देश–परदेशको समन्वयात्मक रेखामा निरजोया

868
Shares

डायास्पोरिक कथासङ्ग्रहबाट नेपाली साहित्य यात्रा शुभारम्भ गर्नुभएका दाजु गुरुङको उपन्यास ‘निरजोया’ युद्धकालीन समयमा नेपाली समाजमा घटेका राजनीतिक घटनाहरू र वैदेशिक रोजगारका विषयमा आधारित छ। हातमुख जोर्नका लागि धौधौ पर्ने अर्थात् हुँदा खाने र नहुँदा भोकै बस्नुपर्ने नेपाली समाजका पात्रहरूको प्रतिनिधित्व उपन्यासमा भएको छ। तथापि, उपन्यासमा प्रमुख पात्रका रूपमा निरोज देखा परेका छन्, जो हुनेखाने एवम् सम्पन्न परिवारमा सुविधायुक्त जीवन बिताइरहेका थिए। नायिकाको रूपमा जोया देखा परेकी छिन्।

सामाजिक, सांस्कृतिक एवम् धार्मिक तथा परम्परागत विविधताले उपन्यासलाई रङ्गीन बनाउने प्रयास गरेको छ । यसले नेपाली समाज र विश्व मानव समुदायलाई नै सम्बोधन गर्दछ । जोया, जो मुस्लिम स्त्री हुन् तर उनले जीवन बिताउनका लागि मुस्लिम रोजिनन् । निरोज मादकतामा उन्मत्त छ । जोया आफ्नो घरमा मुख्य हत्तापत्तावाली हुन्, जो पतिको सेवामा कटिबद्ध छिन् । पति त के भनौँ, भाडामा राखिएको भन्ने कि कामदारका रूपमा राखिएको पुरुषको सेवामा अनवरत जुटिरहेकी छिन् । तर अर्कातिर यसमा विरोधाभास देखिन्छ, किनकि जोयाको सेवाले भन्दा पनि निरोजको व्यवहार नै त्यस्तै छ कि ऊ नुहाउनसमेत जोयालाई पर्खिने गर्दछ । जोया रेस्टुरेन्टमा खाना खाँदासमेत निरोजलाई आफ्नै हातले खुवाउन तम्सिन्छिन् । यसबाट दुवै थरीको विश्लेषण गर्न सकिन्छ ।

उपन्यासमा प्रमुख पात्रका रूपमा देखिएका निरोज नेपाली समाजका उपज हुन् भने जोया मले अर्थात् मलेसियाली समाजकी उपज हुन्। यी दुई प्रमुख पात्र फरक–फरक धार्मिक स्वभाव र आस्थाका छन्। मलेसियाभित्र मुस्लिम समुदायमा स्त्रीको बोलवाला चल्ने रहेछ। जहाँ जोया नामकी स्त्रीले आफ्ना आमाबुवाको स्वीकृतिमा निरोजलाई आफ्नै घरमा राखेकी छिन् । निरोज परदेशमा छ, तर ऊ सुखभोगको उपभोगले उन्मत्त उन्मादमा लटपेटिएको छ। कपासमा कपासको दाना जसरी लुटपुटिएको हुन्छ, त्यसै गरी निरोज जोयाको सुखद एवम् लालित्यपूर्ण मौसममा लुटपुटिएको छ। हेर्दा एकादेशको कहानीजस्तो देखिने यो घटनाक्रम वास्तविक र वर्तमान समाजको ऐनारूप पनि हो । यो हाम्रै सामाजिक स्थितिको वास्तविकता हो। निरोजले मेहनत गर्नुपर्दैन । उसले त बस् जोयाको खेलौना बनिदिए हुन्छ। ऊ शहरमा जोयाको कारमा सयर गर्छ । निरोज मादकताले हरदिन उन्मत्त हात्तीजस्तै भइरहन्छ। उसले भुलिसकेको छ, पूरा–पूरा आफ्नो विगत र वर्तमान । यो सपना हो कि विपना ? निरोज रनभुल्ल छ । उसका चारैतिर सुखका चाङहरू छन् । यति बेला ऊ मनलाग्दी तरिकाले जीवन जिउन सक्छ । उसको हैसियत कुनै दरबारियाको भन्दा कमको छैन । उसमाथि जे–जे भएको छ अथवा भइरहेको छ, त्यो सबै जोयाको कृपा हो ।

