लोक दोहोरी गीतमा बढेको विकृति हटाउन गृहमन्त्रीको आग्रह



काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतको क्षेत्रमा बढेको विकृति न्यूनीकरण गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आज ज्ञापनपत्र बुझ्दै उनले जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिको मारमा गीत–संगीत क्षेत्र पनि परेको भन्दै मौलिक पक्षको जगेर्नाका लागि सरकारसहित सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

मन्त्री लामिछानेले भने– ‘ग्ल्यामर र भल्गरबीच फरक छुट्याउन आवश्यक छ। स्वतन्त्रतामा पनि अनुशासन आवश्यक हुन्छ भन्ने कुरा समाजले भुल्दै जाँदा विकृति बढेका छन्। कलालाई सर्जकले आफू अनुकूल व्याख्या गर्ने र अरुले निजको भन्दा फरक व्याख्या गर्दा कला नै नबुझेको अर्थ लगाउने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ। समस्या समाधानका लागि कलाको पनि मानक र मापदण्ड बनाउन आवश्यक छ।’

मापदण्डमा जाँदा अभिव्यक्ति स्वतन्त्रतामै अंकुश लगाउन खोजेको चर्चा हुनेतर्फ पनि ध्यान दिनुपर्ने भन्दै उनले नियन्त्रण र नियमनबीचको अन्तर पनि बुझ्नुपर्नेमा जोड दिए। लोक तथा दोहोरी गीत क्षेत्रका विकृति नियन्त्रणमा आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि छलफल गर्ने-गराउने प्रतिवद्धता व्यक्त गरे।

ज्ञापन पत्र बुझाउन पुगेका रिता थापा, बद्री पंगेनी, पशुपति शर्मालगायतका कलाकारले लोक तथा दोहोरी गीत पछिल्लो समय अत्यन्तै अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई समेत खलल पुर्याउने खालको हुँदै गएको, दोहोरी र्याप र ब्याटलको नाममा मौलिकता नष्ट गर्न थालिएको, दोहोरी साँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिन छोडिएको, मेला–महोत्सवमा समेत उच्श्रृंखल र अमर्यादित गीत–संगीतको दबदबा बढ्न थालेको भन्दै नियन्त्रणमा सहयोग गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्