आर्थिक विकासका अवरोधकहरु

168
Shares

भनिन्छ, महाजनाय सः पन्था अर्थात् ठूलाबडाले लिएको बाटो नै सही बाटो हो। हामीले कसलाई ठूलाबडा भन्ने ? राजालाई, राष्ट्रपतिलाई वा प्रधानमन्त्रीलाई ? राजालाई भनौं भने देश गणतन्त्रमा गएर राजा पूर्वराजामा परिणत भए। राष्ट्रपतिलाई भनौं भने राष्ट्रपति संवैधानिक जिम्मेवारीमा रहेको अवस्था छ । भनेपछि अब प्रधानमन्त्रीलाई नै ठूलाबडा भन्नुपर्‍यो। प्रधानमन्त्रीमा राष्ट्रको कार्यकारी शक्ति निहित छ। विडम्बना, हाम्रो देशमा प्रधानमन्त्री प्रत्येक दुई वर्षमा परिवर्तन हुने परिस्थिति बनेको छ । मतलब, धेरै प्रधानमन्त्रीहरु पाउने भाग्यमानी जनतामा हामी पर्दछौं। सबै ठूला राजनीतिक दलका नेताहरु पालैपालो प्रधानमन्त्री हुँदै आएको कुरामा हामी अनभिज्ञ छैनौं । अब कुरा आउँछ यी सबै प्रधानमन्त्रीहरु महाजनाय हुन् त ? के सबै प्रधानमन्त्रीले उच्च सम्मानलायक काम गरेका छन् त ? राजनीतिक परिवर्तनको नेतृत्वकर्ताको हिसाबले वर्तमान प्रधानमन्त्रीज्यूलाई यस कोटिमा राख्न सकिन्छ, जसले सम्पूर्ण शक्तिहरुलाई संयोजन गरेर गणतन्त्र स्थापना गराउन सफल हुनुभयो। गणतन्त्र वा जुनसुकै राजनीतिक व्यवस्था साधन मात्र हुन् भन्ने कुरा कसैले बिर्सनुहुँदैन । साध्य वा लक्ष्य त जनताको समृद्धि हो। आर्थिक, सामाजिक रुपान्तरण हो । सामाजिक न्याय हो । कानुनी राज्य हो । सुशासन हो । जवाफदेहिता र पारदर्शिता हो ।

गणतन्त्र स्थापना भएको पनि १८ वर्ष पूरा भइसकेको छ । अनेकौं समस्याका पुलिन्दाहरु हेर्दा हाम्रो देशमा काम गराइको गति वा संवेदनशीलता निकै चिन्ताजनक छ । को हुनुपर्ने हो त यसको लागि जिम्मेवार ? राजनीतिक दलहरु होइन ? अनि मुलुकलाई सही दिशातर्फ डो¥याउन महामहिमहरुलाई कसले छेक्यो ? किन हामी आर्थिक, सामाजिक सूचकको हिसाबले पछाडि नै छौं त ? हाम्रो देशको वर्तमान सूचकहरुमा सकारात्मक संकतेहरु देखा परेको कुरालाई स्वीकार्दै गर्दा पनि यो समग्र समयावधिको औसत हेर्दा हामी निराश नै छौं । सरकारको नेतृत्वकर्ता सम्पूर्ण नेतागणमाथि नै यो प्रश्न सोझिन पुग्दछ । तर एक योग्य मानिसले मौका पायो भने कसरी समयको सदुपयोग गर्दछ भन्ने कुरा संसारका सफल राष्ट्रका नेतृत्वहरुबाट जानकारी लिन सकिन्छ ।

सिंगापुरको आर्थिक रुपान्तरणको यात्रालाई नियाल्दा सन् १९६५ देखि सन् १९८० सम्मको अवधिलाई स्वतन्त्रतापछिको अवधिमा लिइन्छ, जसको नेतृत्व प्रधानमन्त्री ली क्वान युले गरेका थिए । उनले विशेष रणनीति अगाडि सार्दै आर्थिक विविधता, पूर्वाधार विकास र सामाजिक विकासलाई दृढताका साथ अगाडि बढाए। आर्थिक विविधतामा विदेशी लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्न आवश्यक पूर्वाधारमा विकास, विद्युत् तथा उत्पादनमूलक उद्योगहरुमा विशेष जोड दिए।

