हमाससँगको युद्धको छायाँमा इजरायलको ७६ औं राष्ट्रिय दिवस



काठमाडौं । 

प्यालेष्टिनी लडाकु समूह हमाससँग युद्धरत् इजरायलको ७६ औं राष्ट्रिय दिवस अर्थात स्वतन्त्रता दिवस आतंकबादविरुद्धको लडाईको छायाँमा परेको छ । गत मे १४ मा इजरायलले हमाससँगको सात महिना लामो युद्ध छिट्टै टुंगिने अपेक्षासहित विगतका वर्षहरुमा भन्दा फरक सामान्य रुपमा राष्ट्रिय दिवस मनाएको थियो ।

काठमाडौंस्थित इजरायली दूताबासले बिहीबार लाजिम्पाटस्थित दूताबासमा आयोजना गरेको ७६ औं राष्ट्रिय दिवसमा पनि हर्षोल्लासभन्दा हमासले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको बर्बरतापूर्ण आक्रमण र उनीहरुले आफ्नो कब्जामा राखेका बन्दीहरुको सुरक्षित रिहाईको विषयले सबैलाई चिन्तित तुल्याएको थियो ।

उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने एक जनालाई हमासले आफ्नो कब्जामा लिएको थियो । त्यतिखेर हमासको कब्जामा परेका विपिन जोशीको अझै केही अत्तोपत्तोे छैन । हमासले जोशीसहित १ सय २५ जनालाई बन्दी बनाएको छ र इजरायलले उनीहरुलाई सुरक्षित घर फर्काउनु आफ्नो प्रमुख लक्ष्य रहेको निरन्तर भन्दै आएको छ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको इजरायली राष्ट्रिय दिवस समारोहमा बोल्दै नेपालका लागि इजरायलका राजदूत खनान गोदेरले भावुक हुँदै प्रश्न गर्नुभएको थियो– ‘स्वतन्त्रता र सार्वभौमिकता कुनै पनि राष्ट्रको लागि सबैभन्दा प्रिय हुन्छ । हामीले गुमेको आफ्नो स्वतन्त्रता र सार्वभौमिकता पुनः प्राप्त गर्न २ हजार वर्ष लाग्यो । यतिका वर्षपछि अझै हामी हाम्रो राष्ट्रिय पहिचानको बारेमा कुरा गरिरहेका छौं तर किन?’

उहाँले नेपाल र इजरायल दुबै साना राष्ट्र भए पनि प्राकृतिक र सांस्कृतिक रुपले दुबै सम्पन्न मुलुक भएको जिकिर गर्दै भन्नुभयो– ‘यो दु्रत गतिमा परिवर्तन भइरहेको विश्मा नेपाल र इजरायल दुबै राष्ट्र साना छन् र हामी आफ्नो राष्ट्रिय पहिचानलाई कायमै राख्न प्रयत्नशील छौं । त्यसैले त भौगोलिक रुपमा निकै टाढा भएता पनि हाम्रो सम्बन्ध निकै नजिकको छ र हाम्रो मित्रता मजबुत छ । आगामी दिनमा पनि यो मित्रता अझै मजबुत हुँदै जाने विश्वास छ ।’

उहाँले दक्षिण एसियाली मुलुकहरुमा नेपालले नै सबैभन्दा पहिला इजरायललाई राष्ट्रको रुपमा मान्यता दिएको भन्दै नेपालको सहासप्रति कृतज्ञता पनि प्रकट गर्नुभयो।

समारोहमा पूर्व मन्त्रीहरु, सांसद, विभिन्न दलका नेता, काठमाडौंस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा संचारकर्मीहरुको उपस्थिति थियो । समारोहमा इजरायली फोटो पत्रकारले जीभ कोरेनले खिच्नुभएको हमास आक्रमणको विध्वंसहरुका फोटोहरु पनि प्रदर्शनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्