एउटा नेपाली परिवेशको नवयुवक दुई जीउकी अर्धाङ्गिनीलाई घरमै छोडेर परदेश भासिन्छ । सुनौला सपनाहरूका इँटा टिप्ने रहरले जसरी आज युवायुवतीहरू परदेशिएका छन् यसै गरी निरोज पनि मले समाजमा पुग्छ। मले समाजमा स्त्रीको प्रभुत्व छ। जहाँ स्त्रीहरूले वैधानिकरूपमै घरमा परपुरुष वा एउटा पुरुषका दुईवटा विवाहलाई सहजै स्वीकार्ने सामाजिक रीतिको विश्लेषण गरिएको छ। स्त्रीहरू धेरै कुराहरूमा स्वछन्द छन्। उनीहरू यौनको मामलामा मनलाग्दी गर्न पाउने अवस्थामा छन्। दुई जीउकी अर्धाङ्गिनीलाई घरमा छोडेर परदेश भासिएको नेपाली युवक जोया अन्सारीको प्रेममा पर्दछ वा भनौँ जोयाको ऐयासी जीवनको दास बन्न पुग्दछ। अन्ततः निरोजलाई जीवनको अन्तर्य महसुस हुन्छ र ऊ मलेसिया छोड्छ । देश–परदेश, परदेश–परदेश हुँदै निरोज यसपछि हङकङसम्म पुग्दछ ।

आत्मपरक शैली निरोज (म पात्र) मा केन्द्रीत दिनचर्यामा आधारित यो उपन्यासमा आख्यान र गैरआख्यान दुवैको समिश्रण छ । कतै–कतै डायरी पढेजस्तो हुने त कतै–कतै आप्रवासनको दुःखको भण्डार गृहमा प्रवेश गरेजस्तो महसुस गराउने यो उपन्यासले सामाजिक यथार्थतावादी धारलाई समातेको छ । परम्परागत लेखन शैलीमात्र नभई नवीनतासमेत उपन्यासमा भित्र्याउने चेष्टा सर्जकले गरेका छन् ।

यौनको मामलामा खुलेर लेख्नुपर्दा जब निरोजका सामुन्नेमा जोयाले लिङ्ग मुण्डनको प्रस्ताव पेस गर्दछिन्, यसबाट आँकलन गर्न सकिन्छ कि मले समाज यौनाचारलाई प्राथमिकतामा राख्दछ । यही घटनाले निरोजको जीवनमा फेरि अर्को नयाँ रङ्ग ल्याइदिन्छ अनि नयाँ मार्गमा दौडिनुपर्ने बाध्यता थपिदिन्छ।

जीवन रहर र सुन्दरताले मात्र कहाँ सजाइन्छ र ! जीवन त बाध्यताका बीचमा सिञ्चित बारी न हो, जहाँ बाध्यताले सिंचाइ गरिन्छ ।

मानव जीवनमा जीवन जिउनुको गहिरो जीवन दर्शन पनि उपन्यासमा आएको छ । उपन्यासमा धेरै पात्रहरूभन्दा पनि एउटै पात्रका माध्यमबाट धेरै कुराहरू राख्ने प्रयत्न सर्जकले अनवरतरूपमा गरेका छन् । यो उपन्यास यसर्थ पनि पठनीय छ कि यसले एउटै पात्रका माध्यमबाट बहुघटनाको चित्रण गरेको छ । घटनाहरू बनावटीभन्दा वास्तविक देखिने ‘निरजोया’ उपन्यासको शीर्षक चयनमा केही विरोधाभास देखिन्छ । निरोज र जोया अन्सारीको नामबाट दुई–दुई अक्षरहरू लिएर यी दुई–दुई अक्षरका बीचको संयोजन गराई निरजोया नामाकरण गरिएको देखिन्छ । पूर्वीय वाङ्मयमा ‘नीर’ शब्द प्रयोग भएको छ । जसको अर्थ नील, निलो र जल भन्ने बुझिन्छ भने पूर्वीय वाङ्मयमै प्रयोग भएको अर्को ‘निर’ शब्दको अर्थ निलो रङ्ग तथा नीलमणि भन्ने बुझिन्छ । यसरी हेर्दा ‘निरजोया’ नामाकरण जोयाको धनसम्पत्तिसँग पनि सम्बन्धित हुन जान्छ । भाषाका हिसाबले उपन्यासमा केही मले शब्दहरू पनि आयातीत छन् । यसमा बहुभाषिकताको प्रभाव परेको छ । सामाजिक, सांस्कृतिक एवम् धार्मिक विविधता पनि उपन्यासमा प्रशस्तै छ ।