शिक्षा, सडकलगायतका पूर्वाधार र सार्वजनिक आवास कार्यक्रमहरु पूर्वाधार विकासअन्तर्गत पर्दछन्। सामाजिक विकासमा उनले गरेको युगान्तकारी काम भनेको कानुनी राज्यको अवधारणा र राज्यका हरेक तहमा उत्कृष्ट व्यक्तिहरुलाई अवसर (मेरिटोक्रेसी)। सबभन्दा माथि यी सबै रणनीतिहरुलाई इमानदारिताका साथ कार्यान्वयन गर्ने संस्थागत संरचना निर्माण गरे, जसमा मेरिटोक्रेसी नीतिले कायापलट नै गर्‍यो । नेतृत्वको उत्कृष्ट कार्यसम्पादनको कारण सिंगापुरको आर्थिक, सामाजिक विकासले सन् १९८० देखि २००० सम्ममा प्रौढता प्राप्त ग¥यो । यस अवधिमा सिंगापुरले वित्तीय क्षेत्र, सूचना प्रविधि र माइक्रोबायोलोजीमा ठूलो फड्को मार्‍यो। संसारभरिका पूँजीलाई आकर्षित गर्‍यो, प्रविधि र नवप्रवर्तनलाई भरपूर उपयोग र विकास ग¥यो । सन् २००० यता सिंगापुर एउटा ग्लोबल सिटीको रुपमा स्थापित भइसकेको छ । खास गरी स्मार्ट सिटी, हरित शहर र शहरी विकासको कार्यक्रमका माध्यमबाट दिगो विकासका अभियानहरु अगाडि बढाइयो । यत्ति मात्र नभएर बेलाबेलामा देखा पर्ने आर्थिक संकटसँग जुध्न सक्षम राष्ट्रको रुपमा विकास गर्दै सुशासन, पारदर्शिता र कानुनी राज्यको मान्यतालाई सफलरुपमा अवलम्बन गर्दै आएको छ। यी कुराहरुको अतिरिक्त बाह्य संसारसँगको दरिलोरुपमा एकाकार र अन्तर्राष्ट्रिय आर्थिक, व्यापारिक मञ्चहरुमा सशक्त उपस्थितिले सिंगापुर एउटा अत्यन्त आशा लाग्दो र उदाहरणीय मुलुकको रुपमा विकास भइसकेको छ। अतः सिंगापुरलाई सफल राष्ट्रको रुपमा पु¥याउने व्यक्तित्व ली क्वान यु थिए र सिंगापुरले अपनाएको रणनीतिलाई बुँदागदरुपमा भन्नुपर्दा निम्नानुसार रहेका छन्– (क) सरकारी नीति (ख) मानव पूँजी (ग) कानुनी राज्य र (घ) पूर्वाधार विकास ।

हामी आफ्नो जीवन दर्शनलाई कसरी बुझ्ने ? ‘ऋणं कृत, घृत पिवेत्’ भन्ने चार्वाक दर्शनको मूल आशय के हो भने, ऋण गरेर भए पनि घिउ पिउनु । जिउँदो छउन्जेल प्रशस्त भोग गर, मोज गर, यति मोज गर कि आफ्नो आम्दानीले पुग्दैन भने ऋण गरेर भए पनि मोज गर । यो नै हो चार्वाकवादी भोगविलास । भोगविलासले अर्थतन्त्रलाई पक्कै पनि चलायमान बनाउँछ । कुल माग बढाउँछ । उत्पादन बढाउन प्रेरित गर्दछ र रोजगारी वृद्धिमा कारक बन्न सक्छ । तर भोगविलासी नेता भए भने देश डुब्छ । जनता आफ्नो आयको सीमा हरेर भोगी बन्न सक्लान् तर नेता भने भोगी होइन, त्यागी र संयमी नै हुनुपर्दछ । आफूमात्र सम्पत्ति कमाउने, सुख–सुविधा उपभोग गर्ने, स्वास्थ्य लाभ गर्ने, आफन्तहरुको विशेष ख्याल राख्ने, आफ्नाको सोह्रखत माफ हुने, कानुनको धज्जी उडाउने, सुशासनमा सिन्को नभाँच्ने, कानुनी राज्यको धज्जी उडाउने आदि काम गरेर देशमा रुपान्तरण सम्भव छैन । त्याग र बलिदानविना सफलता प्राप्त हुँदैन भन्ने सबैलाई थाहा छ तर त्यो संस्कारमा नभएपछि व्यवहारमा उतार्न गाह्रो हुन्छ । तसर्थ समस्या भोगविलासमा नै देखिन्छ । हामी भोगविलासी नेतृत्वको कारणबाट पछाडि परेका हौं । अतः सादगी र दूरदर्शी नेतृत्वले राष्ट्रलाई एउटा निश्चित गन्तव्यमा पु¥याउन दृढ संकल्पित हुन सम्भव छ, जुन सिंगापुर, मलेसिया, भारत र चीनका नेताहरुको जीवनीबाट प्रस्ट हुन जान्छ ।

