मण्डन देउपुर माझी गाउँले भुकम्पपछि अझै पूर्णता पाएन्

भुकम्पमा कोक्राभित्र ६ घण्टा थुनिदा पनि बाँचेकी सुन्दरीको भविष्य के होला ?



काभ्रे  ।

घर भत्किएर पूर्णरुपमा भग्नावशेष भएको ६ घण्टा सम्म पुरिएको एउटा ४ महिनाको बच्चा जिविति भेटियो भन्ने खबर झट् सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यथार्थ त्यहि थियो । २०७२ सालको विनासकारी भुकम्पमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नं १० स्थित माझी गाउँको घटना हो ।

मण्डन देउपुर नगरपालिकाका सदस्य तथा न्यायिक समितिका सदस्य राजकुमार माझी भन्नुहुन्छ–२०७२ सालको महाभुकम्पमा मण्डन देउपुर नगरपालिका वडा नं १० का १ सय १५ घरधुरी रहेको माझी गाउँमा १२ जनाको ज्यान गयो । यो जिल्लाकै ठूलो र पिडादायि घटना हो । त्यतिबेला माझीगाउँ पुरै शोकमा डुब्यो । भुकम्पले यो बस्तिका अधिकांसको बास उठायो । कतिका अभिभावक, बालबालिकाको ज्यान लियो ।

यहि ठाउँमा ४ महिनाकी सुन्दरी माझी पनि भुकम्प आउँदा घरभित्रै कोक्रोमा थिईन् । उनका बाबु आमा काममा गएका थिए । घर भत्किएपछि उनीहरु आतिदै घर पुग्दा छोरीलाई देखेनन् । हारगुहार गर्दै मेरी छोरी भित्र जिवितै रोईरहेकी छ भन्दै आमाले अलाप विलाप गर्दै रुन थालिन ।

उनी आफै भत्किएको भग्नावशेषमा छोरीको आवाज आईरहेको छ भन्दै खन्ने, खोस्रने गरि भित्र पसिन । त्यतिञ्जेल माझीगाउँ शोकमा डुविसकेको थियो । सारा गाउँलेले ती बालिकालाई जिवितै उद्धार गर्न सकिने कल्पना सम्म गरेका थिएनन् । तर सुन्दरीकी आमाले छोरी जिवितै छ जसरी पनि बचाउँनुपर्छ भन्दै हारगुहार गरिरहिन ।

गाउँ समाजका सबै लागि परे सुन्दरीको आमाका जस्तै चित्कार गाउँभरि फैलिसकेको थियो । सबैले आ आफ्नो ठाउँबाट ज्यानकै बाजी लगाएर घाईतेहरुको उद्धार गरिरहेका थिए । ६ घण्टाको प्रयासपछि सुन्दरीलाई जिवितै भग्नावशेषबाट उनकै आमाले कोक्रो समेत निकालिन र मेरी छोरी जिवितै छ भनिन् । वास्तवमै उनी सकुसल कोक्रोभित्र भेटिईन् ।

उनलाई सुताएको कोक्रोमाथी घरको निदाल र दलिन छड्के परेछ र कोक्रो थिचिनबाट जोगिएछ । बच्चालाई सकुशल पाउँदा उनकी आमा हर्षले विभोर हुँदै मेरी छोरी जिवितै छ, जिवितैछ भन्दै धेरैबेर कराईरहिन । उनी सम्हालिदा माटै माटो भएकी थिईन् राजकुमार माझी भन्नुहुन्छ ।

यहाँ भुकम्पले ३ बर्षको बच्चा देखि ६५ बर्षका बृद्धबृद्धालाई लग्यो । आज ती बाँचेकी ४ महिनाकी बालिका स्थानिय बिन्दावासिनी सरकारी विद्यालयमा अध्ययन गर्छिन । भुकम्पले भत्काएको उनको घर स्थानिय सरकारसँगको सहमतिमा कारितास नेपाल नामक गैह्र सरकारी संस्थाले बनाई दियो । आज उनी त्यहि घरमा बस्छिन् ।

