पतञ्जलीद्वारा सिट थप्न दबाब

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन गर्दै



  • आयोग भन्छ: अनुगमन नगरी सिट थप्न मिल्दैन
  • विश्वविद्यालय भन्छ : विगतमा आयोगले गल्ती गर्‍यो

काठमाडौं ।

नेपाल संस्कृत विश्वविद्यालयको अनुमति बेगर गत वर्ष २० सिट पाएको पतञ्जलि आयुर्वेद क्याम्पसले यो वर्ष फेरी सिट थप्न दबाब दिन थालेको छ। गत वर्ष चिकित्सा शिक्षा आयोगले मनपरी रूपमा सिट निर्धारण गरेपछि विश्वविद्यालय आक्रोशित भएको थियो।

विश्वविद्यालयका सहायक डीन डा.राजेश्वर अर्यालले गत वर्ष विश्वविद्यालयसँग सोध्दै नसोधेर सिट निर्धारण गरेको बताउनुभयो। भन्नुभयो–आयोगले मनपरी गरेपछि विश्वविद्यालयले आन्तरिक छानबिन गरेको थियो । आयोगका तत्कालीन पदाधिकारीसँग सोधेको थियो ।

 जसले सम्बन्धन दिन स्वीकृत दिन्छ उसैलाई सिट निर्धारण गर्न नबोलाएको उहाँको भनाई थियो । कलेजले सरकारको उपल्लो तहको अधिकारीको  दबाब दिएर सिट निर्धारण गरेको आरोप विश्वविद्यालयको छ।

 आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले विश्वविद्यालयको अनुगमन र अनुमति बेगर सिट निर्धारण गर्न नसकिने बताउनुभयो । भन्नुभयो–अघिल्लो वर्ष पनि विश्वविद्यालयले अनुगमन गरे /नगरेको विषयमा आफूलाई जानकारी छैन । ‘यो वर्ष सबै प्रक्रिया पुरा गरेर सिट निर्धारण गर्नेछौ । यति सिट दिनुस् भन्दैमा पाइँदैन त, नियममा जस्तो व्यवस्था छ सोही आधारमा सिट सङ्ख्या उपलब्ध गराइनेछ’–सदस्यसचिव काप्रीको भनाई थियो ।

गत वर्ष २० सिट मात्र पाएको क्याम्पसले  यो वर्ष ४०  सिट थप्न दबाब दिन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयार गरेको छ। विद्यार्थीको परीक्षा शुल्क नदिएर बिचल्ली पारेको योगपीठले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बोलाएर सम्मेलन गर्ने तयारी गरेको छ। उच्च स्रोतका अनुसार अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन भने पनि सो सम्मेलनमा नेपाल र भारतका योग र आयुर्वेद चिकित्सक मात्र सहभागी हुने भएका छन्।

सम्मेलन २३ देखि २५ गतेसम्म धुलिखेल आयुर्वेद केन्द्रमा हुनेछ । सम्मेलनमा आचार्य वालकृष्ण र भारतीय राजदूत नविन श्रीवास्तब विशिष्ट अतिथिको रूपमा आमन्त्रण गरिएको छ । स्वास्थ्य मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई अतिथिको लागि निम्तो दिएको छ।

अस्पताल सञ्चालन गर्न नसकेर समस्यामा परेको योगपीठले आयोग र विश्वविद्यालयलाई दबाब दिन सम्मेलन आयोजना गर्न लागेको स्रोतको भनाई छ। कलेजको शुल्क तिर्न नदिन मुख्य भूमिका खेल्नुभएका ट्रस्टी शालिकराम सिंहको एकल निर्णयको कारण क्याम्पस र अस्पताल सङ्कटमा परेको छ।

अस्पतालमा सिट थप गर्न केही कर्मचारी माग गर्ने तयारी गरेको छ । ‘कर्मचारी र चिकित्सक सहितको भौतिक संरचना देखाएर सिट थप गर्ने कसरतमा सिंह लाग्नुभएको छ–स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

२५ शय्याको अस्पताललाई पूर्वाधार देखाएर सय शय्याको बनाउने गोप्य योजनाका साथ सम्मेलन आयोजना गर्न लागेको स्रोतको भनाई छ । सो विषयमा जानकारी लिन मोबाइल गर्दा ट्रस्टी सिंहले मोबाइल उठाउनुभएन।

सम्मेलनमा के विषयमा छलफल हुन्छ ? भन्ने बारेमा जानकारी छैन। केवल भारतको हरिद्वार स्थित पतञ्जलि योगपीठ, नेपालका केही आयुर्वेद चिकित्सक लगायत ट्रस्टी सिंहले उपलब्ध गराएको व्यक्ति  सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्