तिलगंगामा मिस नेपाल २०२३ सृच्छा प्रधानको चस्मा हटाउने स्माइल प्रो लेजर सर्जरी

5.26k
Shares

काठमाडौँ। 

तिलगंगा आँखा प्रतिष्ठानमा मिस नेपाल २०२३–सृच्छा प्रधानको स्माइल प्रो लेजरबाट चस्मा हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यो नेपालमा उपलब्ध एक मात्र रोवोटिक लेजर आई सर्जरी प्रविधि हो । स्माइल प्रो विश्वमा एक मात्र लेन्टीकुलर ईक्ट्राक्सन एफडिए प्रमाणित प्रविधि हो ।

यस प्रविधिबाट ‘माइनस’ १४ तथा ‘प्लस’ ६ डायप्टर सम्मको पावर भएको चस्मा लगाईरहेका व्यक्तिहरुको चश्माको पावर हटाउनको लागि यो सर्जरी उपयुक्क्त हुन्छ । यस्तो सर्जरी गर्न पहिला आँखाको विस्तृत जाँच गरिन्छ, त्यसपछि मात्र सर्जरी गर्न मिल्ने नमिल्ने थाहा हुन्छ । विशेषत दृष्टि दोष (पावर चस्मा लगाउनुपर्ने समस्या) हुनेलाई यस्तो सेवा प्रदान गरिने तिलगंगा आँखा प्रतिष्ठान  रिफ्रयाक्टीभ सर्जन डा. बन्दना खनालले बताउनुभयो । पेशागत रुपमा चस्मा लगाउन नमिल्ने र अप्ठारो हुने जस्तै खेलाडी, एयरहोस्टेज,  टेलिभिजन समाचार वाचक साथै विभिन्न पेशामा आवद्ध प्रोफेशनल, काम गर्नुपर्ने युवा अवस्थाका व्यक्तिहरुको लागि यो सर्जरी राम्रो विकल्प हुन सक्छ ।

रिफ्रयाक्टीभ सर्जन डा. कौशल पोखरेल भन्छन्, सुरुको अवस्थामा माइनस ‘१४’ सम्म र प्लस ‘६’ सम्म गर्ने गरिन्थ्यो । तर विगत डेढ वर्ष अघि देखि माइनस १४ भन्दा धेरै पावर हुनेहरुको पनि लेन्स एक्सचेन्ज र फेकिक आई व एल प्रविधिद्धारा सर्जरी गर्दै आएका छौ । ४० वर्ष नाघेका व्यक्तिहरुमा नजिकको समस्या हुने र त्यसका लागि छुट्टै प्लस पावर प्रयोग गर्नुपर्ने हुँदा झन्झटिलो हुने यस्ता व्यक्तिहरुका लागि पनि लेजर सर्जरी उपयुक्त विकल्प हुन्छ।

तिलगंगा आँखा अस्पतालले सुरु गरेको  रिफ्रयाक्टीभ सर्जरीबाट  हालसम्म २०,००० भन्दा बढीको चस्मा हटाउने शल्यक्रिया गरिसकेका छन् । अस्पतालले सन् २००३ बाट यो सेवा शुरु गरेको यस सेवा लिन नेपाली मात्र नभई विदेशीहरु उल्लेख्य संख्यामा आउने स्रोतले बताएको छ । नेपालमा यो सेवा सुरु हुनुभन्दा अघि भारत तथा अन्य मुलुकमा गएर सर्जरी गर्नुपर्ने बाध्यता थियो ।

सन् २०११ बाट लण्डन भीजन क्लिनिक  तथा युएसआइडीको सहयोगमा स्तरउन्नती गरि सञ्चालन मा रहेकोे उक्त सर्जरीका लागि आवश्यक मेसिन जर्मनी बाट ल्याइएको छ । हाल प्रयोगमा आईरहेको नयाँ भिजुयोम्यक्स ८०० मेसिन नेपालमा एक मात्र लेन्टीकुलर ईक्ट्राक्सन एफडिए प्रमाणित मेसिन हो । यो रोबटिक प्रविधिमा आधारीत भएकोले शल्यक्रियाको सुनिश्चितमा बढि विश्वस्निय छ । जुन मेसिनबाट ९ देखी १५ सेकेन्ड भित्र लेजरले काम गरिसक्छ ।

शल्यक्रिया पश्चात ३ देखि  ६ दिन भित्र घाउ निको भइसक्दछ । केही व्यक्तिहरुले शल्यक्रिया  पश्चात  आँखामा सुख्खापन बढेको महशुस गर्दछन । यस्तो सुख्खापन समयसँगै कम हुँदै जान्छ । शल्यक्रिया गरेको १ हप्तामै सबै काम गर्न सकिने हुन्छ भने पौडी तथा कन्ट्याक्ट स्पोर्टसको लागि भने २ महिना कुर्नुपर्ने हुन्छ ।

विदेशको तुलानामा तिलगंगामा यो शल्यक्रिया सस्तो हुने भएकोले यस्तो शल्यक्रियाको लागि नेपाल आउनेहरु संख्या बढेको अर्का रिफ्रयाक्टीभ सर्जन डा. सागर रुइत बताउँछन् । नेपालमा ८० हजार को हाराहारी  लाग्ने यस्तो सर्जरीका लागि युरोपेली मुलुकहरुमा ८ लाख नेपाली रुपैयासम्म खर्च लाग्न सक्छ । यो पद्धति अत्याधुनिक तथा नवीनतम साथै सस्तो तथा सुरक्षित भएकोले उत्तर तथा पूर्वी  भारत, दक्षिणी चीन (तिब्बत), भुटान तथा मध्यपूर्वीका मुलुकहरु बाट समेत उपचारको लागि आउने हुँदा  देशको पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पर्ने भएकोले भविष्यमा मेडिकल टुरिजमको रुपमा यो सेवा विकास भई विदेशी मुद्रा आर्जन हुने विश्वास लिइएको छ ।

 त्यसैगरी विदेशमा बस्ने नेपालीहरुको लागि कम खर्चमा गुणस्तरीय आँखा उपचार पाउनुको साथै परिवारसँगको भेटघाट पनि हुने गरेको छ ।