साथीभाईहरुसँग विद्यालय जाने, घरमा फर्किएपछि छरछिमेकमा साथीभाईहरुसँग रमाउँदै खेल्छीन यो देख्दा खुशी लाग्छ माझी भन्नुहुन्छ । सुन्दरीलाई त्यतिबेलाको घटना कथा जस्तो लाग्छ । कसैले सोधेभने मलाई केही थाहा छैन भन्दै लजाउँछिन् । निकै लजालु स्वभावकी सुन्दरी अहिले पनि बाबु आमा कामबाट कहिले फर्केलान भनेर त्यहि कोक्रोमा थुनिएको स्थानमा बनेको जस्ताको घरमा बस्छिन् । गाउँघरमा खुशीसाथ घुम्छिन् ।

उनको त्यो अबोध अनुहारमा विगतको कुनै छनक देखिदैन । अरुले यी भाग्यले बाचेकी बालिका हुन् भन्दा खिस्स हासेर स्वीकारेझै गर्छिन ।भुकम्पका कारण धेरै मानिसको धनजनको क्षति भयो । कति मानिस भुकम्पमा घर भत्किएर पुरिएको अवस्थामा घण्टौपछि उद्धार गरि बचाएका घटना पनि ताजै छन् ।

सुन्दरी बाँचेर भुकम्पको भग्नावशेष देख्दै र आफ्नो त्यो दिनको पिडादायि यथार्थ सुन्दैछिन् । तर त्यहि ठाउँमा श्रीमतीलाई भुकम्पबाट बचाउँन घरभित्र पसेर श्रीमतीको हात समातेर ढोका सम्म ल्याई पुर्याएका ६५ बर्षिय हजुरबुबा र उहाँकी ६० बर्षिय श्रीमतीले त्यतिबेलै यो संसार छोडे । श्रीमती बचाउँछु भनेर घरभित्रबाट श्रीमतीलाई हात समातेर निस्कदै गर्दा ढोकाको ठेलामा पुग्दा श्रीमान ढोका बाहिर र श्रीमती ढोकामा एकले अर्काको हात समातेको अवस्थामा घर ढलेर थिच्दा ढोकामै मृत्यु भएको दर्दनाक घटना राजकुमार माझी सुनाउँनुहुन्छ ।

अर्का एक १२ बर्षको बालक भुकम्प आएको १२ दिन सम्म खोज्दा पनि भेटिएनन र स्काईभेटर ल्याएर भग्नावशेष पुरै खनेर हेर्दा गौको छुवालीभित्र छिरेको मरेर कुही सकेको अवस्थामा फेला पर्यो । उनको परिवारलाई स्थानिय सरकार, संघसंस्था सबैले सघाए तर एउटै सन्तान गुमाउँदाको पिडाले बाबु विछिप्त बने । पुन निमार्णका लागि घरको जगनै खन्न नदिने अवस्थामा पुगेपछि मण्डन देउपुर नगरपालिकाका मेयर टोक बहादुर वाईवाले उहाँकै पहलमा उपचार गराउँनुका साथै घर पुनः निमार्ण गर्ने कार्यलाई पूर्णता दिनुभयो १० नं वडाका वडा अध्यक्ष कुमार तामाङ भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ अझै पनि माझी गाउँमा पुननिमार्ण राम्रोसँग हुन सकेको छैन ।

तल इन्द्रावती वग्छ, त्यसकै माथि रहेको बस्तीमा खानेपानीको समस्या छ । लिफ्ट गरेर मुहानबाट पानी चढाएका थियौ मेशिन विग्रीएर समस्या भएकोछ । दुईसाता अघि मात्र मण्डन देउपुर नगरपालिकाको प्रमुख कार्यकारी अधिकृतका रुपमा किर्तिपुर नगरपालिकाबाट मण्डन देउपुर पुग्नुभएका लक्ष्मीप्रसाद सापकोटा पनि माझी गाउँको घटना चाख दिएर चौतारिको छेवैमा बसेर सुनिरहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्