बजेटप्रति दलहरुको मिश्रित टिप्पणी



काठमाडौं ।

आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले सार्वजनिक गरेको १८ खर्ब ६० अर्ब बजेटको विषयमा वित्त तथा पूर्वअर्थमन्त्रीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । मंगलबार संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले ल्याउनुभएको बजेटमा ५ खर्ब अपुग देखिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ल्याएको बजेटमा प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै सुधारको संकेत नदेखेको टिप्पणी गरेको छ । सरकारले आगामी वर्षको बजेट सार्वजनिकपश्चात् पूर्व अर्थमन्त्री एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बजेट वितरणमुखी भएको प्रतिक्रिया दिनुभयो ।

‘बजेटमा सुधारका केही कुरा उल्लेख छैनन्’, उहाँले भन्नुभयो– ‘बजेट निर्माणमा बेथिति थियो, बजेट विनियोजन भई ठेक्का लगाउने प्रवृत्ति थियो बजेट कनिका छर्ने प्रवृत्तिलाई हामीले कार्यविधि बनाएर तीन करोडभन्दा तलको आयोजना नराख्ने भनेका थियौं उहाँ मौन हुनुहुन्छ, मैले बुझेअनुसार तीन करोडको कार्यविधिलाई तिलाञ्जली दिइसक्नुभयो ।’

बजेटले उत्पादन बढ्ने र लगानी आउने परिवेश पनि नदेखेको उहाँको भनाइ छ । बजेटले धेरै कुरा छुने प्रयास गरे पनि परिणाम आउने आफूले नदेखेको भन्दै डा. महतले भन्नुभयो– ‘निर्माणाधीन आयोजनाहरूलाई पूर्णता दिने कुरामा सरकार मौन छ, वितरणमुखी प्रवृत्ति हाबी भएको र कार्यान्वयन हुने खालको बजेट नभएकाले बजेटरी सुधारको कुरा शून्यजस्तै छ ।’

तर, नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेट समग्रमा सुधारोन्मुख र विकृति सम्बोधन गर्ने खालको रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभएको छ– ‘अघिल्ला वर्षहरूमा देखिने गरेका बजेटका विकृतिहरू यो बजेटले सम्बोधन गरेको जस्तो देखिन्छ। सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने र नीति कार्यक्रममा छुटेका कतिपय विषयहरू समेत बजेटले समेटेको देखिन्छ।’ रोजगारीको समस्या समाधानका लागि उद्यमशीलता विकासका क्षेत्रलाई बजेटले समेटेको भन्दै उहाँले वर्तमान सरकारले ल्याएको बजेट स्वागतयोग्य नै रहेको बताउनुभयो।

सरकारको चालु खर्च स्वाभाविक बढ्ने भए पनि चालु पुँजीगत खर्च बढी देखिएकाले अलि नमिलेको जस्तो देखिए पनि समग्रमा हेर्दा वित्तीय सन्तुलन कायम रहेको डा. खतिवडाले बताउनुभयो। ‘बजेट कार्यान्वयनका सन्दर्भमा कर्मचारीतन्त्रले समयमा काम नगरी दिँदा नीतिगत समस्याहरू आउने र बजेट कार्यान्वयनमा समस्या आउने परम्पराको अन्त हुनु जरुरी छ’ –उहाँले भन्नुभयो ।

मुलुकको आर्थिक अवस्थालाई व्यवस्थित बनाउनका लागि सामाजिक सुरक्षा, कर्मचारीको तलब भत्ता, सञ्चालनलगायत चालु खर्चलाई घटाएको र नयाँ योजनामा बजेट व्यवस्था गरेकाले अघिल्ला वर्षहरूभन्दा उत्साहजनक बजेट आएको नेकपा माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटले नेपाली उत्पादनमा आत्मनिर्भर हुने गरी सम्बोधन गरेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कृषिका क्षेत्रमा बजेट सकारात्मक छ । हाइड्रो क्षेत्रलाई सम्बोधन गरेको छ । केही न केही नयाँ कार्यक्रमलाई बजेटले समेटेको छ । आर्थिक अवस्था जटिल हुँदाहुँदै पनि अघिल्ला वर्षहरूभन्दा यस वर्ष सन्तुलित र कार्यान्वयनयोग्य बजेट आएको छ ।’

निजी क्षेत्रद्वारा स्वागत

अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिनुभयो।

महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो। सोहीअनुरूप आयोग बन्ने र बजेटले सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य रहेको उहाँले बताउनुभयो।

‘महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटन प्रवद्र्धन, वैवाहिक पर्यटन विकास गर्ने विषय आएका छन् र सूचना प्रविधि र नवप्रवर्द्धन बचत गाउँमा केही सहुलियत र विस्तारका योजना छन्’, उहाँले भन्नुभयो– ‘महासंघको मागअनुसार नै निजी क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ।’
बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्