो– आजको आगो पनि प्रकाश नदिने खालको परेछ क्यार ! तातोचाहिँ भइरहेको छ तर प्रकाश दिइरहेको छैन । त्यसपछि उनी बाहिर निस्किए । उनको शरीरमा सूर्यका तापका कारण गर्मी महसुस पनि भयो । तर पनि, उनले सोचे– ‘वाह! अचम्मकै कुरा छ बा ! आज लागेको घाम त प्रकाश नदिने खाले पो रहेछ त । यो त तातो मात्रै बनाउने खालको परेछ ।’

यस्तो हुँदाहुँदै उनले दिनैभरि केही देख्न सकेनन् । एकजना सन्त त्यतैबाट गइरहेका थिए । उनी उनको छेउमा गएर सोध्छन्– ‘सन्तजी, आज सूर्योदय पनि भयो तर त्यो प्रकाश दिनेवाला सूर्य होइन रहेछ । त्यसले तातोचाहिँ भयो तर प्रकाश दिएन ।’
सन्त भन्छन्, ‘यस्तो कुरा त सम्भव नै हुँदैन ।’

उनी भन्छन्, ‘होइन, यस्तै नै भयो । बिहानदेखि अहिलेसम्म मैले सूर्यलाई देख्न सकिन । त्यसको तातोपनको महसुस त गरेँ तर सूर्यलाई देख्न सकिन ।’
त्यसपछि सन्तले भने, ‘खराबी त सूर्यमा होइन । समस्या तिम्रो आँखामा भयो । जसका कारणले तिमीले सूर्यको तातोपनको महसुस गरिरहँदा पनि त्यसलाई देख्न सकिरहेका छैनौ ।’

मानिसलाई दुःख हुँदा, कष्ट हुँदा उसले सृष्टिकर्तातिर हेर्न थाल्छ । वास्तवमा यो संसारमा यस्तो कुनै स्थान छैन जहाँ उनी नहोऊन् ! तथापि, तपाईँ उनलाई देख्न सक्नुहुन्न फलस्वरूप तपाईँ उनलाई बुझ्न पनि सक्नुहुन्न । संसारका अनेकौँ झन्झटको बोझ बोकेर तपाईँले आफ्नो जीवन व्यतीत गरिरहनुभएको छ। तपाईँ एकदिन यो संसारमा आउनुभयो अनि एकदिन तपाईँले यहाँबाट जानुपर्नेछ । खाली हात आउनुभएको थियो अनि खाली हात नै जानुहुनेछ।

पानीको एउटा–एउटा थोपा त्यो समुद्रमा हुन्छ भन्ने कुरा त सबैले बुझ्छन् तर के हामीलाई यो एउटा कुरा पनि थाहा छ त– त्यही थोपाभित्र पूरै समुद्र अटाएको छ ! अनि, त्यो थोपा तपाईँ हुनुहुन्छ । तपाईँ नै त्यो थोपा हुनुहुन्छ । तपाईँको जीवनमा यो थोपाभित्र पूरै समुद्र अटाएको छ तर तपाईँलाई नै थाहा छैन । तपाईँको यो शरीर एउटा थोपो हो । त्यो थोपोभित्र ती सृष्टिकर्ता, ती परम् शक्ति विराजमान छन् तर हामीले तिनलाई देख्न सकिरहेका छैनौँ । यसका लागि तपाईँले आफूभित्र जाने विधि जान्नु आवश्यक छ । जसद्वारा तपाईँ पनि आफूभित्र स्थित ती सृष्टिकर्तालाई चिन्न अनि बुझ्न सक्नुहुन्छ ।

बल्बद्वारा प्रकाश प्रवाहित हुन्छ अनि त्यो प्रकाशले गर्दा नै त्यहाँ भएको चीजलाई देख्न सकिन्छ । तर तपाईँको मनोकामनालाई पूर्ति गर्ने खालको प्रकाश हुँदैन । प्रकाश भएर त्यहाँ रहेको वस्तुलाई मात्र देख्न सकिन्छ । तपाईँले आफ्नो जीवनमा कमी वा अभाव महसुस गर्नुभएको चीज सदा तपाईँसँगै हुन्छ । तपाईँको गन्तव्य तपाईँभित्रै छ । अनि, त्यो गन्तव्य आफ्नो जीवनमा परम आनन्द र परम शान्तिलाई महसुस गर्नु हो ।

मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।