अर्को समस्या भनेको बुद्धिविलास हो । जब बुद्धि आविष्कारमा परिणत हुन्छ, त्यो राष्ट्रको निम्ति उपयोगी हुन जान्छ । तर अनावश्यक तर्क–वितर्क गर्ने, अर्काको चियोचर्चो गर्ने, कानुनी छिद्रहरु खोज्ने, अरुलाई कसरी फसाउन सकिन्छ भनेर दिनरात चिन्तन गर्ने, हावामा देश विकास गर्ने, हचुवाको भरमा पूर्वाधार बनाउने, हावाका रोजगारी र कृषि क्रान्ति गर्ने, हावामा पर्यटक भित्र्याउने, हावामा आर्थिक वृद्धि गर्ने र हावामै देशलाई सिंगापुर बनाउने । यो हावा प्रवृत्ति राजनीतिक नेतृत्वदेखि कर्मचारीसम्म, पत्रकारदेखि वकिलसम्म, शिक्षकदेखि प्राध्यापकसम्म जताततै देखिन्छ।

यहाँ शिक्षक र प्राध्यापक किन भनिएको हो भने, कतिपय शिक्षक साथीहरु अमुक राजनीतिक दलको झोला बोकी राजनीति गरेर मात्र हिँडेको पाइन्छ । उनीहरुको न्यूनतम कक्षाभार कसले लिइदिन्छ, कसरी विद्यार्थीले असल शिक्षा पाउन सक्छन् र कसरी समाज परिवर्तन हुन्छ ? आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको खातिर भावी पुस्तालाई अन्धकारमा राख्न त उचित भएन नि ! यही समस्या कतिपय प्राध्यापकहरुमा पनि छ । कक्षामा नजाने वा गए पनि न्यूनतम कक्षाभार लिने तर बाहिर शक्तिकेन्द्रहरुमा म फलानो प्रोफेसर, डाक्टर भनेको भरमा लाभको पद हात पार्ने प्रवृत्ति छ।

