बाटो बिराएको सालक केजमा



हेटौंडा ।

बाटो बिराएर गाउँ पसेको लोपोन्मुख सालक उद्धार गरी रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्मित सालक केजमा छाडिएको छ ।

बुधबार राति करिब ८ बजे हेटौंडा–६, खड्कुलेका रामकृष्ण राईले बाटोमा हिँडीरहेको फेला पारेर समूह कार्यालय सचिव भीमसेन पौडेललाई बुझाउनुभएको थियो । उक्त सालकलाई वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेलको रोहवरमा सालक केजमा छाडिएको हो । भेटिएको सालक करिब ३ केजीको छ ।

किसानको साथीका रुपमा रहेको सालक संरक्षण रानी सामुदायिक वन समूहले २०६२ सालदेखि गर्दै आएको समूह अध्यक्ष विष्णु न्यौपानेले बताउनुभयो । सालक संरक्षण, व्यवस्थापन र यसको प्रचारप्रसारका लागि समूहले चौघडा बजार र पिसपार्कमा सालकको प्रतिमा निर्माण गरेको छ भने समूहको ब्लक–६ मा सालक केज बनाएको छ । समूहको वनक्षेत्रभित्र ३ दर्जन भन्दा बढी सालक रहेको समूहले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक पक्रने, शिकार गर्ने, खपटाको व्यापार र ओसारपसार गर्नेलाई १ लाखदेखि ५ लाखसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्