निजी क्षेत्रबाट उदयपुरमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा



उदयपुर ।

उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न अस्पतालको अभाव भएको समयमा निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न गाईघाट सिटी अस्पताल नामको अस्पताल सञ्चालनमा ल्याइएको छ ।

कडा खाले रोग लागेमा वा कुनै दुर्घटना भएमा उपचारकालागि बिराटनगर धरान काठमाण्डौ लैजानु पर्ने अवस्थाबाट मुक्त हुन र बाहिर लगेर अत्यन्त महंगो उपचार गराउन नपर्ने गरी गाईघाट सिटी अस्पताल सञ्चालन मा ल्याइएको छ । बुधबार गाईघाट स्थित सिटी अस्पताल व्यवस्थापन समितिले एक पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल संचालनमा आएको र अस्पतालबाट १५ प्रकारका सेवा सुविधा बिरामीहरुका लागि उपलब्ध गराइने जानकारी दिइएको छ ।

अस्पतालका प्रवन्ध निर्देशक रमेश प्रसाद आचार्यका अनुसार कम्पनि रजिष्ट्रारको कार्यालयमा गाईघाट सिटी अस्पताल प्रा.लि. आर्थिक वर्ष २०७८। ०७९ मा ५० बेड क्षमताको दर्ता भएको र विविध कारणले गर्दा सञ्चालनमा ढिला हुन गएको, यस अस्पताल सञ्चालन मा हालसम्म १५ करोड खर्च भएको र ५ करोड एक वर्षभित्र लगानी गरी अझ व्यवस्थित रुपले सञ्चालन गर्ने योजना रहेको बताए ।

अस्पतालले हाल विशेषज्ञ सेवा सहित २४ घण्टा आकस्मिक उपचार सेवा, २४ घण्टा फार्मेसी सेवा, सिटी स्क्यान, पुरा शरीर चेक जाँच रु ३ हजार ५ सयमा, आईसियु, एनआईसियु, जनरल वार्ड, प्राइभेट वार्ड, आधुनिक शल्यक्रिया कक्ष, डेलीभरी वार्ड सञ्चालनमा रहेको छ ।

यसैगरी पोष्ट अप वार्ड, अत्याधुनिक ल्याव, एक्सरे, भिडियो एकसरे, इन्डोस्कोपी, ल्याप्रोस्कोपी रहेका छन् । अन्य अस्पतालमा पुरा शरीर चेक जाँचकालागि हाल रु. ७ हजार तिर्नु पर्ने अवस्था रहेकोमा गाईघाट सिटी अस्पतालमा रु ३ हजार ५ सयमा नै पुरा शरीर चेक जाँच हुने सो पत्रकार सम्मेलनमा अस्पतालका जेनरल फिजिसियन डा. विवेक प्रभात साहले बताए ।


अस्पतालले हाल स्त्री तथा महिला रोग विशेषज्ञ सेवा डा. डिएल यादवबाट, जेनरल फिजिसियन सेवा डा. विवेक प्रभात साहबाट, बाल रोग विशेषज्ञ सेवा डा. सञ्जिव साहबाट, जनरल सर्जन डा. कृष्णा यादवबाट, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ सेवा डा. अर्जुन दासबाट उपलब्ध गराइएको पत्रकार सम्मेलनमा जनाएको छ ।

गाईघाटमा विगतको तुलनामा अहिले बिरामीहरुले राम्रो सेवा सुबिधा पाउने गरेको तर कतिपय बिरामीलाई जिल्ला बाहिर थप उपचारकालागि रेफर गर्नु पर्ने अवस्था रहेको हुँदा ति बिरामीहरुलाई गाईघाट सिटी अस्पतालमा उपचार गराउन सकिने गरी सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार, प्रविधि तथा यन्त्रहरु समेतको व्यवस्थापनमा विशेष ध्यान दिएर अस्पताल सञ्चालनमा ल्याइएको संचालक मध्येका एक डा. डिएल यादवले बताए ।

डा. साहले आफूले गाईघाटका धेरै बिरामीहरलाई लाहानमा उपचार गरेको स्मरण गर्दै गाईघाटमा सुविधा सम्पन्न अस्पताल भएको भए बाहिर गएर महंगो खर्च व्यहोरेर उपचार गराउनु पर्दैनथ्यो । तर यहाँ सुविधा सम्पन्न अस्पतालको खाँचो देखिएकोले उदयपुर बाहेक सिन्धुली, खोटाङ, ओखलढुङ्गा, भोजपुर र सुनसरी जिल्लाको पश्चिम क्षेत्रका जनताले यस अस्पतालबाट सेवा सुविधा तथा उपचार सेवा पाउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्