आफ्नो कक्षाभार लिनुको साथै अतिरिक्त कक्षा लिएर भए पनि विद्यार्थीलाई पार लाउने प्राध्यापक ती टपरटुइयाँहरुको अगाडि सानो र निरीह बन्नुपरेका कैयौं अनुभव सुन्न पाइन्छ । जसलाई जे गर्न भनेर नियुक्ति दिइएकोे हो त्यो नगरेर अन्यथा गर्ने छुट मात्र होइन पुरस्कृत गर्ने ऐँजेरु संस्कृतिको कारण पनि हाम्रा संस्थाहरुको कुशलतामा प्रश्न उठ्ने गरेको तीतो यथार्थ हो। कामको भन्दा पनि गफको सुनुवाइ हुने यस प्रकारको समाजमा हामी खुशी खोजिरहेका छौं । आफ्ना सन्ततिको भविष्य खोजिरहेका छौं। यो प्रवृत्ति मात्रात्मकरुपमा तल–माथि भए तापनि सबै निकायहरुमा व्याप्त छ । यो बेथितिको निम्ति को जिम्मेवार छ ? के यसलाई निरन्तरता दिनु जरुरी छ ? नीति निर्माण वा कार्यकारी तहमा ठोसरुपमा ठोस नीति कार्यक्रम र रुपान्तरणकारी कदम चाल्नेतर्फ भन्दा पनि जनतालाई एकछिन् रनभुल्ल पार्ने हिसाबले कामहरु सतहीरुपमा मात्र भएका छन् । हामी आर्थिक विकासका निम्ति के–कसो गर्नुपर्दछ भनेर छलफल गर्छौं, अनुसन्धान गर्छौं, योजना बनाउँछौं । तर ती कतै न कतै यथार्थभन्दा पर गएको पाउन सकिन्छ । त्याग र इच्छाशक्ति नै नभएपछि केही पनि प्राप्त हुन सक्दैन भन्ने कुरा हाम्रा योजनाहरुको लामो इतिहासबाट पनि स्पष्ट हुन आउँछ । काम गर्न धरै ठूलो हल्ला र बुद्धिविलास गर्नै पर्दैन । काम गर्न नसक्नेहरुले आफ्नो कमजोरी लुकाउन गर्ने उपाय भनेकै गफ हो । गफबाट मानिसहरुलाई एकछिन्को निम्ति आकर्षित त गर्न सकिन्छ तर गफले मुसो मार्न सकिँदैन । एउटा चिनिया उखान छ– बिरालो कालो होस् या सेतो तर मुसो समाउन सक्नुपर्दछ । यो प्रवृत्तिलाई सत्तावरपर र सञ्चारजगत्मा आफूलाई खाँटी विद्वान् देखाउन रुचाउनेहरुले मजाले उचालेको पाइन्छ ।

देशको आर्थिक वृद्धि र आर्थिक, सामाजिक विकासमा धेरै गर्न नसके पनि विभिन्न किसिमका सीमितताहरुका बीच केही थोरै कामबाट पनि यी उपलब्धिहरु प्राप्त गर्न सकिन्छ । ठूला–ठूला गोष्ठी, सेमिनार र तामझाम त देखाउने कुरा मात्र हुन् ।

एउटा व्यक्तिले मात्र चाह्यो भने पनि धेरै गर्न सकिन्छ भन्ने कुरा महावीर पुन, बालेन शाह, सन्दुक रुइत, कुलमान घिसिङहरुले पुष्टि गरिसके त । राजनीतिक दलहरु विकासको निम्ति गतिदाता अर्थात् ‘स्पिड मेकर’ हुन् कि गति अवरोधक अर्थात् ‘स्पिड ब्रेकर’ हुन् ? अब राजनीतिक दलहरु र नेतृत्वको सोलोढोलो मूल्यांकन हुनुपर्दछ अनि नयाँ शिराबाट देश अगाडि बढ्नुपर्दछ ।

अब हामी सबै रुपान्तरित हुनै पर्दछ । यथास्थितिमा देश अडिइरहनुहुँदैन । तसर्थ देशको आर्थिक विकासको निम्ति न्यूनतमरुपमा भए पनि तपसिलका कामहरु गर्ने दृढ इच्छाशक्ति (१०० प्रतिशत) सहितको राजनीतिक नेतृत्व भए देशले लय समाउन सक्छ– (क) कानुनी राज्यको परिपालना, (ख) निष्पक्ष अदालत, (ग) राज्यका हरेक तहमा मेरिटोक्रेसी, (घ) पारदर्शिता र सुशासन, (ङ) अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण ।

यी मात्र पाँच बुँदाहरुमा प्रतिबद्ध रहन सरकारले मातहतका निकायमा कडा परिपत्र जारी गर्ने र संवैधानिक निकाय र प्रेसलाई दलीयतामा भन्दा राष्ट्र निर्माणमा जिम्मेवार बन्ने वातावरण तयार पार्नेबित्तिकै धेरै कुरा स्वतः सिस्टममा आउन थाल्नेछन् । अब भोगविलास र बुद्धिविलासमा समय खर्च नगरौं, कर्म गरौं । आर्थिक विकास कर्मबाट मात्र सम्भव छ, आजै सम्भव छ । देशले यो कामको नेतृत्व गर्ने महाजनको प्रतीक्षा गरिरहेको छ ।