सुनौला सपनाहरू सजाउन परदेशिनेहरूले आफ्नै जीवनको सुनौलो समयलाई बिर्सिएर, जीवनको अन्तर्यलाई बुझ्न नसकेर, भौतिक सुविधाको सुन जडित जेलमा उर्वरशील जीवनलाई खण्डहर पारिरहेको नवीन दृष्टि उपन्यासमा भेटिन्छ। आख्यान पूर्णरूपमा रोजगारीको विषयमा केन्द्रीत छ। सहायकरूपमा प्रेम, यौनाचार, द्वन्द्व, नेपाली एवम् मलाया सरकारको उपस्थितिलगायतका विविध विषयहरू उपन्यासमा सरल ढङ्गले आएका छन्। सरल भाषाशैलीको प्रयोग गरिएको निरजोयामा कहीँ–कहीँ व्याकरणात्मक विचलन आएको छ । घटनाहरूलाई टिपेर सूचनाका रूपमा आख्यानमा व्यक्त गर्ने प्रवृत्ति नेपाली आख्यान जगत्मा आएकै हो तर यस उपन्यासमा घटनाहरूलाई टपाटप टिपेर राख्ने भन्दा मौलिक भाषिक प्रस्तुतिद्वारा आख्यानलाई रोचक बनाउने प्रयास गरिएको छ।

उपन्यास नेपाली साहित्यको परम्परागत सामाजिक यथार्थतावादी धारमा आधारित भए तापनि नवीनताप्रति सर्जक उत्सुक छन् र उनले नवीनता भित्र्याउने अभ्यास गरिरहेका छन् । भाषाको स्वाभाविक सरलता र तरलता एवम् चारित्रिक विश्लेषणले आख्यानमा जादु छ। यस प्रकारको सिर्जनाको समीक्षा एवम् समालोचना गर्नका लागि डायास्पोरिक समालोचकीय सिद्धान्तमा आधारित रहनुपर्ने हुन्छ ।

समग्रमा यस उपन्यासले देशदेखि परदेश, बेरोजगारीदेखि रोजगारी, धार्मिक विविधता, सामाजिक–सांस्कृतिक विशेषताका तार्किक आयामहरूलाई अँगालेको छ। समालोचनाका दृष्टिकोणबाट हेर्ने हो भने यो कृति जीवन्त रहने देखिन्छ। उपन्यासमा कथा, पटकथा शैलीको वर्चश्व छ । सरल ढङ्गले स–साना विषयलाई गम्भीरतापूर्वक आख्यानमा उतार गर्न सक्नु सर्जकको खुबीको विषय हो। यसर्थ पनि दाजु गुरुङ उपन्यासमा सफल हुने बाटोमा हिँडिसकेका छन्।

यो पुस्तकले धेरै हदसम्म नेपाली समाजको बेरोजगारी, गरिबी, पुरुष र स्त्री प्रकृतिको अवस्थालाई दर्शाउँछ भने सामाजिक, सांस्कृतिक मात्र नभई मनोवैज्ञानिक विषयलाई पनि उजागर गरेको छ। यसले प्रेम, रोजगारी, सामाजिक स्थिति, आर्थिक वृद्धिको महत्व, मानवीय स्वभाव र रूचिहरूलाई एक–आपसमा जोडेको छ । यो एउटा समन्वयात्मक उपन्यास हो । नवीन भाषाशिल्पको प्रयोग गरिएको निरजोया उत्कृष्ट पठनीय पुस्तक बनेको छ।